चोरको बिगबिगी छ । कोठामा श्रृतिक एक्लै छ र उसलाई बजार जानु छ ।
श्रृतिकले घरका अन्य कोठाको चालचुल बुझ्यो, कोही भएजस्तो लागेन ।
श्रृतिकले सोच्यो– ताल्चा लगाउँछु र जान्छु । नजिकै पुलिस चौकी पनि छ । अँऽऽऽ त्यो त सधैँ छ ।
फेरि सोच्यो— अचेल चोरहरू जब्बर हुन्छन् । कस्ताकस्ता हतियार लिएर हिँड्छन् । कस्ताकस्ता बलिया ताल्चा काट्छन् । चोर आयो भने यस्तो जाबो ताल्चा काट्न उसलाई के आइतबार ! चोर आयो भने ढोकामा ताल्चा लगाएको रहेछ भनेर पक्कै उसै फर्किंदैन ।
कपडा लगाएर श्रृतिक कोठाबाहिर निस्कियो । र्याकबाट दुईजोर जुत्ता निकाल्यो । एकजोर लगायो । र, एकजोरचैँ आफू कोठाभित्र पस्दा ढोकासामु जुत्ता जसरी रहन्थ्यो, ठिक त्यसैगरी राखिदियो ।
ढोका ढप्क्याएपछि उसै वा हावाले खुल्थेन । श्रृतिकले ढोकामा ताल्चा लगाएन । चुकुल पनि लगाएन । र, बजार गयो ।
ढोकामा ताल्चा लगाएर बजारतिर निस्किँदा कोठाको सुरक्षालाई लिएर श्रृतिक सधैँ धुकचुकमा रहन्थ्यो । आज ऊ केही निश्चिन्त थियो ।
(महालक्ष्मी—३, ललितपुर)