site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनसेलले पलेशालाई नगद १० लाखसहित सम्मान गर्दै

काठमाडौं । पेरिसमा जारी पारालम्पिक–२०२४ मा इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशका लागि अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

पलेशाको ऐतिहासिक जित र पेरिस पारालम्पिक २०२४ मा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडीहरू तथा प्रशिक्षकहरूको सम्मान स्वरुप एनसेलले पलेशालाई १० लाख रुपैयाँ र अन्य सहभागी पारा खेलाडी तथा प्रशिक्षकहरुलाई पनि थप १० लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एनसेलले राष्ट्रिय पारालम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरुप यो सम्मानको घोषणा गरेको एनसेलले जनाएको छ ।

एनसेलले गत वर्षदेखि एनपीसीसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिमअन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ ।

“पलेशाको ऐतिहासिक उपलब्धि राष्ट्रिय गौरव हो । यो जित नेपालको र सम्पूर्ण पारा खेलाडीहरूको कडा परिश्रम र उत्कृष्ट प्रदर्शनको नतिजा हो,” पलेशा र देशको यो सफलताबाट उत्साहित बनेका एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “एनपीसीसँगको सहकार्यमा पलेशाजस्ता च्याम्पियन र हाम्रा राष्ट्रिय पारा खेलाडीहरूको प्रेरणा बनेर हौसला प्रदान गर्दै हामी एक बलियो साथ दिन प्रतिबद्ध छौँ ।”

एनसेलले गत वर्षदेखि आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको अवसरमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो । यसअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूको तालिम, विकास तथा प्रशिक्षणको लागि सहयोग गर्दै आएको छ ।  
 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्