site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले विराटनगर कमिटीमा ‘स्पष्टीकरण’ आतंक, वडाध्यक्षले च्यातिदिए सचिवको पत्र

विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटीका सचिव रोहित कोइरालाले वडा नं ५ का अध्यक्ष राजेश गिरीलाई साउन १६ गते सचेत गराइएको पत्र पठाए । पत्रको भाषा अपमानजनक र पार्टी नीतिविपरीत भएको भन्दै गिरीले त्यसको प्रतिवाद गरे । उनी ‘आफन्तको मरिमराउमा सहभागी हुन गएकै दिन डाकिएको’ बैठकमा अनुपस्थित थिए । 

पार्टीका जिल्ला अध्यक्ष बाबुराम कार्की र सचिव रविन थापा उपस्थित बैठकमा अनुपस्थित भएको भन्दै कोइरालाले ‘नियतबस उपस्थित नभएको पइएकोले अब आइन्दा यस्ता क्रियाकलाप सचेत गराउँदै दुई दिनभित्र लिखित पत्र पठाउन’ निर्देशन दिएका थिए ।  

बैठकमा अनुपस्थित भएको कारण देखाएर कोइरालाले ‘दुई दिनभित्र लिखित जवाफ दिन निर्देशन’ दिएका थिए । तर, गिरीले चिठीको जवाफ दिएनन् । उनले पार्टी कार्यालय पाञ्चाली पुगेर जिल्ला इञ्चार्ज, पार्टीका जिल्ला अध्यक्ष र महानगर कमिटी कोइराला सहभागी छलफलमै चिठी च्याति दिए ।

Argakhachi Cement Island Ad

“पार्टी विधि विधानविपरीत एकपटक त्यसमा पनि परिस्थितिजन्य कारण अनुपस्थित हुँदा स्पष्टीकरण सोध्नै मिल्दैन,” गिरीले भने, “मलाई कुन विधि प्रक्रियाअनुसार चिठी काटेको हो भन्दै सचिवकै अगाडि चिठी च्यातेर फ्याकिदिएँ । जिल्ला अध्यक्ष बाबुराम कार्की, इन्चार्ज तथा केन्द्रीय सदस्य जीवन घिमिरे पनि छलफलमा हुनुहुन्थ्यो ।” 

महानगरले अपमानजनक ढंगले पत्र पठाएर गलत गरेको र यसबारे आफूसँग छलफल नगरेको इन्चार्ज घिमिरेले बताउँदै स्पष्टीकरण दिइरहनु नपर्ने बताएका थिए ।  

आफ्नो ‘अनुकूलको मानिस भएन’ भनेर अहिले महानगर कमिटीका सचिवसहितका नेताले ‘कारबाही आतंक मच्चाएको’ उनले सुनाए । तीनवटा बैठकमा अनुपस्थित भए स्पष्टीकरण सोध्न सकिने र त्यसबारे पार्टीलाई जानकारी गराउनुपर्ने एमाले विधानमा रहेको गिरीले सुनाए । 

महानगर कमिटीका सचिवले वडा नं ५ का राजेश गिरी, वडा नं १२ का भानुभक्त पाठक, वडा नं ९ का अन्ताज आलम र १० का गोविन्द ढुंगानालाई चिठी पठाएका थिए । तीमध्ये वडा नं ९ र १० का अध्यक्षले भने सामान्य स्पष्टीकरण बुझाएका छन् ।

एमाले महानगर कमिटीमा कारबाही र स्पष्टीकरणको श्रृंखला भने विराटनगर–३ स्थित मानगढ खानेपानी समितिको निर्वाचनबाट सुरु भएको हो । त्यो निर्वाचनमा महानगर कमिटीका अध्यक्ष सागर थापाले ‘पार्टीले लाइन दिएकाभन्दा फरक उमेदवारलाई सघाएको’ भन्दै पार्टी जिल्ला कमिटीले ‘पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेको’ घोषणा गरेयता झन् बढेको हो । 

एमाले मोरङका निवर्तमान अध्यक्ष ऋशिकेष पोख्रेलले अघि सारेको उमेदवारलाई स्वीकार नगरेर फरक व्यक्तिलाई उमेदवार बनाएको थापामाथि आरोप छ । उनीसँगै उपसचिव नवराज नेपाल र विराटनगर ३ नम्बर वडा कमिटी अध्यक्ष लालमणि भट्टराईलाई कारबाही गरिएको छ ।  

यसबारे छानबिन गर्न एमाले मोरङकी उपसचिव शान्ति भुजेलको संयोजकत्वमा रविन थापा र काजीबहादुर बस्नेत सदस्य रहेको समिति गठन भएको थियो । समितिले कारबाही गर्न सिफारिस गरेको थियो । तर, बस्नेतले भने फरक मत राख्दै निर्णयमा हस्ताक्षर गरेनन् ।

गत असार १७ गते बसेको प्रदेश कमिटी बैठकले प्रदेश सचिव राजकुमार भण्डारीको नेतृत्वमा छानबिन समिति बनाएको थियो । शनिबार बसेको एमाले मोरङको संगठन कमिटी पदाधिकारी बैठकले महानगर कमिटी अध्यक्ष थापालाई गरेको कारबाहीलाई अनुमोदन गर्ने निर्णय गरेको थियो । 

पदाधिकारी बैठकमा समेत थापालाई कारबाहीको सिफारिस गर्नेको बहुमत छ । सिफारिस समितिका संयोजक शान्ति भुजेल संगठन कमिटीका उपाध्यक्ष हुन् भने सदस्य रविन थापा सचिव हुन् । जिल्ला संगठन कमिटीका अध्यक्ष कार्की पनि थापाका विपक्षमा छन् । पदाधिकारीमा उपसचिहरू सन्तोष साह र सोम थापा छन् । थापा र साह दुवै यस प्रकरणमा मौन छन् । एमाले महानगर कमिटीमा नेता पर्शुराम बस्नेत र सागर थापा गुटबीच विवाद रहँदै आएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्