site stats
बाह्रखरी :: Baahrakhari
विदेश
लेबनानमा मारिए हमासका नेता 

काठमाडौं । हमासका एक नेता लेबनानमा मारिएका छन् । इजरायलले हवाई आक्रमण गरी हमासका नेतालाई मारेको जनाएको छ ।  

समाचार संस्था रोयटर्सका अनुसार हमासले लेबनानमा आफ्ना नेता मारिएको पुष्टि गरेको छ । लेबनानमा रहेका हमासका नेता फतेह शेरिफ अबु अल अमिनलाई इजरायलले हवाई आक्रमणमार्फत मारेको हो । इजरायली आक्रमणमा हमासका नेता अमिनसँगै उनकी श्रीमती, छोरा र छोरी पनि मारिएका छन् । उनी दक्षिणी लेबनानको शरणार्थी क्याम्पमा थिए ।

एक महिनाअगाडि इजरायलले हमासमा अर्का मुख्य नेता इस्माइल हनियाको पनि हत्या गरेको थियो । पछिल्लो दुई हप्तादेखि इजरायलले लेबनानमा निरन्तर हमला गरिरहेको छ । इजरायलले यस अगाडि लेबनानको अर्ध सैनिक समूह हिजबुल्लाहका मानिसहरूलाई पेजर र वाकिटकी विस्फोट गराएर मारेको थियो ।

लेबनानमा निरन्तर आक्रमण भएपछि पछिल्ला दिनमा एक लाखभन्दा बढी मानिस शरण खोज्दै सिरियातर्फ गएका छन् । शुक्रबार मात्र लेबनानको राजधानी बेरुतमा हिजबुल्लाहका मुख्य नेता हसन नसरल्लाह मारिए । इजरायलले हिजबुल्लाहका मुख्य नेता र उनीहरूको मुख्यालयमा हमला गर्नु अगाडि २० वर्ष लगाएर जासुसी गरेको समाचार आएका छन् ।
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्