site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया कहाँ अड्कियो ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कार्यकारी अध्यक्षबिहिन हुँदै गुज्रिरहेको छ । यसरी बोर्डमा कार्यकारी अध्यक्ष नभएको साढे सात महिना बितिसकेको छ । कामचलाउ अध्यक्षका रूपमा अर्थ मन्त्रालयका प्रतिनिधि तथा बोर्ड सदस्य महेश बरालले नेतृत्व गरिरहेका छन् ।

बोर्डमा कार्यकारी अध्यक्ष नियुक्त नहुँदा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्य अध्यक्ष हुने धितोपत्र ऐनमा व्यवस्था छ । यही व्यवस्था अनुसार, बराल बोर्डका कामचलाउ अध्यक्ष हुन् । उनलाई उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले साउन ३ गते बोर्ड सदस्यमा नियुक्त गरेका हुन् ।

अर्थ मन्त्रालयबाट सदस्य बन्दै बोर्ड चलाउने उनी पहिलो व्यक्ति होइनन् । गत पुस २० गते बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमाल बाहिरिएपछि तीन जना कामचलाउ अध्यक्ष भइसकेका छन् । अध्यक्ष नभएपछि अर्थ मन्त्रलायका सह–सचिव रितेश शाक्य, नरेन्द्रकुमार राना त्यो जिम्मेवारीमा रहेका थिए ।

अर्थ मन्त्रालयका सह–सचिवले नेतृत्व गर्दा धितोपत्र बजारको नियमन गर्नुपर्ने बोर्ड अर्थ मन्त्रालयको एउटा महाशाखा जस्तो बन्न पुगेको छ ।

उनीहरू अध्यक्ष हुँदा बजारमा सकारात्मक तथा नकारात्मक असर पार्ने खालका निर्णय भने गर्न सकेनन् । बोर्डमा ३४ कम्पनीले प्राथमिक सेयर (आईपीओ) निस्कासनका लागि आवेदन दिएका छन् । कार्यकारी अध्यक्ष नहुँदा ती कम्पनीका आईपीओ जारी हुन सकेका छैनन् ।

यसका साथै ऋणपत्र, हकप्रद, म्युचुअल फण्ड तथा थप सेयर (एफपीओ) पनि थाँतिमा परेका छन् । नेपाल बिमा प्राधिकरणले चुक्ता पुँजी पु¥याउन हकप्रद सेयर जारी गर्न स्वीकृत दिएका बिमा कम्पनीहरू पनि बोर्डको अध्यक्षकै पर्खाइमा छन् । 

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतको पालामा धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि छनोट समिति बनेको थियो । उक्त समितिमा रहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ बाहिरिएपछि बोर्डको अध्यक्ष नियुक्त कसरी गर्ने भन्ने अन्योलता सिर्जना भएको अवस्था छ ।

उक्त समितिले बोर्ड अध्यक्षका लागि अगाडि बढाएका सबै प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया सुरु गर्न सरकारसँग आग्रह गरेको थियो । समितिले अध्यक्षका लागि आवेदन खुला गरेर प्रक्रिया अगाडि बढाएको थियो । तर, अन्तिममा दुई जना मात्र प्रस्तुतिकरण र अन्तर्वार्तामा उपस्थित भएपछि समस्या परेको थियो । धितोपत्र ऐनमा अध्यक्षका लागि तीन जनाको नाम समितिले सरकारसामु सिफारिस गर्नुपर्ने व्यवस्था भएपछि समिति अन्योलमा परेको थियो ।

त्यसपछि समितिले महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेको थियो । महान्यायाधिवक्ताको कार्यालयले धितोपत्र ऐनमा भएको व्यवस्था अनुसार काम अगाडि बढाउनू भनेपछि समितिका तीन सदस्यहरूबीचमा नै ध्रुवीकरण भएको थियो ।

संयोजक श्रेष्ठ र विज्ञ सदस्य उदय निरौला एकातिर थिए भने तत्कालीन अर्थ सचिव मधुकुमार मरासिनी विपक्षमा रहे । उनले मन्त्रिपरिषद्मा दुई जनाको नाम ऐनबमोजिम सिफारिस गर्न नहुने राय राखेका थिए ।

त्यसपछि यो समितिले बोर्ड अध्यक्ष प्रक्रिया रद्द गरेको थियो । यसरी प्रक्रिया रद्द गरेपछि अन्तर्वार्ता र प्रस्तुतिकरणमा सहभागी भएका सन्तोषनारायण श्रेष्ठले सर्वोच्चमा रिट दर्ता गरेका थिए । सर्वाेच्चले ‘कारण देखाऊ आदेश’ जारी गर्दै हाललाई प्रक्रिया नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

यत्तिकैमा सरकार परिवर्तन भयो । समितिमा रहेका संयोजक र सदस्यहरू छिन्नभिन्न भए । अब कसरी यो प्रक्रिया अगाडि बढाउने भन्ने अन्योलता सिर्जना भएको छ ।

यो मुद्दाको पेशी तारेख आउँदो माघ ३० गतेका निम्ति तोकेको छ । यसबीचमा सरकारले बोर्ड अध्यक्ष नियुक्त गर्नुपर्ने हो । अर्थमन्त्री पौडेलले पनि बोर्डको अध्यक्ष छनोट ऐन, नियम र कानुनसम्मत् ढंगले गर्ने भन्दै आएका छन् ।

यो मुद्दाको पेशी माघ अन्तिममा हुने भएपछि यो बीचमा के हुन्छ भनी जिज्ञासा राख्दा सरकारले यसको विषयमा निर्णय लिन सक्ने अर्थ मन्त्रालय स्रोत बताउँछ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विघटन भएसँगै हाल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी छन् । अधिकारी सरकारले निर्णय नगरी पुरानो समिति अनुसार काम नहुने बताउँछन् । उनी भन्छन्, ‘‘यो मुद्दा अदालतमा भएकाले यसै गरिहाल्ने भन्न सकिने स्थिति छैन ।’’

बोर्ड सदस्य समितिले पाँच जनाको नाम ‘सर्टलिस्ट’मा निकालेर व्यवसायिक प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि बोलाएको थियो । अन्तर्वार्ता र व्यावसायिक प्रस्तुतिकरणमा सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ सहभागी भएका थिए ।

तर, सर्टलिस्टमा परेका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की, बिमा प्राधिकरण (तत्कालीन बिमा समिति)का अध्यक्ष चिरञ्जिवी चापागाईं र नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी भने अन्तर्वार्ता र व्यावसायिक प्रस्तुतिकरणमा सहभागी भएनन् । उनीहरूले गर्दा नै यो प्रक्रिया अस्तव्यस्त भएको थियो ।  

उनीहरू उपस्थित नभएपछि बोर्ड अध्यक्ष सिफारिस समितिले पुनः सूचना जारी गरी अर्काे दिन बोलायो । समितिले बोलाएको दोस्रो दिन पनि तीनै उमेदवारले उपस्थिति जनाएनन् ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ अनुसार, समितिले योग्य तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिश गर्न सक्थ्यो । तर, दुई जना मात्र अन्तर्वार्ता र व्यवसायिक प्रस्तुतिकरणमा उपस्थित भएपछि समस्या पैदा भएको हो ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro