नोयडा । चीनबाट नेपाल हुँदै भारत ल्याइएको आठ लाख भारुबराबरको अवैध ई–सिगरेट जफत गरिएको नोयडा प्रहरीले जनाएको छ । सिगरेट ‘तस्करी’ गर्ने व्यक्तिलाई सोमबार नोयडाको सेक्टर ३९ बाट पक्राउ गरिएको जनाइएको छ ।
उक्त सिगरेट नेपाल हुँदै मारुती स्वीफ्ट कारमा उत्तराखण्डबाट दिल्ली लगेर बेच्ने तयारी गरिएको जनाइएको छ । पक्राउ गरिएका व्यक्ति उत्तराखण्डको उद्धमसिंह नगरमा बस्ने ३५ वर्षीय रियाज अहमद भएको नोयडाका प्रहरी एडीसीपी मनीषकुमार मिश्रले बताएका छन् ।
प्रहरीका अनुसार, मल्टी फ्लेभरको उक्त ई–सिगरेट अमेरिकामा डिजाइन गरिएको र चीनमा बनाइएको हो । प्रहरीका अनुसार, त्यस्ता ई–सिगरेट दिल्लीका बार र रेस्टुरेन्टहरूमा बिक्री गर्ने गरिएको छ । प्रहरीले उक्त कारलाई पनि ‘सिज’ गरेको छ ।
भारतीय प्रहरीले यसअघि गएको जुन १४ मा एक करोड भारुको ई–सिगरेटसहित दुईजनालाई पक्राउ गरेको थियो । जुन २४ मा पनि ४५ लाख भारुबराबरको ई–सिगरेटसहित दुईजनालाई पक्राउ गरिएको जनाएको छ ।
यस्तै, गएको आइतबार राति ३० वर्षीय रन्जीत नामक बरोलाको सेक्टर ४९ मा बस्ने व्यक्तिलाई ई–सिगरेट र भाङ बेच्दै गरेको अवस्थामा त्यहाँको प्रहरीले पक्राउ गरेको थियो । हिन्दुस्तान टाइम्सबाट ।