site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
साढे ३६ लाख स्मार्ट लाइसेन्स छपाइ, प्रयोगमा आएन ‘स्मार्टनेस’
फाइल तस्बिर ।

काठमाडौं । यातायात व्यवस्था विभागले हालसम्म करिब साढे ३६ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ । सरकारले ०७० साल असोजमा भारतको मद्रास सेक्युरिटी प्रिन्टर्ससँग स्मार्ट लाइसेन्स छाप्ने सम्झौता गरेको थियो ।

मद्रास सेक्युरिटीले नै नेपाली लाइसेन्सको अनलाइनदेखि प्रिन्टिङसम्मको सबै प्रणाली उपलब्ध गराएको छ । सवारी दर्ता प्रणाली पनि उसकै छ । हालसम्म ३६ लाख ५३ हजार ८०० भन्दा बढी स्मार्ट लाइसेन्स कार्ड छापिएको विभागले जनाएको छ ।

१६ लाख कार्ड छाप्न बाँकी
अझै करिब १६ लाख लाइसेन्स छाप्न बाँकी रहेको विभागका महानिर्देशक उद्ववप्रसाद रिजालले बताए । दैनिक चार हजार नयाँ लाइसेन्सको माग थपिँदै गएको उनले जानकारी दिए । हाल विभागसँग छाप्न बाँकी करिब १२ लाख कार्ड उपलब्ध छ ।

विभागसँग रहेको मेसिनले तीन ‘सिफ्ट’मा काम गर्दा दैनिक सात हजार लाइसेन्स छाप्न सक्छ । हाल दैनिक क्षमताअनुसार नै लाइसेन्स छापिरहेको विभागले जनाएको छ ।

वैदेशिक रोजगारी, अध्ययनमा जाने विद्यार्थी र एनआरएनए एवं ‘पिस किपिङ मिसन’मा जानेका निम्ति दैनिक करिब ३०० सम्म ‘अर्जेन्ट प्रिन्ट’को व्यवस्था विभागले गरेको छ ।

स्मार्ट लाइसेन्सको ‘स्मार्टनेस’ प्रयोग भएन
विभागले स्मार्ट लाइसेन्स ल्याउने बेला नक्कली लाइसेन्सबाट जोगिन सकिने र अन्तर्राष्ट्रियस्तरको बन्ने जिकिर गरेको थियो । स्मार्ट लाइसेन्सको कार्डमा चिप रहने र त्यसलाई ‘रिड’गर्न सक्ने मेसिनबाट जाँच्दा सक्कली भए/नभएको पुष्टि हुने भनिएको छ ।

तर, विभागले उपलब्ध गराएको स्मार्ट लाइसेन्सको ‘स्मार्टनेस’ ट्राफिक प्रहरीले चेकजाँच गरेको देखिँदैन । स्मार्ट लाइसेन्सजस्तै नक्कली कार्ड पनि छापिने स्थिति बनिसकेको छ ।

यो योजना अघि बढाउने बेला दाबी गरिएजस्तो ट्राफिक प्रहरी र अरू कार्यालयमा स्मार्ट लाइसेन्स ‘रिड’ गर्ने मेसिनको प्रयोग गरिएको छैन । विभागले २०० भन्दा बढी स्मार्ट लाइसेन्स रिड गर्ने मेसिन ल्याएको थियो । विभागले ती मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिसकेको छ । तर, चेकजाँचका क्रममा वा सामान्यतया प्रहरीले यसको प्रयोग गरेको देखिँदैन ।

यसरी अर्बाैँ रुपैयाँको स्मार्ट लाइसेन्स छपाइ योजनाको उद्देश्य पूरा नभएको देखिन्छ । कागजी लाइसेन्सको तुलनामा आधुनिक भए पनि चिपजडित भनेर यो महँगो पारिएको थियो । तर, यसमा राखिएको चिप प्रयोगमै नल्याइँदा राज्यलाई आर्थिक भार मात्र थपिएको देखिन्छ ।

मागानुसार नछापिँदा अब प्रदेशहरूले नै सस्तो डिजिटल लाइसेन्स छाप्ने तयारी गरेका छन् । अर्कातिर, सरकारले लाइसेन्सलाई राष्ट्रिय परिचयपत्रमै आबद्ध गर्ने योजना बनाएको छ । राष्ट्रिय परिचयपत्रमा सवारीचालक अनुमतिपत्रको आबद्धता भए स्मार्ट लाइसेन्सको औचित्य र प्रयोगमा ल्याइनुको उपलब्धि अझै कम हुने देखिन्छ ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro