site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
र, मैले पुस्तकमा मूल्य राख्न छोडेँ 

(रौतहटको चन्द्रपुर (चन्द्रनिगाहपुर)का स्थायी वासिन्दा माधव काफ्ले विगत साढे तीन दशकदेखि लेखनमा सक्रिय छन् । ‘खुशीको पिरो धुवाँ’, ‘लाक्षागृह’, ‘जाहिरा’सहित आधा दर्जन कृति पाठकसामु ल्याइसकेका काफ्लेको पछिल्लो पुस्तक हो, ‘अनागत अन्तरा’ । कविता, गजल, मुक्तक कथा हुँदै उनी निबन्धमा अग्रसर भएका हुन् । र, आज निबन्धमा दरिइसकेका छन् । बसाइँ सर्दै रामेछापबाट चन्द्रपुर आइपुगेका काफ्लेले केही समय भारतको कलकत्ता (हाल कोलकाता)मा बिताए । त्यहीँ उनी बंगाली र उर्दु भाषासाहित्यसँग नजिक भए । उतै हुँदा साहित्यिक कर्ममा होमिए । तत्कालीन समयमा उनले उर्दु र हिन्दीमा लेखेका रचना ‘कादम्बिनी’लगायत थुप्रै पत्रपत्रिकामा प्रकाशित छन् । चन्द्रपुर फर्किएपछि शिक्षण पेसामा संलग्न उनले नेपालीमा पनि कविता, कथा, निबन्ध र संस्मरण लेखेर प्रकाशित गर्न थालेका हुन् । प्रस्तुत छ, उनै काफ्लेसँग बाह्रखरीका राजेश खनालले गरेको कुराकानीको सम्पादित अंश ।)

तपाईं निबन्ध धेरै लेख्नुहुन्छ !  
मैले चाख्न त सबै विधालाई चाखेको छु, धेरैपछि मात्र म निबन्धमा आएको हुँ ।

निबन्ध नै किन ?
विशेष गरी जीवनका यावत् अनुभूतिहरू प्रस्टयाउन निबन्ध धेरै सजिलो हुने मलाई लाग्यो । अरू विधामा जस्तो प्लटिङ, पात्र, परिवेशहरूमा धेरै माथापच्ची गरिरहनुपर्ने हुँदैन, निबन्धमा । कविता लेखनमा त विशेष दक्खल नै हुनुपर्ने रहेछ ! कविता लेखेँ । लेख्दै गएँ । तर, ममा काव्यात्मक प्रतिभा छैन भन्ने जब अनुभव भयो, कविता छोडेँ र निबन्धमा आइपुगेँ । खासमा विभिन्न विधा हुँदै निबन्धमा आइपुगेको हुँ ।

Dabur Nepal
NIC Asia

सुरुआत कविताबाटै भएको हो ?
हो । प्रारम्भमा कविता नै लेखे । लामो समय लेखेँ । लेखन अभ्यास नै कविताबाट भएको हो भन्दा हुन्छ । तपाईंलाई भनूँ, मैले उर्दु र हिन्दी भाषामा कविता लेख्न थालेर पछि मात्र नेपालीमा लेख्न सुरु गरेको हुँ । गजल, मुक्तकहरू धेरै लेखेँ । ती छापिए पनि । गजल र मुक्तक त मैले उर्दुमा थुप्रै लेखेको छु । सन् १९८०/८१ तिरबाटै लेख्न थालेको भए पनि मेरा कविता सन् १९९० तिरको ‘कादम्बिनी’लगायत हिन्दी पत्रपत्रिकाहरूमा प्रकाशित भएका हुन् । त्यसपछि नेपालीमा कविता, कथा र समालोचना लेखेँ ।

निबन्धचाहिँ कहिलेदेखि लेख्न थाल्नुभयो ?
निबन्ध लेख्ने अभ्यास गरेको चाहिँ २०५१ सालदेखि हो । त्यसताका म वरिष्ठ नियात्राकार निर्मोही व्यासको संसर्गमा थिएँ । मलाई उहाँको प्रभाव पर्‍यो । त्यसबीच अन्य निबन्धकारहरूसँग पनि मेरो सम्पर्क हुँदै गयो ।

यहाँ एउटा प्रसंग उल्लेख गर्नु सान्दर्भिक होला । २०५३ सालमा झरना साहित्य परिवारले मकवानपुरमा एउटा साहित्यिक गोष्ठी गरेको थियो । त्यस कार्यक्रममा साहित्यकारहरू बालकृष्ण पोखरेल, केशव उपाध्याय र श्यामप्रसादलाई सम्मान गरिएको थियो ।

त्यस दिन म पनि दिनभरिजसो बालकृष्ण सरसँगै रहेँ । बेलुका पनि उहाँसँगै बसेँ । बिहान उहाँ काठमाडौं जान हिँड्नुभयो । म चन्द्रपुर फर्किएँ । बस चढ्ने बेला उहाँले आफूसँग भएको पैसा हराएको कुरा गर्नुभएछ । झोलामा खोज्नुभएछ, पाइएन । अनि, उहाँसँग रातभरि म भएकोले ममाथि शंका गरिएछ । काठमाडौं पुगेपछि उहाँले साहित्यकार साम्ब ढकाललाई फोन गरेर ‘पैसा त हराएको रहेनछ, झोलामै रहेछ’ भन्नुभएछ ।

भएको के थियो भने, बालकृष्ण सरले राति सुत्ने बेला ‘माधव बाबु, यो पैसा मेरो झोलामा राखिदिनुस्’ भन्नुभयो । मैले उहाँको झोलामा पैसा राखिदिएँ र माथिबाट उहाँले लगाउने चप्पल कागजमा पोको पारेर राखिदिएँ । चप्पल राखिएको ठाउँमा पैसा सुरक्षित हुन्छ भनेर उहाँले नै भन्नुभएको थियो । मैले पनि भनेअनुसार नै गरिदिएँ ।

पैसा हराएको, खोजी भएको र चोरीको आक्षेप ममाथि लागेको कुरो मलाई थाहा थिएन । २०५४ सालमा कलैयामा आयोजित देवकोटा स्मृतिसभामा मैले यो कुरा थाहा पाएँ । सुनेर भाउन्न भएँ म । मलाई अचम्म लाग्यो, मैले त्यस्तो श्रद्धा गरेको व्यक्तिले ममाथि कसरी आक्षेप लगाउनुभयो ! उहाँ मात्रै नभएर धेरैले ममाथि नै शंका गरेर आक्षेप लगाएका रहेछन् ।

यस प्रसंगले म अत्यन्त छटपटिएँ । उद्वेलित भएँ । र, यसैलाई विषय बनाएर मैले एउटा निबन्ध लेखेँ, ‘या अल्लाह’ शीर्षकमा । त्यो निबन्ध ‘मधुपर्क’मा पठाएको थिएँ, छापियो पनि ।

त्यो शीर्षक राख्नुको कारण के थियो ?
पाकिस्तानका तत्कालीन राजनेता जुल्फीकार अली भुट्टोलाई मृत्युदण्ड दिइँदा ‘अन्तिम इच्छा के छ ?’ भनेर सोधिएछ । उनले ‘या अल्लाह, मुझे माफ करना, मै बेगुनाह हूं’ भनेका रहेछन् । त्यही शब्दलाई सापटी लिएर मैले यो निबन्ध लेखेको थिएँ ।

निबन्धप्रति बालकृष्ण सरको प्रतिक्रिया कस्तो रह्यो ?
हामीबीच धेरै वर्षसम्म मनमुटाव रह्यो । धेरैपछि गएर मात्रै सम्बन्ध सुधारियो । मेरो यही निबन्ध पढेर होला, तारानाथ सरले मलाई ‘तिमी निबन्ध नै लेख’ भन्नुभयो । अझै मलाई निबन्धमा नै लागिरहन ऊर्जा दिने व्यक्ति हुनुहुन्छ, अविनाश श्रेष्ठ । उहाँले ‘एउटा विधामा मात्र परिचय बनाउनुस्’ भन्दै उत्प्रेरित गर्नुभयो । त्यसपछि मैले पनि निबन्ध मात्रै लेख्दै गएँ ।

यस्ता घटना र प्रसंगले निबन्ध लेख्न प्रेरित गर्छ नै, हैन ?
निबन्धभन्दा पनि संस्मरण लेख्न यस्ता घटनाले प्रेरित गर्छ । ऊर्जा पनि दिन्छ । मैले लेख्दाचाहिँ संस्मरण बेग्लै किसिमले र निबन्ध फरक किसिमले लेख्छु । किनभने, यिनमा विधागत भिन्नता छ । रसात्मक एवम् रागात्मक दृष्टिकोणले पनि दुवैको लेखनीलाई फरक पार्छ । निबन्धमा कल्पना, दर्शन र विचारहरू प्रस्तुत हुन्छन् । संस्मरण भने घटना र अनुभूतिप्रधान हुन्छ ।

निबन्धमा स्वैरकल्पना हुन्छ कि हुन्न ?
गज्जबले हुन्छ । पछिल्लो समय मैले निबन्धमा स्वैरकलपना नै समातेर लेख्दै आएको छु ।

आख्यानमा मात्रै स्वैरकल्पना आवश्यक रहन्छ भनिन्छ नि ?
होइन, यो भ्रम हो । स्वैरकल्पनामा निबन्ध जति मिठो हुन्छ, त्यति अरूमा हुँदैन ।

निबन्धमा स्वैरकल्पनाको ऊर्जा के त ?
स्वैरकल्पनाको ऊर्जा त शिल्प चेतना नै हो । तपाईंले घटनालाई कसरी अनुभूत गर्नुहुन्छ, घटना र स्वैरकल्पनालाई कसरी सामाञ्जस्य गराउनुहुन्छ भन्ने नै यसमा महत्त्वपूर्ण हुन्छ ।

समालोचना पनि लेखेका कुरो सुनाउँदै हुनुहुन्थ्यो !
मैले समालोचना पनि लेखेँ । समालोचना धेरै ठाउँमा छापियो पनि । तर, निबन्धतिर लागिसकेपछि समालोचना लेख्न छोडेँ । समालोचना कठिन विधा हो । समालोचना लेखे पनि म नेपाली समालोचनाको परम्परागत शैली र प्रवृत्ति दुवैबाट असन्तुष्ट छु । किनभने, मन परेको लेखकका बारे राम्रोसँग लेखिदिने र मन परेको छैन भने गाली गरिदिने चलन यहाँ छ । त्यसपछि नै मैले समालोचना लेख्दिनँ भनेरै यस विधामा कलम चलाउन छोडेँ ।

मोफसलमा बसेर साहित्य सिर्जना गर्दै आउनुभएको छ, मोफसलका साहित्यकारले ‘प्लेटफर्म’ पाउँदैनन् भन्ने चर्चा बढी गरिन्छ नि !
म यस्तो चर्चा–परिचर्चामा कहिल्यै लागिनँ । मैले त्यहाँ पुग्नुपर्छ अथवा पुग्नु पर्दैन भनेर कहिले सोच्दै सोचिनँ । राम्रा लेख्ने लेखक काठमाडौंमै बसेर पनि उपेक्षित छन् । राजधानीमै रहेका तर राजधानीले चिन्न नसकेका धेरै सर्जकहरू हुनुहुन्छ भने हाम्रो त कुरा के भयो र ! हामीले त अभ्यास गर्ने हो । लेख्दै जाने हो ।

म आफू पछि परेको जस्तो मलाई लाग्दैन । मेरो काम हो सिर्जना गर्ने, म सिर्जना गर्दै हिँडिरहेको छु । म कसैको पछाडि लाग्दिनँ पनि र मलाई कसैले लेख्न कर गरेको पनि छैन । मैले सधैँ स्वान्तः सुखायका लागि लेखेँ । आफ्नो लेखनप्रति म सन्तुष्ट छु ।

तपाईंको निबन्धकृति ‘अनागत अन्तरा’मा मूल्य राख्नु भएन, किन ?
पछिल्लो चरणमा आइसकेपछि किताब बेच्दिनँ भन्ने मलाई लाग्यो र पुस्तकको मूल्य राख्न छोडेँ । किनभने, व्यापार मेरो पेसा होइन । मैले पुस्तक प्रकाशनको भित्री कुरो पनि थाहा पाएँ, कसले कसरी किताब छपाउँछ, कसरी प्रचार गर्छ र कसरी बेच्छ भन्ने । अनि मलाई लाग्यो, मेरा पाठकहरूलाई निचोरेर एउटा विशुद्ध व्यापारीलाई किन पोस्नु ! त्यसैले मैले लेखेको किताब, मेरो विचार, मेरो दृष्टिकोण सिधै पाठकको हातहातमा पुर्‍याउँछु भनेरै मूल्य राखिनँ । अब मेरा सबै प्रकाशन विनामूल्यका नै हुनेछन् ।

अचेल किताबको मूल्य धेरैभन्दा धेरै राख्ने चलन छ, तपाईं हटाउँदै हुनुहुन्छ ! 
मेरो लक्ष्मीसँगको नाता धेरै पहिलेदेखि नै टुटेको हो । लक्ष्मीसँगको मोह पनि भंग भइसकेको छ । म विशुद्ध सरस्वतीको उपासक परेँ । म अक्षरको आराधना गर्छु । त्यही अक्षरलाई माझेर मस्काएँ । टल्काएँ । चम्काएँ । म आज जे छु, त्यही अक्षरका कारण छु । अब त्यही अक्षरको व्यवसाय मैले गरेँ भनेँ वेश्यावृत्ति र यसमा के फरक रह्यो र ! मलाई बेच्नु नै छैन । रुचि राख्नेले फोनै गरेर पनि किताब माग्छन् । पठाइदिन्छु । मानिसमा किताब पढ्ने चाहना छ । मेरा लागि त्यही नै सर्वस्व हो ।

किताबप्रतिको तपाईंको मोहबारे केही भन्नुस् न ।
म कुनै समय कलकत्ता पनि बसेँ, सन् १९७८/७९ तिर । करिब पाँचछ वर्ष । त्यहाँ मैले काम गर्ने ठाउँका साथीहरूको सम्पर्कले मलाई किताब पढ्ने र किन्ने बनायो । बंगालीहरू खान नपाए पनि किताब किन्ने स्वभावका हुन्छन् । तिनका कोठामा रवीन्द्रनाथ टेगोरको तस्बिर र दुईचारवटा मात्रै भए पनि साहित्यिक किताब हुन्थ्यो नै । खासमा बंगालीहरू साहित्य असाध्यै पढ्छन् । साहित्यमा तिनको विशुद्ध परम्परा छ ।

त्यहीँ रहँदा नै मैले बंगाली र उर्दु भाषा सिक्दै ती भाषाका साहित्यहरू पढ्दै गएँ । यसरी नै किताबप्रतिको मोह ममा बढेर गएको हो । जबकि, म त्यहाँ एउटा कारखानामा काम गर्ने सामान्य कामदार थिएँ ।

त्यहीँ रहँदा सुरुमा मैले शरच्चन्द्र चटोपाध्याय पढेँ । पछिपछि अन्य लेखकका कृतिहरू पढ्दै गएँ । पछि त रवीन्द्रनाथ पनि पढेँ । त्यही पढाइले लेखन र किताबप्रति रुचि जगायो । चन्द्रपुर आएपछि पनि मैले किताब किन्दै गएँ । पढ्दै गएँ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro