site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आर्थिक अपराधमा जेल सजायभन्दा आर्थिक जरिवाना बढाउनुपर्नेमा सांसदहरूको जोड

काठमाडौं । बैंकिङ कसुर तथा सजायसम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८० मा आर्थिक अपराधमा जेल हाल्नेभन्दा जरिवानालाई प्राथमिकता दिनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आइतबारको बैठकमा उनीहरूले यस्तो बताएका हुन् ।

सांसदहरूले बैंकिङ कसुर तथा सजाय ऐनमा आर्थिक अपराधमा जेल सजाय तोक्ने व्यवस्थामा पुनर्विचार गर्नुपर्ने बताए । उनीहरूले चेक अनादरको विषयमा बैंकलाई पनि जिम्मेवार बनाउने गरी ऐन ल्याउन आवश्यक रहेको उल्लेख गरे ।

सांसदहरूले बैंकिङ कसुर ऐनलाई ब्याज, मिटरब्याज र चेक अनादरका कारण निम्तिएका समस्या समाधान हुने बाटोमा गएको अनुभूति गर्ने तहबाट कानुन पारित गरिनुपर्नेमा जोड दिए ।

समिति बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले उक्त अपराधमा जेल हाल्नेभन्दा आर्थिक सजायलाई प्राथमिकता दिइनुपर्ने बताइन् । आर्थिक अपराध गर्दा कोही मानिसलाई जेल हाल्ने नभई जरिवानाको व्यवस्था गर्नु उपयुक्त हुने उनले धारणा व्यक्त गरिन् ।

“ऐनमा बिगोबमोजिमको रकम भराई भन्ने शब्दहरूको सट्टा चेकबमोजिमको रकम भन्ने राख्नुपर्छ,” उनले भनिन्, “अहिले हाम्रोमा जुनसुकै कसुरमा पनि जेल सजाय गरेपछि सबै कुराको समाधान हुन्छ भन्ने उद्देश्य राखिएको र हामीले त्यही कुरामा विश्वास राखेको देखिन्छ । आर्थिक प्रवृत्तिको अपराधमा ब्याज भराउने वा आर्थिक प्रवृत्तिकै सजाय गर्न उपयुक्त हुन्छ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानले चेक अनादर गराएर मुद्दामा जाने प्रवृत्ति बढेको बताए । उनले चेक अनादरको विषय आर्थिक लेनदेनको मामिला भएकाले त्यसमा जेल सजाय भोग्नुपर्ने व्यवस्थामा संशोधन गरिनुपर्ने उल्लेख गरे ।

उनले भने, “१० प्रतिशत तमसुक गराएर दिनसक्यो भने सुगम हुन्छ । दुवै नागरिक हो, जुन लेनदेनको कुरा हो । तर, यसमा बैंक अगाडि आउँदा जेल जानुपर्ने अवस्थाहरू आउँछन् ।”

नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले पीडितले न्याय पाउने गरी कानुन बनाउनुपर्ने बताए । ऐन बनाउने मात्र नभएर जनताले भोगेका समस्या सम्बोधन गर्नेतर्फ लाग्नुपर्नेमा उनले जोड दिए ।

धितो मूल्यांकन र चेक अनादरको विषयमा तत्काल गुनासो सुन्ने र बैंकलाई पनि जिम्मेवार बनाउने गरी ऐन संशोधन गरिनुपर्ने उनको भनाइ थियो ।

राप्रपाकी सांसद रोशन कार्कीले नेपाल राष्ट्र बैंकको अनुमतिबिना सहकारी बैंकले बैंकिङ कारोबार गरेमा अनुमति खारेज गरिनुपर्ने बताइन् । राष्ट्र बैंकसँग स्वीकृति नलिई सञ्चालन गर्दा पछिल्लो समय सहकारीमा समस्या आएको उनले उल्लेख गरिन् ।

एमालेका सांसद पदम गिरीले चेक अनादर हुन एक महिनाभन्दा बढी लाग्ने अवस्था रहेको बताए । यस्तो परिस्थितिमा प्रमाणित हुँदा जरिवानासहित जेल सजायको व्यवस्था रहेको भन्दै उनले त्यसलाई खारेज गर्न जोड दिए ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro