काठमाडौं । ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलको साओ पाउलोस्थित ग्वारुलहोस् अन्तर्राष्ट्रिय विमानस्थलमा १७६ जना नेपाली केही दिनदेखि अलपत्र अवस्थामा छन् ।
अमेरिका जान भनी मानव तस्करको पछि लागेर साओ पाउलो पुगेका उनीहरूलाई ब्राजिलको अध्यागमनले रोकेपछि अलपत्र परेका हुन् । ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेका अनुसार, साओ पाउलोमा रहेका १७६ नेपालीमध्ये एक जना बिरामी परेर अस्पताल भर्ना गरिएको छ ।
ब्राजिलको अध्यागमनले अवैध तरिकाले अमेरिका जाँदै गरेको नेपालीसहित ७ सय जनालाई साओ पाउलोमा रोकेको छ । साओ पाउलो विमानस्थलमा पुगेपछि उनीहरूले आफूहरू शरणार्थी भएको दाबी गरेपछि अध्यागमनले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
मानव तस्करले केहीलाई भने ब्राजिललाई ट्रान्जिट बनाएर बोलिभियातिर पठाउने गर्छन् । बोलिभियाले नेपाली नागरिकलाई ‘अन अराइभल भिसा’ दिने हुँदा मानव तस्करले अवैध तरिकाले अमेरिका लैजाने क्रममा जहाजमार्फत् ल्याटिन अमेरिकी राष्ट्र बोलिभिया पु¥याउने गर्छन् ।
बोलिभियादेखि पैदल, बस, ट्रक, ट्याङ्कर, डुङ्गामार्फत् नै यात्रा हुन्छ । यी सबै यात्रा लुकिछिपी हुनेगर्छ । यसपटक साओ पाउलोस्थित ब्राजिलको अध्यागमन कार्यालयमा अलपत्र रहेका नेपालीलाई बोलिभिया नपठाई ब्राजिलसम्म मात्र पठाइएको पाइएको राजदूत काफ्ले बताए ।
“उहाँहरूले शरणार्थीको स्टाटस मागेको जानकारी हामीले प्राप्त गरेका छौं,” ब्राजिलका लागि नेपाली राजदूत काफ्लेले बाह्रखरीसँग भने, “उहाँहरूले ब्राजिललाई ट्रान्जिट बनाएको देखिन्छ ।”
बेलाबखत ब्राजिलको अध्यागमनले बोलिभिया हिँडेका नेपालीलाई पनि आफ्नो देशमा रोक्ने गर्छ । ज–जसलाई ब्राजिलले रोक्छ उनीहरूलाई पहिले नै ‘शरणार्थी हुँ’ भन्न मानव तस्करले नै सिकाएका हुन्छन् ।
शरणार्थीको लफडा चलिरहेका बेला मानव तस्करले उनीहरूलाई पुनः सम्पर्क गरी अमेरिकाको यात्रामा अघि बढाउने गरेको यसरी अमेरिका पुग्नेहरूले बताउने गरेका छन् ।
साओ पाउलोमा अलपत्र परेका नेपाली, भारतीय र भियतनामीहरूलाई खाना र बस्न राम्रो व्यवस्था नभएको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । उनीहरूले शुद्ध पिउने पानी पनि पर्याप्त नपाएको जनाइएको छ ।
“दक्षिण अमेरिकाका ब्राजिललगायतका मुलुक हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरूमा आउने प्रवृत्ति बढ्दो छ,” राजदूत काफ्लेले भने ।
संगठित रुपमा संचालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाट युवाहरू ब्राजिललगायतका देशमा पुग्ने गरेको उनले बताए ।
यसरी अवैध तरिकाले अमेरिका जानेहरू प्रत्येकले मानव तस्करलाई कम्तीमा ८० लाख रुपैयाँ बुझाउने गरेको जानेहरू नै बताउने गर्छन् ।
मानव तस्करले नेपालीलाई सुरुमा काठमाडौंबाट भारत तथा युनाइटेड अरब इमिरेट् (यूएई) पु¥याउने गर्छन् ।
त्यसपछि ब्राजिल तथा बोलिभिया पु¥याउने गर्छन् ।
पछिल्ला समय केहीलाई यूएईबाट अफ्रिकी राष्ट्र हुँदै ब्राजिल तथा बोलिभिया पनि पु¥याउने गरेका छन् ।
मानव तस्करले ब्राजिलबाट बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका छिराउने गरेको पाइन्छ ।
ब्राजिलदेखि अमेरिकासम्मको यात्रामा अकल्पनीय पीडा बेहोर्नुपर्ने हुँदा केहीको यात्राका क्रममा बाटोमै मृत्यु हुने गर्छ ।
सन् २०२४ को जुलाइमा पनि साओ पाउलो पुगेका ४०० जना नेपाली र भारतीयले आफूहरू शरणार्थी भएको दाबी गरेका थिए ।
त्यसपछि उनीहरूलाई ब्राजिलको अध्यागमनले नियन्त्रणमा लिएको थियो ।
नेपालमा न हिंसा छ न कुनै अस्थिरता नै । तैपनि मानव तस्करको प्रलोभनमा परी अमेरिका जानेहरू ब्राजिलमा पुगी आफूहरू शरणार्थी भएको दाबी गर्ने गरेका छन् ।
ब्राजिलको न्याय तथा सामाजिक सुरक्षा मन्त्रालयको तयार पारेको ‘रिफ्युजी इन नम्बर्स, २०२४’ प्रतिवेदनमा सन् २०२३ मा ब्राजिलमा शरणार्थीको हैसियत माग गर्ने छैटौं ठूलो संख्या नेपाली भएको देखाएको छ ।
यो प्रतिवेदनले प्रत्येक वर्ष कति ठूलो संख्यामा नेपालीहरू अवैध तरिकाले ज्यान जोखिममा राखेर अमेरिका जाने गर्छन् भन्ने स्पष्ट देखाएको छ ।
प्रतिवेदन अनुसार, सन् २०२३ मा ५८ हजार ६२८ जनाले विदेशीले ब्राजिलमा शरणार्थीको हैसियत प्रदान गर्न भन्दै आवेदन दिएका थिए ।
उक्त वर्ष यसरी आवेदन दिने नेपालीको संख्या ९६६ रहेको थियो, जुन संख्या ब्राजिलमा शरणार्थीको हैसियत माग्ने भारतीय, चिनियाँ र बंगलादेशीकोभन्दा बढी हो ।
सन् २०२३ मा भेनेजुयलाका २९ हजार ४६७, क्युबाका ११ हजार ४७९, एङ्गोलाका ३ हजार ९५७, भियतनामका १ हजार १४२, कोलम्बीयाका १ हजार ४५, नेपालका ९६६, भारतका ९६१, चीनका ८१८, मोरक्कोका ४८७, गुयनाका ४४१, लेबनानका ४०७, पेरुका ३७३, नाइजेरियाका ३६५, बंगलादेशका ३४०, घानाका २७० र अन्य देशका ६ हजार ११० जनाले ब्राजिलमा शरणार्थीको माग गरेका थिए ।
“नेपालबाट शरणार्थीका लागि आवेदन दिनेमा ७.३ प्रतिशत महिला छन्,” प्रतिवेदनमा भनिएको छ ।
सन् २०२३ मा ब्राजिलमा शरणार्थीको हैसियत माग्ने नेपालीमा १२ देखि १८ वर्षका ६० जना, १९ देखि २४ वर्षका ३५९ जना र २५ देखि ३९ वर्षका ५४८ जना रहेका थिए । “यसवर्ष ब्राजिल आई शरणार्थीको स्टाटस माग गर्ने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ,” राजदूत काफ्लेले भने ।
ब्राजिलको न्याय तथा सामाजिक सुरक्षा मन्त्रालयको तयार पारेको ‘रिफ्युजी इन नम्बर्स, २०२२’ प्रतिवेदनमा सन् २०२१ मा ब्राजिलमा शरणार्थीको हैसियत माग गर्ने १८ औं ठूलो संख्या नेपालीको थियो ।
उक्तवर्ष ५५ जना नेपालीले ब्राजिलमा शरणार्थीको हैसियत माग गरेका थिए ।
कोरोना महामारीका कारण अवैध तरिकाले अमेरिका जाने नेपालीको संख्या सन् २०१९ पछि घटेको थियो ।
कोरोनाको प्रभाव घट्दै गएपछि फेरि अवैध तरिकाले अमेरिका जानेको संख्या ह्वात्तै बढेको देखिन्छ ।
ल्याटिन अमेरिकी राष्ट्र हुँदै अवैध तरिकाले अमेरिका जानेहरूमध्ये प्रत्येकले औसतमा मानव तस्करलाई ८० लाख बुझाउने गरेको मान्ने हो भने पनि सन् २०२३ मा ब्राजिलमा शरणार्थीको हैसियत माग्ने नेपालीले मात्र तस्करलाई पौने ८ अर्ब रुपैयाँ बुझाएको देखिन्छ ।