site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
पोखराले हाम्रो साझा टिमलाई अगाडि बढोस् भन्ने चाहन्छ

पोखरा उद्योग वाणिज्य संघको ३५ औँ महाधिवेशन भदौ २८ र २९ गते हुँदैछ । शुक्रबार उमेदवारका आकांक्षीलाई मनोनयनपत्र वितरण गर्ने निर्वाचन कार्यतालिका छ ।  यसपटक पनि अध्यक्षका आकांक्षीमा दुइजनाबीच प्रतिष्पर्धा हुने देखिएको छ । 

हालसम्म संघको अध्यक्षको लागि अर्जुन पोखरेल र गोकर्ण कार्कीले आकांक्षा राखेका छन् ।  यी मध्ये पोखरेल प्यानल नै बनाएर अगाडि बढेका छन् भने गोकर्ण कार्कीले समूह नबनाएता पनि अध्यक्षमा प्रतिष्पर्धा गर्ने बताएका छन् ।

पोखरेल अघिल्लो पटक पनि अध्यक्षमा प्रतिष्पर्धा गरेका थिए । अघिल्लो निर्वाचनमा पराजित भएतापनि पोखरा उद्योग वाणिज्य संघ (पोउवासंघ) मा विभिन्न पदमा रहेर काम गरेका उनी यसपटक पनि अध्यक्षमा प्रतिष्पर्धा गर्दैछन् ।
कार्की भने अहिले पनि वरिष्ठ उपाध्यक्ष छन् । तर, पोउवासंघको चुनावी रौनक, समुह गठन लगायतमा कार्की एक्लै परेका छन् । पूर्वाध्यक्षहरु धेरैको साथ पोखरेललाई छ । राजनीतिक रुपमा पनि कांग्रेस र एमालेको साथ पोखरेललाई नै देखिएको छ । भदौ २९ गते हुने मतदानले नै पोउवासंघको नेतृत्व चयन गर्नेछ । निर्वाचनको मिति नजिकिँदै जाँदा मतदाता भेटघाटमा व्यस्त रहेका पोखरेलसँग बाह्रखरीले गरेको कुराकानी–

Dabur Nepal
NIC Asia

–तपाईंको उमेदवारी किन ?

लामो समय पोखरा उद्योग वाणिज्य संघमा विभिन्न पदमा रहेर काम गरेको छु ।  आफूले लिएको त्यो अनुभवलाई कार्यान्वयन गर्नको लागि पनि नेतृत्वमा पुग्नुपर्ने अवस्था छ ।  एक हिसाबले मैले गरेको दुःख पनि नेतृत्वमा नपुगी नदेखिने, अघिल्लो निर्वाचनमा म पराजित भएता पनि म सँगै लडेका साथीहरुको सद्भाव थियो, त्यतिबेला चुनाव लड्ने बाध्यता थियो । 

२ वर्षसम्म पनि आफूले संघलाई नियालिरहेको र अवस्था आएको खण्डमा नेतृत्व लिन सक्छु भन्ने आत्मविश्वासको कारणले पनि मैले उमेदवारी दिएको हुँ ।  म नेतृत्वमा रहेँ भने निजी क्षेत्रलाई एड्भोकेसी गर्न सक्छु भन्ने विश्वास छ । 
संस्थाका पूर्वअध्यक्षहरुको आशीर्वाद, व्यवसायी साथीहरुको सहयोगमा म अगाडि बढेको छु ।

–पोखरा उद्योग वाणिज्य संघको निर्वाचन भन्नासाथ पोखरामा छुट्टै रौनक हुन्छ, माहोल नै अर्कै हुन्छ । तर, अहिलेको अधिवेशनमा त्यति माहोल देखिँदैन । उद्योगी व्यवासायीको यो निर्वाचनमा रौनकता नदेखिनुमा व्यवसायीहरु पलायन भइसकेको अवस्था त हैन ?

त्यस्तो होइन । निजी क्षेत्रको संघसंस्था अप्ठ्यारो अवस्थामा नै चाहिने हो ।  पोउवासंघ अलिक पुरानो संस्था हो । यसले यहाँको विकास निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलेको हुनाले छाता संगठनको रुपमा लिइएको थियो । 

तर, अहिले के भयो भने एउटाभन्दा अर्को टिम बन्न सक्ने अवस्था रहेन । अघिल्ला निर्वाचनमा देखिएको प्यानल अहिले देखिएको छैन । मेरो नेतृत्वमा मात्र टिम बनिरहेको छ । ९० प्रतिशत पुराना साथीहरुलाई लिएर अगाडि बढेको छु । 

हिजोका दिनमा एउटा पार्टी निकटमात्र भयो भन्ने थियो । अहिले हामीले जातीयता, भूगोल, राजनीति सबैलाई मिलाएका छौँ ।  यसले गर्दा यो व्यवसायीको साझा टिम हो भन्ने व्यवसायीहरुको आग्रह छ । अर्कातर्फ बजारमा हामीमात्र जाँदा पनि त्यस्तो देखिएको हो ।

–सरकारी तथ्यांक हेर्दा नै ४० प्रतिशत जति व्यावसायिक सटरहरु खाली भएको देखिन्छ । के यो तपाईंहरुको लागि सबैभन्दा ठुलो समस्या होइन ?

एकदम हो । हाम्रो निजीक्षेत्रको चुनौती भनेको नै यही हो । यस्तो हुनुको मुख्य कारण राजनीतिक अस्थिरता नै हो । अहिले पनि हामी त्यही समस्याबाट गुज्रिरहेका छौँ । यसबाहेक अन्तर्राष्ट्रिय घटनाक्रम, नेपालमा हुने विभिन्न दुर्घटना र जनतामा देखिएको नैराश्यता नै हो ।

हाम्रो महासंघ पनि छ । तर, ठुला व्यवसायी बोल्न चाहँदैनन् । जिल्लाका संगठनले चाहिँ महासंघले के गर्छ भनेर कुरेर बस्ने अवस्था छ । व्यवसायीको आवाज बुलन्द हुन सकेको छैन । सरकार भनेको त चाहिँ डिभाइड एण्ड रुल गर्ने हो । यो अवस्था छ । कहिँ न कहिँबाट सुरु गर्नुपर्छ भन्ने हो ।

अब बुलन्द आवाजसहित दबाब दिने काम गर्न आवश्यक छ । सँगसँगै नयाँ उद्यमशीलताका कुराहरु सरकारसँग हातेमालो नगरी सम्भव छैन । हामीले राजनीतिक विषय छाडेर आर्थिक विषयमा लागौँ भन्दा पनि अहिले पनि राजनीतिमा रुमल्लिइरहेको अवस्था छ ।

पोखराको हकमा सबै व्यवसाय पर्यटनसँग जोडिन्छन् । सडक दुर्घटना हुने, हवाइ दुर्घटनाका कारण पनि हामी समस्यामा छौँ । तर, व्यवसायीमा धैर्यता हुनुपर्छ । सबै बिग्रिसकेको होइन । तर, अझै पनि कहीँ न कहीँबाट आवाज उठाउन सकिएन भने यसलाई रोक्न सकिँदैन । हामी त्यसतर्फ सचेत हुनुपर्छ ।

–पाँच दशक अगाडि पोखराले अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ भन्यो, नेतृत्व उद्योग वाणिज्य संघले गर्‍यो, त्यतिबेलाको संस्थाको साख र अहिले संस्थाको साख के समान छ त ?

हिजो चाहिँ पोउवासंघ पुरानो संस्था भएका कारण पोखराको विकास निर्माणमा, चाहे विमानस्थल, चाहे फेवाताल, सभागृह वा सडक होस्, छलफलको केन्द्र पोउवासंघ थियो ।  सबै त्यहाँ आएर मन्थन गरिसकेपछि निस्केको निर्णयको आधारमा अगाडि बढ्ने काम हुन्थ्यो ।

अहिले वडाहरु छन्, स्थानीय तहहरु छन् । यही संस्थामा पनि दलका झण्डा बोकेर चुनाव लड्ने कामहरु भए । यसले गर्दा पराजित साथीहरुले अरु संस्था खोल्ने परिपाटी पनि देखियो । 

आवाज एकीकृत हुन सकेन, सरकारले खेल्ने ठाउँ पायो । संस्थाको आर्थिक अवस्था पनि त्यति मजबुत देखिएको छैन । अन्य संघसंस्थाहरु हामीभन्दा हाबी भएको हो कि भन्ने देखिएको छ । यी चुनौतीको सामना गर्दैै अगाडि बढ्छौँ ।

–तपाइको प्रतिबद्धतामा फेवातालको मापदण्ड पनि समेटिएको छ । सर्वोच्चको आदेश कार्यान्वयन गर्दा महानगरको प्रतिवेदन अनुसार ४९३ संरचना हटाउनुपर्छ, यसको अर्थ व्यवसायीको लगानीमाथि डोजर चल्छ, त्यो अवस्थामा तपाईंहरुको भूमिका के हुन्छ ?

हामीले के गर्छौँ भने, एउटा योजना बनाउनुपर्छ । ६५ मिटरभित्रको मापदण्ड के हो भनेर स्पष्ट खाका आएको छैन । फेवाताल चाहिएको निजी क्षेत्रलाई हो । यस विषयमा एउटा राजनीतिक सहमति हुनैपर्छ । 

फेवातालको मापदण्डको विषयमा भोटको राजनीति पनि भइरहेको छ । 

अन्तर्राष्ट्रिय परिवेश, सिमसारलगायतका विषय पनि आउँछन् । तर, पोखराको निर्णय के हो  त ? पोखराको निर्णय त पोखराले गर्नुपर्‍यो नि ।

सबैलाई छाता संगठनमा ल्याएर बृहत छलफल गरेर यसको के हो त योजना ? मापदण्ड ३० मिटर हो कि ६५ मिटर हो, भविष्यको योजना के हो ? सीमाभित्र पर्ने घरहरुको मुआब्जा कसले दिने हो ? त्यहाँ लगानी गर्ने व्यवसायी र जनतालाई अनिद्राको बन्दी बनाउनुहुँदैन । 

हामीले छलफल गरेर हिजोको अवस्थामा झैँ हामीले अहिले पनि नेतृत्व गर्छौँ ।

–व्यवसायीको बीचमा पनि मतभिन्नता देखिन्छ नि ?

छाता संस्था भनेको पोउवासंघ नै हो । धेरै संघसंस्थाहरु हामी मातहत छन्, उहाँहरुका लजिक पनि भिन्नभिन्न हुन्छन् । तर, माउसंस्था भएका कारण हामीले सबैलाई बोलाएर समन्वय गर्छौँ । सबैलाई समन्वय गर्ने र निष्कर्ष निकालेपछि दबाब दिने काम हामी गर्छौँ । त्यो क्षमता हामीमा पनि छ, यसले पोउवासंघको साख फर्काउँछ भन्ने विश्वास लाग्छ ।

संस्थाबाहिर पनि धेरै व्यवसायी साथीहरु हुनुहुन्छ । हामीले पूर्वाध्यक्षहरुको सल्लाहकार समिति बनाउने, दोस्रो तहमा कृषि, पर्यटन, व्यापार, उद्योग र सेवा क्षेत्रका विज्ञहरु राखेर एउटा फोरम बनाउने योजना छ । यसले हामीलाई अगाडि बढ्न मद्धत गर्छ भन्ने विश्वास छ ।

–तपाईंले अध्यक्षमा मत मागिरहँदा तपाईँ आफूले आफैँलाई यो पदमा योग्य हो भनेर कसरी प्रमाणित गर्न सक्नुहुन्छ ?

म पछिल्लो दशकदेखि उद्योग वाणिज्य संघमा नै छु  । 

यो मेरो घर नै हो । यहाँका समस्या उठानदेखि लिएर समाधानमा सक्रिय छु । अर्कातर्फ म २०७१–७३मा सदस्य, २०७३–०७५ मा उपमहासचिव, २०७५–०७७ मा महासचिव भएका हुँदै उपाध्यक्ष बनेको थिएँ ।

उद्योग वाणिज्य संघमा मैले लिएको अग्रसरताका कारण नै मतदाता व्यवसायी साथीहरुले मलाई अहिलेको अवस्थामा पुर्‍याउनुभएको हो । उहाँहरुको विश्वासकै कारण म यो अवस्थामा छु ।

–तपाईंलाई नै मत किन दिने ? तपाईंलाई नै रोज्ने किन ?

मैले उद्योग वाणिज्य संघमा १० वर्ष विभिन्न पदमा रहेर काम गरेँ ।  अघिल्लो निर्वाचनमा म चुनावमा होमिएँ, बाहिरिएँ । २ वर्ष म बाहिरिएतापनि म सँगै काम गरेका साथीहरु त्यहाँ हुनुहुन्थ्यो ।  चारवटा चुनावमा मलाई व्यवसायीहरुले विश्वास गरेर जिताउनुभयो, महासचिव बनाउनुभयो । 

यसले अप्रोचसहितको एड्भोकेसी गर्न सक्छ भन्ने विश्वास मलाई व्यवसायीहरुले देखाउनुभएको छ ।  व्यवसायीहरुको हकहितमा गरेको कामले नै मलाई अगाडि बढ भनेर विश्वास गर्नुभएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro