विराटनगर । कोसीमा नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । आज नै मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाउने तर सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।
यसबारे जानकारी दिन विराटनगरमा गरिएको पत्रकार सम्मेलनमा नेता आङ्बोले भने, "तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिँदैनौँ ।"
नेकपा (एमाले) नेतृत्वको सरकारमा माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की स्वास्थ्य र नारायण बहादुर मगर पर्यटन, वन तथा वातावरण मन्त्री छन् । यसैगरी बन्दना झागर पर्यटन राज्यमन्त्री छिन् ।
मुख्यमन्त्री कार्कीले समय दिएलगत्तै राजीनामा बुझाउने तयारी रहेको एक मन्त्रीले बताए ।
केन्द्रमा कांग्रेस–एमालेको गठबन्धन बनेसँगै कोसीमा माओवादी सरकार छाड्नुपर्ने दबाबमा थियो ।
कोसीमा नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकार छ ।