काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनेक प्रकारका शक्तिले राष्ट्रिय एकता भाँड्न खोजेको बताएका छन् । सोमबार च्यासलमा आयोजित नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको तेस्रो बैठकमा ओलीले सरकार, देश असफल पार्न खोज्नेहरू हुन सक्ने भन्दै त्यसविरुद्ध बोल्न आग्रह गरे ।
“हामी राष्ट्रिय एकताको पक्षमा छौँ । अनेक प्रकारका शक्तिहरूले विभिन्न नाममा राष्ट्रिय एकता भाँड्न खोज्छन् । जनता–जनताकाबीचमा सङ्कीर्ण साम्प्रदायिक कुराहरू गर्न सक्छन् । र, धर्म, जात, भाषा, संस्कृतिका नाममा कहाँकहाँ भिन्नता भेटिन्छ, त्यसलाई दुरुपयोग गरेर पारस्परिक घृणाको विषय बनाउन सक्छन्,” ओलीले भने ।
उनले भिन्नतालाई कुरूप हुन दिन नहुने बताए । विविधतालाई दुरुपयोग हुन दिन नहुने ओलीको भनाइ छ ।
“यसलाई दुरुपयोग हुन दिनुहुँदैन । राष्ट्र , जनताको मन विखण्डित दिनुहुँदैन,” उनले भने । उनले खेलाडीमा जातको प्रतिनिधित्व भन्दा पनि खेलको प्रतिनिधित्व हुनुपर्ने पनि बताए ।