site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
SkywellSkywell
यो नेपाली शिर उचाली विदेशतिर लम्किन्छ !

हामी सानै हुँदा पाठशालामा राष्ट्रिय गान गाउन लगाइन्थ्यो – ‘यो नेपाली शिर उचाली संसारमा लम्किन्छ,
जुनकीरी झैं ज्योति बाली अन्धकारमा चम्किन्छ ।’

यसको रचना भएको साठी सत्तरी वर्ष नाघेको हुनुपर्छ । तर, समय र परिस्थिति फेरिँदै जाँदा आज नेपाली जनताले शिर उचालेर संसारमा चम्किने र लम्किने कुरा त छाडौँ तथापि शिर उचालेरै भए पनि आफूलाई बेच्न बाध्य भएका छन् ।

कहीँ वैदेशिक रोजगारीका नाममा त कहीँ भाडाका सेना र 'भुटानी' शरणार्थीका नाममा विदेश भास्सिन बाध्य छन् नेपाली जनता । अबको समयमा नेपालीले सम्भवतः हिजोका दिनमा कमाएको इमानदारी, बहादुरी र जुझारुपनको विशेषणले शिर ठाडो पार्ने दिन गइसकेको अनुभूति हुन्छ ।

Dabur Nepal
NIC Asia

वर्तमान अवस्थामा मुलुकमा रोजगारी, पेसाको अभावमा, आयस्रोत नहुँदा आफ्नो र परिवारको पेट पाल्न पुर्खाको इज्जतलाई धान्न सक्ने दिन अब नेपालीका क्षमताभन्दा बाहिर गएको छ । संसारमा बँधुवा मजदुरी, दासदासीजस्ता शोषणपूर्ण कार्य कानुनद्वारा वर्जित छन् । तर, अहिले पनि वैदेशिक रोजगार वा भाडाका सेनाका छद्म नाममा लड्न र मर्न बाध्य छन् नेपाली ।

घरको मुलीले घर व्यवहारमा दह्रोसँग खुट्टा नटेकी दिएपछि परिवार भताभुङ्ग र लथालिङ्ग हुनु स्वाभाविक हो । सिङ्गो राष्ट्र पनि एउटा परिवार नै हो । सामान्यभन्दा सामान्य परिवारले पनि परिवारको हैसियत, इज्जत, इमान, सम्मान कायम गर्न नियममा चल्नुपर्ने हुन्छ । झन् राष्ट्रको हकमा त संविधान र हज्जारौंको सङ्ख्यामा बनेका कानुन र नियमले खडा गरेको शासनरुपी रेल्वेको फलामे पटरी वा लिकबाटै गुज्रिनुपर्ने हुन्छ । यथार्थमा असल परिपक्व अभिभावक परिवारभित्र नियमसंगत चलेमा मात्र परिवार सुखी र खुसी रहन सक्छ । जब कसैलाई लाखा, कसैलाई पाखा, भेदभाव, विभेद गरिन्छ अनि बेथिति सुरु हुन्छ ।

अविभावक नै जँड्याहा, भङ्ज्याहा, जुवाडी, फोहोरी, लोभी, भ्रष्ट्राचारी, पापाचारी, दुराचारी भइदिएपछि परिवारको अस्तित्वमा नै प्रश्न उठ्नु स्वाभाविक हुन्छ । आधुनिक युगमा एउटा राज्यको सञ्चालनका निम्ति विधिको शासन र असल शासन र अनुशासनमा जोड दिँदै आएको देखिएको छ । नेपालमा देखिएका बेथिति तिनै कुरा स्थापित गर्न नसक्नुको कारण पनि हो ।

केही दिन पहिले दुईवटा बस पहिरोमा परेर त्रिशुलीमा खसे । करीब साठ्ठी जना यात्रुले ज्यान गुमाए । त्यसपछि सौर्य एयरलाइन्सको जहाज उड्ने क्रममा त्रिभुवन विमानस्थलमा नै खस्यो । त्यस दुर्घटनामा हवाई प्राविधिकको एउटा समूहको नै इहलिला समाप्त भयो ।

यसरी अठार जनाको ज्यान गएकोमा दैवसंयोग एकजना पाइलट बाँच्न सकेका छन् । विमानस्थलभित्रै भएको दुर्घटनामा विमानभित्र बसेकाहरूको जीवित उद्धार गर्ने बर्गत, क्षमता हामीकहाँ देखा पर्न नसक्नु एउटा गम्भीर सवाल हो । अर्को कुरा, पटकपटक यही प्रकृतिको दुर्घटना हुँदा पनि हामी सचेत बन्न नसक्दा गम्भीर प्रश्न उठनु स्वाभाविक हो ।

नेपालीहरूको भाग्यमै उड्दा पनि मर्नै पर्ने गुड्दा पनि मरिनेजस्तो देखिन्छ । यात्राको क्रममा मर्नु त एक प्रकारले सामान्य सत्य सरह नै भएको छ । बरु यात्रामा बाँचेर फर्केर आए अहोभाग्य हुनेजस्तै पो भयो । हवाई वा मोटरगाडीको लामो यात्रा अबका दिनहरूमा गरिँदा परिवारको मूली सदस्यहरूले भर्सक अन्य सदस्यहरूलाई आफ्नो राखनधरन लेनदेन कारोबार यावत कुराको जानकारी दिएर ताला साँचो बुझाएर यात्रा गरेमा उचित हुनेजस्तो देखिन्छ । अझ बढी उपयुक्त त सम्पत्तिको भागबण्डा शेषपछिको बकसपत्र सबै कानुनी प्रक्रिया मिलाएरै गए झन् बेस !

सौर्य एयरलाइन्सका कर्मचारीहरूसमेतको दुःखद अवसानमा सरकारले सायद तिनका स्वजनलाई आश्वस्त बनाउन होला राष्ट्रिय झन्डा आधा झुकाएरै भए पनि राष्ट्रिय शोक प्रकट गर्ने योजना बनाएको थियो । तर, त्यो पनि विवादित बन्यो । दुर्घटनामा त्यो हदसम्मको समवेदना प्रकट गर्न तयार हुने सरकारबाट सोही सरहको अन्य दुर्घटनामा मारिएकाहरूको हकमा झन्डा नझुकाई पक्षपात गरियो भनेर आलोचना भयो ।

जेहोस्, दुर्घटनाले मृतकका परिवार र स्वजनलाई आजन्म चोट पुगेको छ । मृतकको मातापिता, सन्तान आफन्तहरूलाई मर्माहत बनाएको छ र बाँचुन्जेललाई नबिर्सने घाउ तिनलाई लागेको छ ।

मृतकका परिवारमा कतिपयको निम्ति आयको स्रोत नै बन्द हुन गयो । कतिको भविष्य नै अन्धकार बन्न पुगेको छ । कसैको पूरै परिवार समाप्त भएको छ । यसरी त परिवारहरूको हकमा यो घटनाले जति प्रहार गरेको छ त्यो अकल्पनीय र अकथनीय छ । समाज छरछिमेकीहरूले दिनहुँ देखिरहेको मानिसहरूलाई एकाएक बिर्सनुपर्ने बाध्यता भयो ।

सरकारले ती अकालमा मारिएकाहरूको नाममा झन्डा आधा वा पूरा झुकाओस् वा नझुकाओस् त्यो तपसिलको कुरा हो तर दुर्घटनापछि सबै नेपालीको शिर स्वतः झुकेका छन् ।

यो अकल्पनीय र अकथनीय सामूहिक मृत्युको पीडाले गर्दा यसरी धेरै समयसम्म शिर नुहिरहनेछ । प्रत्येक कार्यालयमा कार्यरत कर्मचारी, प्रत्येक सडकमा हिँड्ने यात्रु वा कुनै पनि साधारण मानिसहरूलाई पीडा दिएको छ । प्रष्ट शब्दमा भन्ने हो भने कोही केही बोल्न चाहिरहेका देखिएका थिएनन् । मानिसहरू एक प्रकारले लामो समय सम्म निःशब्द देखिए ।

सौर्य एयरलाइन्सको दुर्घटनापछि मुलुकबासीको शिर झुक्यो । अन्तर्राष्ट्रिय क्षेत्रबाट आएका नकारात्मक समाचारहरूले प्रायःजसो नेपालको त्रिभुवन विमानस्थललाई मृत्युको थलो वा यात्रुहरूको चिहानका रूपमा चित्रित गरी दिएको कारण पनि नेपालीको शिर झुकेको हो ।

कुनै पनि विमानको किन दुर्घटना हुन्छ ? किन निर्दोष यात्रीहरू मृत्युको मुखमा पुग्छन् ? यो विषय मानिसको सामान्य तर्कले निर्क्योल गर्ने विषय निश्चय नै होइन । किनभने यो प्राविधिक विषय हो जुन आममानिसको ज्ञानको क्षमताभन्दा बाहिरको विषय ठहरिन्छ । यसको जवाफ निश्चय नै त्यस सम्बन्धमा जानकारी राख्ने विशषज्ञहरूले जाँच र अध्ययन अनुसन्धान गरेपछि मात्र दिन सक्छन् ।

कहिलेकाहीँ नयाँ जहाज पनि उडेको केही समयमै दुर्घटनाग्रस्त भएका उदाहरण छन् भने कहिलेकाहीँ पुराना मिति पुगेका खसेका छन् ।

सन् २०१४ मा मलेसियाको क्वालालम्पुरबाट बेइजिङका लागि उडेको एमएच ३७० उडान नम्बरको जहाज आजसम्म फेला परेको छैन । जहाज मानिसले निर्माण गरेको मेमिनरी वस्तु हो । संसारमा टायटानिक नामको पानी जहाज पनि प्रथम पटक यात्रुहरू लिएर तैरिएको दिन नै समुद्रमा दुर्घटनाग्रस्त भएको थियो ।

मेसिनरी सामानमा यसै हुन्छ भनी भन्न सकिन्न । तर, अरू मुलुकमा तुलनात्मकरूपमा हवाई दुर्घटना कम हुने तर नेपालमा भने सन् १९४६ देखि सन २०२४ सम्म आउँदा घरेलु क्षेत्रभित्र मात्र करिब ६० वटा जहाज दुर्घटना भएको छ ।

अन्तर्राष्ट्रिय उडानको सातवटा दुर्घटना भएको देखिन्छ । हेलिकप्टरहरूको त कुरा नै छाडौँ । करीब ३४ पटक दुर्घटना भएको देखिन्छ । यति सानो मुलुकमा यति समयमा यति धेरै दुर्घटना हुनु र अकालमा हजारौं जना मारिनु सामान्य कुरा होइन ।

नेपालमा हवाई दुर्घटना यति धेरै किन हुन्छ ? यसबारे सुसुचित हुने अधिकार जनतालाई छ । साथै ती स्वजनहरू अकालमा किन मर्न विवश भए भन्ने जानकारी पाउने अधिकार मृतकका परिवार र आफन्तलाई पनि छ ।

किन नेपालमा अन्य मुलुकको तुलनामा यति धेरै दुर्घटना भइरहेका छन् ? किन बसमा यात्र गर्ने यात्रुहरू सुरक्षित छैनन् ? यो कुराको सुसुचित हुने हक नागरिकलाई छ । यात्रा गर्ने कुनै पनि साधन नेपालमा असुरक्षित छ भने मानिसहरू जीवन जोखिममा राखेर मृत्युको लागि मूल्य तिरेर किन यात्रा गरुन् ?

नेपालको हवाई यात्रा जोखिममपूर्ण भएको कारण अधिकांश नेपाली पाइलटहरू रोजगारीका निम्ति मुलुक छाडेर विदेशिने पक्षमा देखिन्छन्, लगातार गइरहेका पनि छन् । सन्तानलाई पाइलट पढाउनु मृत्युको मुखमाजस्तै हो भन्ने धारणा बन्दै गएको छ । यस्तै हो भने मानिसले ज्यान जोगाउनैको निम्ति स्वदेशको यात्रा मार्ग छाडेर विदेशी हवाई मार्गको खोजी गर्नुपर्ने हुन सक्छ ।

नेपालमा हर क्षेत्रमा हरसमय लापरबाही भएको पाइन्छ । त्यस्तै कुनै पनि कुरामा कसैमा पनि गम्भीरता देखिँदैन । यसरी सामान्य जनताको ज्यूज्यानलाई जोखिममा पार्नु हुँदैन । यसतर्फ कोही कसैले चिन्ता गरेको पनि पाइँदैन । जब दुर्घटना हुन्छ, सरकारले अनेकौं आश्वासन वितरण गरेको हुन्छ तर व्यवहारमा कुनै पनि कुरा समयमा कार्यान्वयन गरिँदैन । यसरी जनसाधारणको बाँच्ने अधिकारमा नै लापरबाही गरिनु असल कानुनी शासनको संकेत पनि होइन ।

(पूर्व प्रधानन्यायाधीश)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu