site stats
बाह्रखरी :: Baahrakhari
देश
पानी परिरहेका बेला पनि किन उकुसमुकुस गर्मी भइरहेको छ ?
फाइल तस्बिर ।

काठमाडौं । केही समययता पानी परिरहे पनि गर्मी बढेको छ । पानी परेर रहेपछि अथवा पानी परिरहेकै समयमा पनि गर्मी महसुस हुने गरेको छ । तापक्रम उच्च डिग्री सेल्सियस नभए पनि गर्मीको भने महसुस हुने गरेको छ । 

मनसुन सिजनमा यस्तो हुने र यो सामान्य तथा नियमित प्रक्रिया भएको मौसमविद्हरूको भनाइ छ । अन्य सिजनमा पानी पर्दा अथवा त्यसको केही समयपछिसम्म पनि चिसो हुन्छ । तर, मनसुनमा भने पानी परिरहेको समयमा पनि गर्मी हुने गरेको मौसमविद्हरू बताउँछन् । 

मनसुन सिजनमा सुक्खा तातो मात्र नभएर जलवाष्प पनि तातो हुनु अहिले गर्मी हुनुको मुख्य कारण भएको मौसमविद् मीनकुमार अर्याल बताउँछन् । “यो अरु सिजनमा सुक्खा तातो मात्र हुन्छ । तर, मनसुन सिजनमा जलवाष्प पनि तातो हुन्छ,” मौसमविद् अर्याल बाह्रखरीसँग भन्छन्, “बाहिरको तातो त हुन्छ नै, त्यससँगै वायुमण्डलमा रहेको जलवाष्पयुक्त हावा पनि तातो हुन्छ, त्यसैले यो सिजनमा गर्मी हुने गरेको हो ।”

Argakhachi Cement Island Ad

वायुमण्डलमा ओसिलो हावा हुने र पानीको मात्रा रहेको उक्त हावा पनि तातो हुँदा ‘उकुसमुकुस’ गर्मी हुने उनी बताउँछन् । वायुमण्डलमा ठूलो मात्रामा पानी हुने र त्यसलाई सूर्यको किरणले तताउँदा थप गर्मी हुने गरेको उनी स्पष्ट पार्छन् । 

“कहिलेकाहीँ पानी तातो ढुंगामा अथवा आगोमा हाल्दा त्यो पानीको बाफले जसरी छेउमा रहेको मान्छेलाई पोल्छ, त्यस्तै अवस्था हो अहिलेको सिजनको,” मीनकुमार स्पष्ट पार्छन्, “वायुमण्डलमा रहेको पानीलाई सूर्यको किरणले तताइरहेको हुन्छ, मनसुनमा तापक्रम आफैँमा बढी हुन्छ । त्यसैले यो सिजनमा पानी परिरहेका बेला पनि गर्मी हुन्छ ।”    

तापक्रम २८ डिग्री सेल्सियस मात्रै छ भने पनि वायुमण्डलमा रहेको जलवाष्पयुक्त हावा तातेकाले गर्मी धेरै हुने उनको भनाइ छ । ओसिलो हावा तातेकाले बढी गर्मी भएको हो । 

अहिले काठमाडौंमा सामान्यतया ३०/३१ डिग्री सेल्सियस तापक्रम रहँदै आएको छ । तर, ३३/३४ डिग्री सेल्सियस तापक्रम रहँदाभन्दा बढी गर्मीको महसुस हुने गरेको छ । 

“बाहिर वायुमण्डलमा जलवाष्पयुक्त हावा धेरै हुन्छ । त्यसैले बाहिर सुक्खा हुँदैन । शरीर सुक्खा नहुने भएकाले पसिना जति जानुपर्ने हो त्यति जाँदैन,” मीनकुमार भन्छन्, “जसका कारण हामीलाई गर्मीको महसुस धेरै हुन्छ, उकुसमुकुस हुन्छ ।” 

साउन, भदौमा पानी परेपछि मौसम सफा हुने र सूर्यको किरण सिधा आउने भएकाले जमिनमा रहेको पानीलाई तताउँछ । त्यसको बाफ पनि वायुमण्डलमा रहेको तातो वाष्पमा मिसिँदा धेरै गर्मी हुने गरेको उनी सुनाउँछन् । 

पानीले मौसम सफा हुँदा वायुमण्डलमा ‘पोलुसन’ नहुँदा मनसुन सिजनमा पोल्नेगरी घाम लाग्ने मौसमविद् मीनकुमार बताउँछन् ।   

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्