site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
बादलमाथि हल्लिँदा

अनायासै बनेको भ्रमण योजनामा पहिलोपटक समुद्रपारि मुलुकको यात्रा गर्दै थिएँ । मनमा अनेक कौतूहल र अलिअलि डर पनि थियो । त्यसमाथि भाषा र आपसी कुराकानीका परिवेशसँगै विभिन्न जिज्ञासाहरू हुने नै भए ।

जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपाल एयरलाइन्सबाट यात्रा गरिँदै थियो । रातको साढे दश बजेको उडान भ्याउन घरबाट सात बजे नै निस्कनुपर्थ्यो । र, आठ बजे पुग्ने योजना थियो । समयमै पुगेर ढुक्क हुनुपर्छ भन्ने लाग्यो ।

मनमा अलिअलि डर बोकेर निस्कँदा कुन बेला विमानस्थल पुगिएला भन्ने हुनु स्वाभाविक थियो । बसले त पर्खंदैन, हवाईजहाजले पर्खने कुरै भएन । त्यसैले समय मै पुगेको ठिक । समयमा नपुगे छुट्ने सम्भावना पनि हुन्थ्यो ।

Dabur Nepal

अर्को कारण, मनमा हुटहुटी पनि थियो । मानिसभित्र एकप्रकारको इन्जाइटी हुन्छ नै । चाहे त्यो यात्रामा होस् या परीक्षामा । यात्रापूर्वको एक किसिमको बेचैनी लागिरहेकै थियो मलाई पनि ।

मलाई मात्र नभएर सायद सबैलाई यस्तै हुन्छ होला । तीन घण्टाअगाडि विमानस्थल आउनु भन्ने हवाई कम्पनीको उर्दीलाई मान्दा आठ बजे राति विमानस्थल पुग्नुपर्ने भयो ।

एक त काठमाडौं सहरमा साँझ सात बजे नै सबै आ–आफ्नो गन्तव्यमा लागिहाल्छन् र बाटो खाली नै हुन्छ भन्ने मानसिकता बोकेर घरबाट निस्कँदा बाटोमा जाम, बिहेका जन्ती र जात्रामा मान्छेको भीडले गर्दा साढे आठमा पनि नपुग्दा सँगै जाने साथीहरू निकै आत्तिइसकेका थिए । ती पटकपटक मलाई फोन गरिरहेका थिए । यस किसिमको अत्यास अस्वाभाविक थिएन ।

अचेल नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल निकै भीडभाड देखिन्छ । देशमा रोजगार छैन भनी विदेशिने युवाहरूको ताँतीसँगै विमानस्थलसम्म पुर्‍याउन आउने आफन्तहरूको लस्करले सधैँ जात्रामय देखिन्छ एयरपोर्ट ।

जसोतसो विमानस्थल पुग्दा युद्ध नै जितेजस्तो अनुभूत भयो । अबको चुनौती भीडका बीचमा आफ्ना साथी खोज्नु थियो । हामी चारजना विशेष भ्रमणका लागि जापान जाँदै थियौँ ।

जापानमा नेपाली भाषा, संस्कृतिको अवस्थाका साथै नेपालीहरूको अवस्थाका बारेमा अध्ययन गर्न बनेको कार्यक्रममा लेखक आफैँ भाषा र साहित्यको क्षेत्रमा काम गरिरहेको र अन्य साथीहरू शिक्षा र समाजसेवाका क्षेत्रमा जोडिएका थिए ।

यात्रामा साथी थिए, नवीन गुरुङ र राजकुमार बराइली अनि महाकाली माध्यमिक विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेत ।

नेपालभित्रको हवाईयात्रा त गरिरहेकै हो, तर डोमेस्टिकको यात्रा नगरेकै पनि आठ वर्ष भइसकेको थियो । आठ वर्षपछि ठूलो जहाज चढ्दा फरक अनुभूति हुने नै भयो ।

विमानमा पस्दै अलमल भयो, सिटलाई लिएर । कता के कता के ! असहजजस्तो महसुस भइरह्यो केही समय । केही क्षण बसेपछि बल्ल सहज अनुभव गरेँ ।

केही वर्षअगाडि काठमाडौंदेखि विभिन्न सहरमा रात्रिकालिन बस सेवा चल्थ्यो । विराटनगर, झापा यात्रा गरेको सम्झना ताजा गराउने नाइट बसको अनुभव हवाईजहाजमा अनुभूत गर्दै थिएँ, नेपाल एयरलाइन्सको जहाजमा ।

रातको उडानमा पनि सबै नेपाली यात्रुहरूले भरिएको जहाज देखेर चकित परेँ । यो ठूलो जहाजको एक लहरमा आठवटा सिट । दायाँबायाँ दुईदुई र बीचको भागमा चार सिट गरेर आठ सिटको लहर । अनि, हिँड्ने बाटो सानो ।

यो देखेर लाग्यो, यी ‘रियलान्मेट’ गरेर बनाइएका सिटहरू पो हुन् ! हिँड्ने बाटो यति असुविधायुक्त र असहज हुनु नपर्ने ।

नेपाल एयरलाइन्सको एन–४३३ जहाज ठूलो र भरिभराउ नै थियो । जहाजमा कामकाजी परिपक्व मानिसभन्दा बढी विद्यार्थी थिए । यसो पछाडिसम्म फर्केर हेर्दा मुटु नै चिसो भयो ।

‘हैन, यो देशका युवा यसैगरी दिनानुदिन विदेशिँदा यो देशको भविष्य कहाँ जाँदै छ ? पढ्नका निम्ति तिरिएको अर्बौँ पैसा किन हामीले मुलुकमै राख्न सकिरहेका छैनौँ ? के यी विदेशिएका हाम्रा युवाहरू फेरि देश फर्किएलान् त ?’

यी प्रश्नहरूसँगै भविष्यप्रतिको डरले निकै भावुक बनायो । यसरी देश बनाउन सक्ने युवाशक्तिलाई बेचेर कसरी मुलुक बन्ला ? शासनसत्तामा बसेकाहरूको यतातिरको उदासीनता देखेर रिस पनि उठिरहेको थियो ।

बादलमाथि २९ हजार फिटको उचाइमा ६८१ किलोमिटर प्रतिघण्टाको गतिमा उडिरहेको हवाईजहाज बेलाबेला दुईतीन मिटर मात्रै पनि तलमाथि गर्दा डर लाग्नु स्वाभाविक हुँदो रहेछ ।

नेपालबाट जापान उड्दा रातको समय भएको हुनाले निदाउने प्रयत्न गरियो । बेलाबेलामा तलमाथि हुँदा त्यस्तो आत्तिने अवस्था नहुँदो रहेछ । तर, मावनीय स्वभाव – स्वाट्ट तल जाँदा त मन निकै चिसो हुँदो रहेछ ।

मानिसहरूलाई लाग्दछ, समुद्र शान्त र स्थिर रहन्छ । समुद्रको गहिराइ, यसको स्थिरता, गाम्भीर्यता, यसको फराकिलोपना, यसको सुन्दरता मुक्तकण्ठले प्रशंसा गर्दछन् लेखकहरू ।

कसैले सुतेको समुद्र पनि भन्छन् । के समुद्र साँच्चिकै शान्त र स्थिर हुन्छ त ? विम्ब र उपमा दिँदा ठिकैजस्तो लागे पनि समुद्र शान्त र स्थिर चित्तको हुँदैन । यो जस्तो बाहिरबाट देखिन्छ, भित्र त्यस्तो छैन । सागरको गहिराइमा कसले डुबुल्की मार्नु र यसको भित्री पत्रको चलायमान अस्थिरताको हिसाब निकाल्नु ।

तर, सागरको गहिराइभित्र असंख्य छालहरू दौडिरहेका हुन्छन् । यसको अन्डर करेन्ट बाहिर देखिएभन्दा नितान्त भिन्न हुन्छ । सागरको जति गहिराइमा गयो त्यति नै यो चिसो हुन्छ ।

हामीलाई लाग्दछ, शान्त सागरमाथि उड्दा बतासिनु पर्दैन । जहाजले तलमाथि गरेर थचारिनु पनि पर्दैन । त्यस्तो होइन रहेछ । समुद्री आँधी, बबन्डर, हावाहुरी भनिसाध्य नहुने रहेछ । सागरमाथिको शान्त आकाशमा उडूँला भनेको त झोलुंगोमा राखेर हल्लाएजस्तो यताउता, तलमाथि गरेर मन अस्थिर नै गरिदियो !

विशाल महासागरमाथि हावामा उडेको जहाजमा रामनामीको जपले भन्दा पनि जहाजका चालकको दक्षताले गतिशीलतासहितको गन्तव्यतर्फको सुनिश्चितता दिने हो ।

यतिखेर भने आध्यात्मिक चिन्तनभन्दा विज्ञानले दिएको भौतिक सुविधामा निश्चिन्त भएर आँखा चिम्लनु नै मनलाई शान्त राख्ने आधार थियो । जहाजले हल्लाउँदै थियो । विशाल महासागरमाथि भएर यात्रा गर्दा जहाज स्थिर र शान्त होला भन्ने सोचाइले काम गर्दैन । बस्, केही समयपछि अभ्यस्तजस्तो भइँदो रहेछ ।

कतिखेर आँखा लोलाए, थाहा भएन । ब्युँझिँदा पनि जहाज समुद्रमाथिकै आकाशमा उड्दै थियो ।

सात घण्टाको सिधा उडानपछि जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा ओर्लंदा स्थानीय समयानुसार बिहानको नौ बजेको थियो । नेपालभन्दा पूर्व तीन घण्टा पन्ध्र मिनेट चाँडो रहेको जापानको समयमा नारिता पुग्दा झलमल्ल उज्यालो भइसकेको थियो ।

१५ वर्षअघिदेखि बनिरहेको पूर्वी एसियाको एक व्यस्त विमानस्थलको निर्माण कार्य अझै सकिएको रहेनछ । निर्माण कार्य सुचारु देखिन्थ्यो । धावनमार्गबाट दृष्टिगोचर गर्दा विशाल मैदानमा जताततै ठूलाठूला जहाज पार्क गरेर राखिएको देखियो । विमानस्थल वैदेशिक यात्राको ट्रान्जिट हब बन्दै गएको हामीलाई पनि महसुस भयो ।

एक पर्यटकको रूपमा जापानको भूमिमा टेकेका हामीलाई लिन जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (साहित्यकार दुबसु क्षेत्री) हवाईजहाजको ढोकैमा आइपुग्दा हामी हर्षविभोर भयौँ । र, आपसमा अंकमाल गर्‍यौँ ।

जहाजबाट ओर्लिएपछि आगमनकक्षमा पुनः सुरक्षा जाँचका फर्म भरी लाइनमा उभियौँ । यहाँ सोचेजस्तो कठिन भएन । अध्यागमनमा पनि कुनै ढिलाइ देखिएन ।

अध्यागमन सकेर सामान लिने बेल्टमा आउँदा ब्याग घुमिरहेको छ । नेपालीहरू विदेश जाँदा केके सामान लिएर जान्छन् होला ? सबैलाई कौतूहल हुनु स्वाभाविक हो । अझ विदेश यात्रा भनेपछि त्यहाँ रहेका साथीभाइ, इष्टमित्रका सामान लगिदिनु साथ र सहयोग पनि हो ।

तर, तिनले पठाएका सामान के हुन्, कतै निषेधित वस्तु त छैनन् ? चेकजाँचको क्रममा दुःख पाइने हो कि भन्ने डर विमानस्थलबाट नबाहिरुन्जेलसम्म भइराख्ने रहेछ ।

प्रायः नेपालीले विदेशका आफ्ना इष्टमित्र, साथीसँगीलाई पठाउने वस्तु भनेको नेपाली मसला, घिउ, अचार, चाउचाउ, मिठाई र अरू खानेकुरा प्याक गरेको झोला खोतलखातल गरेर हेर्ने होला भन्ने शंका यात्राको सुरुदेखि नै थियो ।

आफन्तलाई भेट्न जाँदा नेपालीले लिएर जाने सौगातहरू यिनै हुन् । अझ अचार, गुन्द्रुक, मस्यौरा पनि भए नेपाली सौगातले पूर्णता पाउँछ । अनि, नेपाली हातले बनाएको विशुद्ध मायाको चिनो ।

काठमाडौं पढ्न बस्दा आमाले कति मिहिनेतले छोराको लागि भनेर गुन्द्रुक, मस्यौरा, घिउ पठाउने गर्नुहुन्थ्यो । अहिले हामी त्यही वस्तु बोक्न नसक्ने भएका छौँ । के गर्ने, मायाको पोको विमानस्थलमा जाँचकीले झिकेर फ्याँकेको हेर्नुपर्छ !

फ्याँकी दिए मात्र त हो, जरिवाना तिराउने र कारबाही गर्ने भएपछि ती चिजहरू बोकेर नदुखेको टाउको दुखाउने काम गर्नु पनि भएन ।

ब्याग टपक्क टिपेर हिँड्दै गर्दा न कतै सोधखोज न त कुनै चियोचर्चो । म सरासर बाहिर आएँ ।

जापानको स्क्रिनिङ, जाँच प्रक्रिया के होला ? कसरी पत्ता लगाउँछन् अवैध वस्तु भन्ने मनमा तर्कनाहरू नउठेका हैनन् । तथापि, त्यो हैरानी व्यहोर्नु नपरेकोमा खुसी हुँदै हिडेँ ।

आ–आफ्ना सामान बोकेर हामी पार्किङतर्फ लाग्यौँ । हामीलाई कुरेर बसेका सवारी सहजकर्ता जेनीले सहयोग गरेपछि हामी नारिता एयरपोर्टबाट नेपाली राजदूतावास टोकियोतर्फ लाग्यौँ ।

बाहिर हाम्रो स्वागतार्थ बर्सात भइरहेको थियो । निकै गर्मी हुने जापानको टोकियो पुग्दा मन्द पानी परिरहनुले यात्राको सहजता र सुखदपनाको कल्पना उम्लिरहेको थियो ।

(चन्द्रागिरि–२)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ०६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro