site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ब्राजिलमा शरणार्थीको ‘स्टाटस’ माग्ने आधाभन्दा बढी नेपाली अमेरिकातर्फ लागे

काठमाडौं । केही दिनअघि ब्राजिलको साओ पाउलो विमानस्थलमा शरणार्थी ‘स्टाटस’ माग्ने १७६ नेपालीमध्ये आधाभन्दा बढी अमेरिकातर्फ अघि बढेका छन् ।  मानव तस्करको प्रलोभपनमा परी अमेरिका जान हिँडेका उनीहरूले केही दिनअघि ब्राजिलको साओ पाउलोस्थित ग्वारुलहोस अन्तर्राष्ट्रिय विमानस्थलमा आफूहरूलाई शरणार्थीको हैसियत प्रदान माग गरेका थिए ।

“हामीले बुझ्दा आधाभन्दा बढी साओ पाउलोको अध्यागमनबाट निस्केर अमेरिका लागेको पाएका छौं” ब्राजिलस्थित नेपाली दूतावास स्रोतले बाह्रखरीसँग भन्यो । 

स्रोतका अनुसार, उनीहरू नेपालबाट युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई हुँदै ब्राजिलको साओ पाउलो पुगेका थिए । साओ पाउलो पुगेपछि उनीहरूले आफूसँग भएका पासपोर्ट च्यातेर फ्याँकी आफूहरू शरणार्थी भएको दाबी गरेका थिए । 

Dabur Nepal
NIC Asia

उनीहरूले ‘नेपालमा आफ्नो ज्यान जोखिम’मा रहेको जनाउँदै ज्यान जोगाउन ब्राजिल आएको बताएका थिए । नेपालमा आफूहरू सुरक्षित नभएका कारण शरणार्थीको हैसियत प्रदान गर्न उनीहरूले ब्राजिल सरकारसँग माग गरेका थिए ।

“ब्राजिलले शरणार्थी सम्बन्धित अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेको छ । यसैकारण ‘शरणार्थी हुँ’ भन्नेलाई ब्राजिलले फिर्ता पठाउँदैन । जो नेपालीले ब्राजिलमा आफूहरू शरणार्थी भएको दाबी गर्छन्, उनीहरूबारे ब्राजिलले हामीलाई कुनै पनि सूचना दिँदैन,” दूतावास स्रोतले भन्यो ।

विदेशमा रहेका नेपाली दूतावासले त्यहाँ नेपाल सरकारको प्रतिनिधित्व गर्छन् । यसैकारण नेपालमा आफूहरू असुरक्षित रहेको जनाउँदै शरणार्थीको हैसियत माग्ने नेपालीका विषयमा कुनै पनि जानकारी नेपाली दूतावासलाई ब्राजिलले दिने गरेको छैन ।

“पछिल्ला दिनमा शरणार्थीको हैसियत माग्ने १७६ मध्ये आधा त्यहाँबाट तस्करको साथमा लागेर अमेरिकातिर अघि बढेको सूचना हामीले आफ्नै संयन्त्रमार्फत पाएका हौं, ब्राजिल सरकारले दिएको होइन,” स्रोतले भन्यो । 

साओ पाउलोमा शरणार्थी हैसियत माग्ने १७६ नेपालीमध्ये एकजना विरामी परी स्थानीय अस्पतालमा उपचारत छन् ।

मानव तस्करको प्रलोलभनमा परी अमेरिका जाने क्रममा ब्राजिलको साओ पाउलो पुगेका एकजना घानाका नागरिकको गत अगष्ट १३ दिन मृत्यु भएको थियो । समयमै उपचार नपाएका कारण उनको मृत्यु भएको साओ पाउलोका मिडियाले आफ्नो समाचारमा उल्लेख गरेका छन् । 

केही दिनअघि अमेरिका जाने लक्ष्यसहित हिँडेका ७०० जना नेपाली, भारतीय, बंगलादेशी र फिलिपिन्स नागरिकले साओ पाउलोमा शरणार्थीका हैसियत माग गरेका थिए । 

शरणार्थीको हैसियत माग गर्नेलाई सुरुमा ब्राजिलको अध्यागमनले नियन्त्रणमा लिने गर्छ । त्यसपछि आवश्यक फाराम भर्न लगाई छाडिने गरिन्छ । यसरी छाडेकाहरू पुनः मानवतस्करको सम्पर्कमा पुग्छन् र अमेरिकातर्फ अघि बढ्छन् । 

“हामीले पटक–पटक मानव तस्करको पछि लागेर ज्यान जोखिममा राखी नआउन भनेका छौं, तर यसरी आउने क्रम पछिल्लो वर्ष बढेको छ,” दूतावास स्रोतले भन्यो । 

मानव तस्करले केहीलाई भने ब्राजिललाई ट्रान्जिट बनाएर बोलिभिया पठाउने गर्छन् । बोलिभियाले नेपालीलाई ‘अन अराइभल भिसा’ दिने हुँदा मानव तस्करले अवैध तरिकाले अमेरिका लैजाने क्रममा जहाजमार्फत ल्याटिन अमेरिकी राष्ट्र बोलिभिया पु¥याउने गर्छन् ।

बोलिभिया तथा ब्राजिलदेखिको यात्रा भने पैदल, बस, ट्रक, ट्याङ्कर, डुङ्गामार्फत हुन्छ । र यो सबै यात्रा लुकिछिपी हुने गर्छ । यसरी अवैध तरिकाले अमेरिका जानेहरू प्रत्येकले मानव तस्करलाई कम्तीमा ८० लाख रुपैयाँ बुझाउने गरेको जानेहरू नै बताउने गर्छन् । 

मानव तस्करले नेपालीलाई सुरुमा काठमाडौंबाट भारत तथा युनाइटेड अरब इमिरेट् (यूएई) पुर्याउने गर्छन् । त्यसपछि ब्राजिल तथा बोलिभिया पु¥याउने गर्छन् । पछिल्ला समय केहीलाई यूएईबाट अफ्रिकी राष्ट्र हुँदै ब्राजिल तथा बोलिभिया पनि पुर्याउने गरेको पाइएको छ ।

अमेरिका जान भनी हिँडेका केही नेपाली अफ्रिकी राष्ट्र इथियोपियामा पनि अलपत्र परेका छन् । मानवतस्करले ब्राजिलबाट बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका छिराउने गरेको पाइन्छ ।

ब्राजिलदेखि अमेरिकासम्मको यात्रामा अकल्पनीय पीडा बेहोर्नुपर्ने हुँदा केहीको यात्राका क्रममा बाटोमै मृत्यु हुने गर्छ ।

सन् २०२४ को जुलाइमा पनि साओ पाउलो पुगेका ४ सय नेपाली र भारतीयले आफूहरू शरणार्थी भएको दाबी गरेका थिए । त्यसपछि उनीहरूलाई ब्राजिलको अध्यागमनले नियन्त्रणमा लिएको थियो ।

ब्राजिलको न्याय तथा सामाजिक सुरक्षा मन्त्रालयको तयार पारेको ‘रिफ्युजी इन नम्बर्स, २०२४’ प्रतिवेदनमा सन् २०२३ मा ब्राजिलमा शरणार्थीको हैसियत माग गर्ने छैठौं ठूलो संख्या नेपालीको रहेको देखाएको छ ।

यो प्रतिवेदनले प्रत्येक वर्ष कति ठूलो संख्यामा नेपाली अवैध तरिकाले ज्यान जोखिममा राखेर अमेरिका जाने गर्छन् भन्ने स्पष्ट देखाएको छ । प्रतिवेदन अनुसार, सन् २०२३ मा ५८ हजार ६२८ जनाले विदेशीले ब्राजिलमा शरणार्थीको हैसियत प्रदान गर्न भन्दै आवेदन दिएका थिए ।

उक्त वर्ष यसरी आवेदन दिने नेपालीको संख्या ९६६ थियो, जुन संख्या ब्राजिलमा शरणार्थीको हैसियत माग्ने भारतीय, चिनियाँ र बंगलादेशीभन्दा बढी हो ।

“नेपालबाट शरणार्थीका लागि आवेदन दिनेमा ७.३ प्रतिशत महिला छन्,” प्रतिवेदनमा भनिएको छ । सन् २०२३ मा ब्राजिलमा शरणार्थीको हैसियत माग्ने नेपालीमा १२ देखि १८ वर्षका ६० जना, १९ देखि २४ वर्षका ३५९ जना र २५ देखि ३९ वर्षका ५४८ जना थिए ।

ब्राजिलको ‘रिफ्युजी इन नम्बर्स, २०२२’ प्रतिवेदनमा सन् २०२१ मा ब्राजिलमा शरणार्थीको हैसियत माग गर्ने १८ औं ठूलो संख्या नेपालीको थियो । उक्त वर्ष ५५ जना नेपालीले ब्राजिलमा शरणार्थीको हैसियत माग गरेका थिए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro