site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बागलुङ बसपार्क २३ वर्षपछि सम्पन्न

गलकोट । पहुँचमार्ग विस्तारसँगै बागलुङ बसपार्क सञ्चालनमा आएको छ । बागलुङको उपल्लाचौरस्थित दाबगरा बसपार्कले २३ वर्षपछि पूर्णता पाएको हो ।

जग्गा फिर्तामा ढिलाइ तथा पहुँचमार्ग विस्तार हुन नसक्दा बसपार्क सञ्चालन हुन सकेको थिएन । चार वर्षअघि निर्माण सम्पन्न भएको बसपार्क पुहँचमार्ग नहुँदा सञ्चालन हुन सकेको थिएन । ढिलै भए पनि बसपार्क सञ्चालनमा आएपछि जग्गादाता खुसी भएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बागलुङ नगरपालिकाले केही महिनाअघि बसपार्कको पहुँचमार्ग विस्तार गरेको थियो । पहुँचमार्ग साँघुरो हुँदा बस आउजाउमा समस्या भएको थियो । हाल बसपार्क सञ्चालनमा आइसकेको बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।  

नगरविकास कोषको ऋणमा बागलुङ नगरपालिकाले नौ करोड खर्चेर आधुनिक बसपार्क निर्माण गरेको थियो । निर्माण सम्पन्न भएपनि बसपार्क सञ्चालन गर्न नसक्दा ऋण तिर्न समस्या भएको थियो । बसपार्क सञ्चालनसँगै नगरपालिकाको नाममा रहेको जग्गादाताको बाँकी जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

बसपार्कको औपचारिक उद्घाटन हुन भने बाँकी छ । २०५८ सालमा कुल ५९ रोपनी जग्गा स्थानीयले नगरपालिकालाई प्रदान गरेका थिए । जसमध्ये १७ रोपनी जग्गामा बसपार्क बनेको छ  । 

अन्य जग्गा घडेरीका रुपमा जग्गा धनीलाई फिर्ता गर्नुपर्ने सम्झौता छ । “नगरपालिकाले बसपार्क सञ्चालनमा ल्याइसकेपछि बाँकी दाताको जग्गा फिर्ता गर्ने योजनामा छ, चार बर्षदेखि नगरपालिकाले नगरविकास कोषलाई ऋणको साँवा र ब्याज भुक्तानी गरिरहेको छ, बसपार्क सञ्चालनमा ल्याएपछि नगरपालिकालाई आर्थिक भार घट्नेछ”, नगरप्रमुख श्रेष्ठले भने, “यातायात व्यवसायीसँग समन्वय भइरहेको छ, बसपार्क सञ्चालनमा आउनासाथ बागलुङ बजारको ट्राफिक समस्या आधा घटेर जान्छ, अहिले सञ्चालनमा रहेको चिप्लेटी बसपार्कलाई अन्य कामका लागि प्रयोग गरिनेछ ।” रासस

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०७:५३
प्रतिक्रिया दिनुहोस्