site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीमा केन्द्रीय सदस्य बन्न हानथाप

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा आकांक्षी धेरै हुँदा केन्द्रीय सदस्य छान्न सकस परेको छ । हालै सम्पन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष र महासचिवसहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चुनिएका थिए । महाधिवेशनको बन्दसत्रका क्रममा १० दिनभित्र कमिटीले पूर्णता पाउने घोषणा गरिएको थियो । तर, महाधिवेशन सकिएको १३ दिन बित्दा पनि त्यसले पूर्णता पाउने टुंगो छैन ।

गएको असार १६–२१ गतेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा भएको महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल र महाचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरिएको थियो । सम्मानित नेतामा झलनाथ खनाललाई नै निरन्तरता दिइएको थियो । २९९ मध्ये २०६ केन्द्रीय सदस्य थाती राखेर त्यति बेला कमिटी घोषणा गरिएको थियो ।

महाधिवेशनको बन्दसत्रमा नेता राजेन्द्र पाण्डेले १० दिनभित्र बाँकी केन्द्रीय सदस्य चयन गरिसक्ने बताएका थिए । अध्यक्ष नेपालले पनि हललाई ‘थामथुम’ पार्दै छिट्टै सदस्य टुंग्याउने वचन दिएका थिए ।

महाधिवेशनबाट सर्वसम्मत छानिएको ९३ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठक असार २२ गते बसेको थियो । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकबाट प्रदेश इन्चार्ज, प्रदेश कमिटीका अध्यक्ष र केन्द्रीय सदस्यलाई समावेशी क्लस्टर मिलाई नाम सिफारिस गर्ने जिम्मेवारी दिइएको थियो ।

पार्टी कार्यालयका सचिव जीवनराम श्रेष्ठका अनुसार, प्रदेशले नाम सिफारिस गरिसकेको छैन । प्रदेशले नाम सिफारिस गरिसकेपछि केन्द्रीय कमिटीको बैठक बसेर थप सदस्यबारे निर्णय लिइनेछ ।

“केन्द्रीय कमिटीलाई पूर्णता दिने अभियानमा नै छौँ । सम्भावित नाम सिफारिस गर्न प्रदेश इन्र्चाज, अध्यक्ष र ९३ भित्रका केन्द्रीय सदस्यलाई जिम्मा दिएका छौँ । उताबाट नाम सिफारिस भएर आइसकेको छैन । त्यो नाम आइसकेपछि केन्द्रीय कमिटी बैठक बसेर निर्णय गर्छौँ,” उनले बाह्रखरीसित भने ।

केन्द्रीय कमिटीले पूर्णता पाएपछि पदाधिकारी चयन गरिनेछ । एकीकृत समाजवादीमा २१ मध्ये १९ पदाधिकारी चयन गर्न बाँकी छ । त्यसपछि स्थायी कमिटी र पोलिटब्युरो सदस्य छानिनेछ ।

सदस्य बन्न हानथाप 
एकीकृत समाजवादीमा केन्द्रीय सदस्यको संख्या अघिल्लो कमिटीको तुलनामा केही घट्नेछ । पुरानाको व्यवस्थापन गरी नयाँ सदस्य थप्ने तयारी छ । सोहीअनुसार केन्द्रीय सदस्यका निम्ति विभिन्न मापदण्ड तोकिएको छ ।

निरन्तर काम गरिरहेको, पार्टी सदस्य बन्न मापदण्ड पूरा गरेको, अनुशासन पालना गरेको, यसअघि पाएको जिम्मेवारी पूरा गरेको आदि मापदण्ड रहेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार, मापदण्डभित्र पर्ने पुराना सदस्य छानिनेछन् । २५–४५ का युवा र महिला, जनजातिबाट नयाँ सदस्य थपिने बताइएको छ ।

एकीकृत समाजवादीभित्र केन्द्रीय सदस्य छनोटमा असन्तुष्टि पनि देखिएको छ । महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिन नपाएकाले गुनासो गर्दै आएका छन् । यस्तै, सदस्य छनोटका विषयमा रामकुमारी झाँक्री, राजेन्द्र राई, कृष्णकुमार श्रेष्ठलगायत नेताले असन्तुष्टि व्यक्त गरेका थिए ।

अल्पमतको कमिटीले बहुमत सदस्य छान्ने भन्दै कतिपय नेताले नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन् । असन्तुष्टि सम्बोधन गरिनुपर्ने माग त छँदै छ, आकांक्षी धेरै हुँदा समेत केन्द्रीय सदस्य छान्न सकस भएको एक नेताले बताए ।

“विभिन्न व्यक्तिका असन्तुष्टि पनि समाधान गर्नुपर्नेछ । केन्द्रीय कमिटीमा आउन चाहनेहरू धेरै छन्, तर संख्या सीमित छ । त्यसले गर्दा पनि प्रदेशबाट नाम सिफारिस गर्न विलम्ब भएको छ,” ती नेताले भने ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro