site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर तिर्ने र रोजगारी सिर्जना गर्नेलाई सम्मान गर्ने परम्परा स्थापित हुनुपर्छ 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

चन्द्र ढकाल निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन् । आईएमई समूहका अध्यक्ष समेत रहेका ढकालले नेपालमा बैंक, वित्तीय संस्था, इन्स्योरेन्स, पर्यटन, जलविद्युत्, सूचना प्रविधिलगायत दर्जनौँ उद्योगमा लगानी गरेर बीस हजार बढी रोजगारी सिर्जना गरेका छन् ।

आफू विगत तीन दशकमा केवल सकारात्मक सोच र दृढ आत्मविश्वासले मात्र सफलताको खुडकिलो चढ्न सक्षम भएको बताउने ढकाल सबैलाई काममा एकोहोरो लगाव र सुरु गरेको काम फर्छ्योट गरेर मात्र छाड्ने दृढता राख्न पनि सुझाव दिन्छन् ।

यो देशमा बसेर व्यवसाय गर्ने, रोजगारी सिर्जना गर्ने अनि सरकारलाई कर बुझाउने व्यवसायीको महत्त्व सरकार र सर्वसाधारण जनताले अझै बुझ्न नसकेकामा उनको गुनासो छ । कर तिरेर देश र जनतालाई सहयोग गर्ने व्यवसायीको यथोचित सम्मान हुन सकेको खण्डमा मुलुकलाई समृद्ध बनाउन निकै सहज हुन्छ भन्ने उनको धारणा छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपालमा लगानीको वातावरण, सरकार र सरकारी निकायको दृष्टि, मुलुकको समृद्धिलगायत विषयमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालसँग बाह्रखरीका प्रधानसम्पादक प्रतीक प्रधान, विशेष सम्पादक हरिबहादुर थापा तथा समाचार सम्पादक बलराम पाण्डेले हालै गरेको कुराकानीको सम्पादित अंश

– नेपालमा व्यवसाय गर्ने र पैसा कमाउने कर्म नै गलत हो भन्ने भाष्य बनेर गएको छ । ठूला व्यवसायीलाई कतिपय अवस्थामा राज्य र जनताले पनि केवल नाफामुखी स्वार्थी तत्त्वका रूपमा हेर्ने गरेको देखिन्छ । यस्तो ‘भाष्य’ कसरी निर्माण भइरहेको छ ? यसको अन्त्य कसरी हुन्छ ?

Royal Enfield Island Ad

नेपालमा सामन्तवादको अवशेष अझै बाँकी रहेकाले आर्थिक रूपमा उन्नति गर्ने सबैलाई सामन्तवादीकै रूपमा हेर्ने सोचमा व्यापक परिवर्तन हुन सकेको छैन । नेपालका निजी क्षेत्रलाई परम्परागत तरिकाले हेर्दा यस्तो समस्या देखिएको सत्य हो । निजी क्षेत्र भनेको फाइदा मात्रै खोज्ने, कर नतिर्ने, सामाजिक उत्तरदायित्वमा खर्च नगर्ने समूह हुन् भन्ने गलत ‘भाष्य’ तयार भएको छ ।

तर, गत केही वर्षमा यस्तो सोचमा निकै परिवर्तन हुँदै आएको मैले महसुस गरेको छु । यही समाजमा बसेर यस समाजका लागि काम गर्ने व्यक्ति र संस्थाप्रतिको अवधारणामा केही सकारात्मकता बढेर गएको छ ।

सरकारी संयन्त्र, राजनीतिक दलमा पनि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदलिएको छ । निजी क्षेत्रले पहिला सुझाव दिँदा सरकारी निकायले पनि अटेर गर्थे । उनीहरूको सोचाइ निजी क्षेत्रले आफ्नो मात्रै कुरा गर्छन् भन्ने थियो । तर, अब त्यस्तो छैन ।

निजी क्षेत्र नीति निर्माण तहमा हस्तक्षेप गर्न सक्ने अवस्थामा पुगेको छ । निजी क्षेत्रका संस्थाले दिएका सुझावहरू कार्यान्वयन हुन थालेका छन् ।

केही समय पहिले विदेशी मुद्राको सञ्चिति कम हुँदा हामीले आयात सम्पूर्ण रूपमा रोक्नु हुँदैन, यसले समग्र अर्थतन्त्रमा असर गर्छ, राजस्व संकलन घट्छ भनेर आवाज उठायौँ, दबाब बढायौँ । हामीले भनेजसरी नै मोटरसाइकल र गाडीबाहेक कुनै पनि वस्तुको आयात रोकिएन । बजारमा सबै प्रकारका आयातित वस्तुहरू अनौपचारिक माध्यमबाट आए । यसले गर्दा सरकारले भन्सार पाएन, हुन्डीको व्यापार बढेर गयो र अर्थतन्त्रमा ठूलो दबाब पर्‍यो । त्यसैले अनौपचारिक क्षेत्रबाट सामान भित्रिँदा झनै ठूलो समस्या हुँदो रहेछ भन्ने सरकारले पनि महसुस गर्‍यो ।

त्यस अवस्थामा औपचारिक तरिकाले गरेको व्यापार पनि बहकियो । आखिरमा हामीले जे भनेका थियौँ त्यही भयो । राजस्व कम भयो, सरकारी संयन्त्रमा कार्यरतहरूलाई तलब खुवाउनै समस्या पर्‍यो । सरकारले आयातसम्बन्धी गरेको निर्णय फिर्ता लिनुपर्ने अवस्था आयो ।

निजी क्षेत्रले आफूलाई मात्रै केन्द्रमा राख्छन् भन्ने धारणामा पनि परिवर्तन आएको छ । निजी क्षेत्रको योगदानले पनि परम्परागत सोचमा परिवर्तन भएको छ । अर्थतन्त्रको चालक निजी क्षेत्र हुन् । तर, निजी क्षेत्रलाई विदेशमा जस्तो सम्मान नेपालमा कम छ । व्यवसाय गरी कर तिर्नेलाई नेपालमा पनि विदेशमा जस्तो गर्न सकियो भने नेपालको विकास द्रूत गतिमा अघि बढ्छ भन्ने लाग्छ ।

–राजनीतिक दलका फरक–फरक विचारका कारणले पनि नेपालको अर्थतन्त्रमा समस्या देखिएको थियो, उनीहरू यतिखेर कत्तिको खुला हुँदै छन् ?

मैले उद्योग वाणिज्य महासंघको नेतृत्व सम्हालेपछि सबै राजनीतिक दलका नेताहरूलाई एकै ठाउँमा ल्याएँ । महासंघको तत्त्वाधानमा राजनीतिक दलहरूलाई आर्थिक एजेन्डामा साझा धारणा बनाउने वातावरण बनायौँ । आजको अवस्थामा कुनै पनि ठूलो राजनीतिक दल निजी क्षेत्रको विरोधमा छैनन् भन्न सक्ने अवस्था छ ।

हालैको लगानी सम्मेलनका बेला वैदेशिक लगानी अभिवृद्धि गर्न तथा व्यवसायीको हित संरक्षण गर्न हामीले लगातार ‘लबिङ’ गरेर आठवटा कानुन परिवर्तन भयो । यो काम भएकोमा हामीले मात्र गर्व गर्ने होइन कि राजनीतिक दल तथा कर्मचारीतन्त्रको पनि धारणामा परिवर्तन आएको देखियो ।

यी आठ नयाँ कानुन ल्याउने काम निकै छोटो समयमा निजी क्षेत्रको पहलमा भयो । यी कानुन अध्यादेशबाट आएका हुन् । अध्यादेशबाट कानुन ल्याउँदा सरकारबाहिरका पार्टीले विरोध गरेको हामीले देख्दै आएका हौँ । तर, लगानी सम्मेलनका बेला ल्याइएका त्यस्ता अध्यादेशको कसैले विरोध गरेनन् । सबै राजनीतिक दल एक ठाउँमा उभिए । त्यसैले राजनीतिक दलको अवधारणा निजी क्षेत्रप्रति सकारात्मक भएको सन्देश गएको छ ।

विभिन्न दलको राजनीतिक विचार फरक–फरक होला, तर आर्थिक एजेन्डामा एक ठाउँमा ल्याउन सफल भयौँ भन्ने लागेको छ ।

–लगानी सम्मेलनलाई यहाँहरूले यति महत्त्व दिनुभयो, तर लगानी त खासै आएन नि !

लगानी सम्मेलनको हामी पनि सहआयोजक थियौँ । लगानी देखिने हिसाबले त आएन, तर त्यसले सन्देशचाहिँ राम्रो दिएको छ । हामीलाई पहिलाका लगानी सम्मेलनमा पनि समस्या समाधान गर्दै अघि बढ्ने मौका दिएकै हो ।

नेपालमा सम्भावना छ, सबै राजनीतिक दल एकै ठाउँमा छन् भन्ने सन्देश दिएको हो । फेरि, लगानी आजको भोलि आउनेभन्दा पनि विस्तारै हुने कुरा हो ।

बाहिरका लगानीकर्ता विस्तारै विश्वस्त हुँदै जान्छन् । उनीहरूले पहिला सम्पर्क गर्ने भनेको निजी क्षेत्रलाई नै हो । पहिला ठोक्किने निजी क्षेत्रसँगै हो । सम्मेलनले प्रतिबद्धताभन्दा पनि सन्देश दिन सफल भएको छ । नेपालमा लगानीको वातावरण बन्दै छ भन्ने सन्देश विश्वभर गएको छ । मलाई लाग्छ, लगानी पनि भित्रिन्छ ।

–यहाँका निजी क्षेत्रसँग विदेशी लगानीकर्ताको सिधा सम्पर्क हुन्छ भन्नुभयो, लगानीकर्ता नेपालका के कुरासँग डराउँदा रहेछन् ? नेपालमा लगानी गर्न उनीहरू किन तयार देखिँदा रहनेछन् ?

उनीहरूले यहाँ केही समस्या देखाउँछन्, र छन् पनि । जग्गा प्राप्तिमा समस्या छन् । हदबन्दी छ । हदबन्दीभन्दा बढी हुनु हुँदैन भन्छौँ । कसैले पर्यटनमा गल्फ कोर्षसहितको उच्चस्तरीय रिसोर्ट बनाउँछु भन्यो भने हाम्रो कानुनले नै रोकिदिन्छ ।

ठूला उद्योगको पनि त्यस्तै छ । वातावरणीय प्रभाव मूल्यांकनको समस्या छ । लगानीकर्तालाई यस्ता विषयले अप्ठ्यारा पारिरहेका छन् । लगानी कति आउँछ भन्ने एउटा विषय हो । अर्को कुरा, लगानी सफल भएन भने फिर्ता लैजान पाइन्छ कि पाइँदैन भन्ने पनि उनीहरूमा दुविधा छ ।

–यस्ता विषयहरू यहाँका राजनीतिज्ञले बुझेनन् या बुझेर पनि गर्न चाहेनन् ? 

धेरै पहिलादेखि यस विषयमा विश्वस्त गराउनुपर्ने हो । हामीले एउटा हदसम्म ‘कन्भिन्स’ गर्न सक्यौँ भन्ने लाग्छ । कानुन र अध्यादेश परिवर्तन गर्दा पनि देखियो । तथापि, अझै पनि स–साना कुराले रोकिएको अवस्था छ ।

दुईवटा रुख काट्न नदिँदा महिनौँ काम रोकिन्छ । फास्ट ट्रयाक बनाउँदा सेनालाई समेत कस्तो समस्या पर्‍यो भनेर त पूर्वसेना प्रमुखले सार्वजनिक रूपमै बोल्नुपर्ने अवस्था आयो । जलविद्युत् निर्माणका क्रममा त्यस्तै समस्या छन् । एउटा तहको समस्या समाधान भएको छ, तर जति हुनुपर्ने हो त्यति नभएको हो कि भन्ने देखिन्छ ।

यहाँ व्यवसाय गरी रोजगारी दिनु र पैसा कमाउनु भनेको ‘गर्नै नहुने काम गरेजस्तो’ माहोल बनाइन्छ । बीसौँ हजार रोजगारी दिन सक्ने व्यक्ति यहाँ जति धेरै भयो त्यति राम्रो होइन र ?

–तपाईंको ग्लोबल बैंकले त सबैभन्दा बढी कर तिरेर सम्मान पाएको होइन ?

त्यही त भनेको । मिहिनेतका साथ काम गर्‍यो भने हामीजस्तो गाउँबाट आएको कुनै व्यापारिक पृष्ठभूमि नभएको व्यक्तिले त यति गर्न सकिन्छ भने अरूले किन नसक्नु । तर, पुस्तैनी धनी व्यक्ति र सम्पत्ति भएकाहरू कुनै पनि रूपमा जोखिम उठाउन चाहँदैनन् । यदि, कर तिर्ने र रोजगारी सिर्जना गर्ने व्यवसायीको सामाजिक प्रतिष्ठा उच्च हुने हो भने धेरै सक्षम, इमानदार र समृद्ध युवाहरू पनि लगानी गर्न इच्छुक हुन्छन् ।

–व्यापारिक सम्मान बढाउने काममा नेपालको कर्मचारीतन्त्र कतिको सहयोगी छ ?

हाम्रा कतिपय कर्मचारी निकै सहयोगी छन् । उदाहरणका रूपमा मैले यहाँ एउटा घटना उल्लेख गर्नैपर्ने हुन्छ । लगानी सम्मेलनका बेला कानुन संशोधन गर्नुपर्ने थियो । हामी संयुक्त बैठक बसेका बेला एकजना सहसचिवले ‘यो त दिन सकिँदैन’ भन्नुभयो । हामीले माग्ने र उहाँले दिनेजस्तो कुरा गर्नुभयो । मैले त्यसको त्यही बेला प्रतिकार गरेँ । यहाँ माग्ने र दिने कुरा होइन, देशमा लगानीको वातावरण बढाउने विषय हो ।

तर, त्यति बेला मुख्यसचिव रहनुभएका डा. वैकुण्ठ अर्यालले पनि सहयोग गर्नुभयो । वर्तमान मुख्यसचिव एकनारायण अर्याल प्रधानमन्त्री कार्यालयका सचिव हुनुहुन्थ्यो । उहाँले पनि हस्तक्षेप गरेर सहयोग गर्नुभयो । उहाँले भन्नुभयो– हामी त सचिव भएर पनि अब रिटायर्ड हुने बेला भइसक्यो । तर, तपाईंहरूमध्ये धेरैजना सचिव बन्नुहुन्छ र अझै धेरै वर्ष सरकारी सेवामा बिताउनुहुन्छ । हामीले नेपालको आर्थिक क्षेत्रलाई नसुधार्ने हो भने र अहिलेकै अवस्था रहने हो भने तपाईंहरूलाई तलब समेत खान नसक्ने अवस्था आउन सक्छ । त्यसैले कर्मचारीले पनि सहयोग गर्न तयार हुनुपर्छ । हामीले हाम्रा धारणा परिवर्तन गर्नुपर्छ ।

अर्यालको यो भनाइपछि ती आठवटा कानुन संशोधन हुने वातावरण बन्यो । अनि, कर्मचारीतन्त्र कसरी असहयोगी मात्र छ भन्ने ? अहिलेका मुख्यसचिवले पनि एकपल्ट यस्तै अवस्थामा यसैगरी सबैको सोच परिवर्तन गर्ने हस्तक्षेप गर्नुभएको छ ।

तथापि, अझै पनि कतै–कतै परम्परागत सोचाइ कायम छ । तर, निकै कम छ । मुख्यसचिवको जस्तै धारणा राख्ने कर्मचारीहरूको संख्या बढ्दो छ । तलदेखि माथिसम्म काम भयो भने राजस्व संकलन हुन्छ, त्यसले समयमै तलब खान पाइन्छ भन्ने सोचाइको विस्तारै विकास भएको छ ।

–लगानी र व्यवसाय गर्न सकारात्मक माहोलसहितको भाष्य परिवर्तन हुँदै गएको हो भन्ने तपाईंलाई लाग्छ ?

अब भाष्य परिवर्तन हुन्छ, हुनैपर्छ । कुनै व्यवसायीले व्यापार विस्तार गर्‍यो भने सकारात्मक तरिकाले हेर्नुपर्छ । उसको व्यवसायसँगै रोजगारी बढ््छ र राज्यलाई पनि राजस्व प्राप्त हुन्छ ।

–पछिल्लो समय अर्थतन्त्र खराब अवस्थामा छ । अझै सकारात्मक माहोल सिर्जना हुन सकेको छैन । सेयर बजार अघि बढेर पछिल्तिरै धकेलियो । यस्तो अवस्थामा उद्योग वाणिज्य महासंघको अध्यक्षको हैसियतमा सरकारले गर्नुपर्ने बुँदागत काम के–के देख्नुहुन्छ ?

कोभिडका कारण होस् या रसिया–युक्रेन युद्धका कारण वा हाम्रै आफ्नै आन्तरिक समस्याका कारण होस्, अर्थतन्त्र खुम्चियो । हामीकहाँ लगानीकर्ताको ‘कन्फिडेन्स लुज’ भएकै हो । लगानीकर्ता तथा उपभोक्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ, यसका लागि सरकारलाई आह्वान गरिरहेको छु र यस अन्तर्वार्तामार्फत पनि सो कुरा दोहोर्‍याउँछु ।

साथै, सरकारले नियन्त्रणमुखीभन्दा सुधारमुखी आर्थिक नीति लिनुपर्‍यो । एक वर्षअघि बैंकको ब्याजदर दोहोरो अंकमा थियो, विदेशी मुद्राको सञ्चिति कम हुँदै थियो । पर्यटकको आगमन निकै कम थियो र आयात बढेर गएको थियो । त्यस बेला लिइएको नियन्त्रणमुखी नीतिले सहयोग गरेन, बरु अहिले समस्या विस्तारै समाधान हुँदै गएको छ ।

अर्को महत्त्वपूर्ण विषय सरकारले पुँजीगत बजेट खर्च गर्न नसक्नु पनि हो । सरकारले अझै निर्माण व्यवसायीको पैसा भुक्तानी दिएको छैन । यसले गर्दा व्यवसायीको आत्मविश्वासमा कमी भयो, साथै बजारमा पुँजी पनि परिचालन हुन पाएन । यस्तो अवस्थाले जनताको अर्थतन्त्र प्रतिको विश्वासमा कमी आएको छ । यस विषयमा ध्यान दिनुपर्छ । निर्माण व्यवसायीलाई पनि सरकारको काम गर्दा पैसाको समस्या हुँदैन भन्ने विश्वास त पहिला दिन सक्नुप¥यो ।

सरकारलाई राजस्व चाहिन्छ र त्यो उद्योग–व्यवसायबाट नै उठाउने हो । तर, एउटा कानुनानुसार व्यवसाय गरेका उद्यमी–व्यवसायीलाई भूतप्रभावी कानुन लगाएर कर असुल गर्नु सर्वथा गलत कदम हो । बाफिया विधेयकमा जे जस्ता प्रस्ताव र संशोधन राखिएका छन्, त्यही रूपमा त्यो पारित भयो भने भइरहेका व्यवसाय पनि धराशायी हुन्छन् ।

सरकारले लगानीकर्तालाई दिनुपर्ने ढाडसको कमी छ । परम्परागत कानुनहरू अझै कायमै छन् । कालो बजारी ऐनमा संशोधन गर्नु अत्यन्त ढिला भइसकेको छ । सरकारी कुनै पनि निकायले कुनै पनि व्यवसायीलाई २० प्रतिशतभन्दा बढी नाफा लिएको भनेर कारबाही गर्न सक्ने अवस्था छ । यो प्रावधानले त कसैले पनि व्यापार, व्यवसाय नगरे हुन्छ । उदाहरणका लागि, अमेरिकी जुत्ता दरबारमार्गमा ल्याएर बेच्दा २० प्रतिशत नाफाले पुग्ला ? उसले सय प्रतिशत नै लियो भने त्यसलाई करको दायराभित्र ल्याउनुपर्छ ।

एउटा रेस्टुरेन्टले पानी महँगोमा बिक्री गर्‍यो भनेर कारबाही गरियो । त्यो त गलत भयो नि ! हामी जन्मिनुभन्दा पहिलाका कानुन छन् । ती त परिवर्तन हुनपर्छ नि ।

–हामीकहाँ कानुनको समस्याको हो कि नियतको ?

कानुन परिवर्तन त संसद्ले नै गर्नुपर्‍यो । कानुन बनाउँदा नै सरोकारवाला पक्षलाई राखेर गर्नुपर्छ । भोलिका दिनमा जबरजस्ती गरियो भन्ने नपरोस् । कानुन कार्यान्वयनमा जाँदा सहज हुनुपर्छ । कालोबजारी ऐन विलासिताका वस्तुमा पनि लागु गर्न मिल्छ र ? त्यो गर्नु भएन भन्ने मात्रै हो । प्रतिस्पर्धा गराउनुपर्छ, कर लिनुपर्छ ।

–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका हकमा निजी क्षेत्रलाई पनि उसको अनुसन्धानको क्षेत्रभित्र समेट्न पाउनुपर्छ भनेको छ । निजी क्षेत्रमा अख्तियारलाई प्रवेश गराइयो भने त्यसको के कस्ता प्रभाव पर्न सक्छ ?

अख्तियार निजी क्षेत्रमा आउनु या ल्याउनु हुँदैन । त्यसरी कानुन आयो भने निजी क्षेत्रमा पनि निर्णय प्रक्रिया अवरुद्ध हुन्छन् । सरकारी निकायमा पनि त्यही समस्या छ । निजी क्षेत्र निर्णय नगरी बस्नै सक्दैन ।

निजी क्षेत्रले एउटा प्रोजेक्ट कति समयमा सक्छ र सरकारले कति समयमा सक्छ भन्ने पहिला हेर्नुपर्‍यो । निजी क्षेत्रले संस्थागत रूपमा नै दायरामा राख्नु हुँदैन भनेका छौँ ।

हामीले सबै सांसदहरूसहितको कार्यक्रम पनि गरेका थियौँ । अख्तियार निजी क्षेत्रमा प्रवेश गर्दा कस्ता समस्या आउन सक्छन् भन्नेबारेमा हामीले अवगत गराएका थियौँ । अख्तियार निजी क्षेत्रमा प्रवेश गर्दा लगानीकर्ता निरुत्साहित हुनेछन् । यहाँ यस्ता विषय आए भने लगानी आकर्षित गर्न सकिँदैन ।

–नेपालको अर्को समस्या पुँजी पलायनको हो भन्छन् जानकारहरू । नेपालबाट पुँजी पलायन भएकै हो ?

पुँजी पलायन रोक्न नेपालमा लगानीको वातावरण बनाउनुपर्छ । लगानीको नीति राम्रो बनाउनुपर्‍यो र स्थायी प्रकृतिको बनाउनुपर्‍यो । भूतप्रभावी कानुनलगायत समस्या हल गर्नुपर्‍यो । नेपालमा नै वातावरण बनाउने हो लगानीका लागि । अप्ठ्यारा कानुन भएमा बाहिरी लगानी आउँदैन नै । मुलुकभित्रै काम गर्नेहरूमा पनि त्रास बढ्यो भने पुँजी पलायन हुन्छ ।

मान्छे अझै पनि लगानीका लागि ‘पर्ख र हेर’को अवस्थामा छन् । हामी नेपालमा पर्यटनको सम्भावना देखेर लागिपरेका छौँ । म उद्योग वाणिज्य महासंघको अध्यक्षको हैसियतले पनि भनिरहेको छु । नेपालमा लगानीको वातावरण बन्यो भने पुँजी पलायन अवश्य रोकिन्छ ।

–मुलुकको अर्थतन्त्रमा सकारात्मक माहोल सिर्जना गर्ने भाष्य निर्माणका लागि मिडियाको भूमिका पनि उत्तिकै हुन्छ । मिडियाको भूमिका कस्तो पाउनुभएको छ पछिल्लो अवस्थामा ?

मास मिडियाभन्दा पनि सोसल मिडिया अलि गैरजिम्मेवार देखिन्छ । सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरूलाई नियन्त्रण गर्न आफूले अभिव्यक्त गरेको भनाइप्रति जिम्मेवार बनाइनुपर्छ । जे पायो त्यसैलाई लिएर सनसनीपूर्ण समाचार बनाउने र त्यसले ‘क्लिक’ बढाउने काम मात्र भएको देखिन्छ ।

यस्तो काममा कहिलेकाहीँ मास मिडिया पनि अलिअलि प्रवेश गरेको देखिन्छ । तथापि, नकारात्मक भाष्य बनाउन सोसल मिडियाको भूमिका बढी देखिन्छ । सामाजिक सञ्जाल पनि सकारात्मक भइदिए निजी क्षेत्र बलियो हुन्छ । निजी क्षेत्र जति बलियो हुन्छ देश त्यति नै आर्थिक रूपमा सबल हुन्छ अनि, सरकारले जनताको हितका काममा पैसा खर्चन सक्छ ।

–मिडियाको ‘ब्ल्याकमेलिङ’ कत्तिको फेस गर्नुपर्छ ?

मैले त्यस्तो ‘ब्ल्याकमेलिङ’ अनुभव गरेको छैन । अर्थतन्त्र सुदृढ गर्न मिडियाबाट समर्थन भइरहेको छ । सामाजिक सञ्जालमा कहिलेकाहीँ ‘स्टन्टबाजी’ भएको पाउँछु । समग्रमा भन्दा निजी क्षेत्र कमजोर भयो भने मुलुक साँच्चिकै अप्ठ्यारोमा पर्छ भन्ने कुरामा नेपालका आर्थिक पत्रकार तथा जिम्मेवार ठूला मिडियाका सम्पादकहरू सजग हुनुपर्छ ।

–नेपालमा केही पनि भएन, हुँदै हुँदैन भन्ने धारणा व्याप्त छ । यो देश बन्दै बन्दैन भन्ने धारणा अर्कोतिर छ । तपाईंलाई के लाग्छ ?

त्यो हुँदै होइन । तपाईंको प्रश्न पूरा नसुन्दै म जवाफ दिन आतुर भइसकेँ । नेपालमा जस्तो अवसर अर्को कुनै पनि मुलुकमा छैन । यहाँ हरेक क्षेत्रमा लगानीको सम्भावना छ । सम्भावना नै सम्भावना छ नेपालमा ।

यो मैले मिडियामा मात्रै भनेको होइन । सार्वजनिक खपतका लागि मात्रै भनेको होइन । म जहाँ पनि यही कुरा भनिरहेको छु । नेपालमा प्रशस्त सम्भावनाहरू छन्, तर ती सम्भावनाको उपयोग गरेर आर्थिक उपार्जन गर्नेको सामाजिक हैसियत र जनताको तिनीहरूप्रतिको सम्मान भने बढेको छैन । यदि, आर्थिक रूपमा सम्पन्न व्यक्तिलाई उसले सरकारलाई कर बुझाएको आधारमा सम्मान दिने परिपाटी बस्ने हो भने सम्भावनाका उपयोग गर्नेहरूको संख्यामा पनि उल्लेख्य वृद्धि हुन्छ ।

तर, नेपालमा काम गर्नु मात्र ठिक ठान्ने होइन कि विदेशमा गएर शिक्षा लिनु, सीप सिक्नु वा कुनै व्यवसायमा अनुभव हासिल गर्नु पनि गलत होइन । वैदेशिक रोजगारीमा जानु भनेको गलत भनिँदै छ, त्यो पनि होइन । अमेरिकनहरू पनि कतारमा आएर काम गरेका छन् । विश्वबाट अमेरिका जान चाहन्छन्, तर उनीहरू पनि विभिन्न मुलुकमा पुगेर काम गरेका छन् ।

–नेपालमा विदेशी कामदारहरू त्यसरी आउने दिन आउँछ ?

नेपालमा पनि त्यो अवसर छ । यहाँ पनि केही त छन्, तर बढाउँदै लैजानुपर्छ । म त सम्भावना नै सम्भावना देख्छु ।

–तपाईं एक सफल उद्यमी हुनुहुन्छ । सफलताका पछाडिका कारण के हो ?

म तीनवटा सिद्धान्तमा आधारित हुँदै काम गर्छु । पहिलो, राज्यले चाहेको र गर्न खोजेको कामलाई सहयोग गर्नुपर्छ । दोस्रो, आमनागरिकसँग सहकार्य गरी व्यवसाय गर्नुपर्छ । त्यही कारण हामीले हाम्रा कम्पनी पब्लिक लिमिटेडमा लगेका छौँ, किनभने आमजनताको सहभागिता होस् भन्ने चाहन्छौँ । तेस्रो, कुनै काम सुरु गरिसकेपछि समयमा सक्नुपर्छ भन्ने दृढता छ । म मिहिनेतमा विश्वास गर्छु । मैले संस्था बनाउन बढी जोड दिइरहेको छु ।

कम्पनी बनाउँदा होस् या उद्योग वाणिज्य महासंघमा होस्, मेरो नियम नै के हो भने सुरु गरेको काम समयमै सक्नुपर्छ । म यस नियममा सधैँ दृढ रहेँ ।

–आइएमई समूहको ‘फोकस’ केमा छ ?

हामी पर्यटन क्षेत्रमा बढी जोड दिएर लागिरहेका छौँ । बैंक, इन्स्योरेन्स, डिजिटल र उद्योगमा छौँ । केवलकार सातैवटा प्रदेशमा बनाउँदै छौँ । जलविद्युत्मा लगानी गरेका छौँ ।

– अब भविष्यमा...

स्वदेशमै उत्पादन बढाउँदै आयात प्रतिस्थापन गर्नैपर्छ भनी लागेका छौँ । यसमा बढी जोड दिन्छौँ । नेपालमा ‘बन्ड पेपर’ सबै आयात हुन्छ । त्यसलाई रोक्ने गरी पेपर उत्पादनका काम गरिरहेका छौँ । अब एक–डेढ महिनाभित्रै काम सक्छौँ । र, अन्त्यमा सबैलाई उत्पादनमुखी, परिणाममुखी हुन र संस्थागत विकासमा ध्यान दिन आह्वान गर्छु ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro