site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘ज्यान बच्यो, अन्नपात जोगिएन’

दोधारा चाँदनी । कञ्चनपुरमा गएको साताको अविरल वर्षापछि आएको बाढीका कारण डुबानमा परी विस्थापित भएका परिवार घर फर्किएका छन् । अधिकांश घरका अन्न र लत्ताकपडा सबै भिजेको छ । कतिपयको अन्नपात बाढीले बगाएको छ ।

यहाँका बाढी प्रभावितलाई खानलाउन समस्या भएको छ । महाकालीपारि दोधारा चाँदनी नगरपालिकाका चार वडामा जोगबुडा नदीको बाढी पसेको थियो । दोधारा चाँदनी–८, ९, १० र ३ का बासिन्दा सबैभन्दा बढी समस्यामा परेका छन् ।

घरभित्रका कपडा कतिपय बगेको र केही माटोमा च्यापिएको पीडित बताउँछन् । स्थानीय मंगले सार्कीले घरभित्र भएको अन्न, लत्ताकपडा बाढीले बगाएपछि साँझ–बिहानको छाक टार्न मुस्किल परेको बताए । “भाँडाकुँडा, अन्नपात र लत्ताकपडा सबै बगाइदियो । साँझ–बिहान के खाने, तीन दिन भयो केही खाएका छैनौँ,” उनले भने, “खेत पनि लेदोले पुरेको छ । यस्तो अवस्थामा पनि राज्यबाट कुनै सहयोग पाएका छैनौँ ।”

दोधारा चाँदनीका चम्पा सार्कीको घर बाढीले भत्काएको छ । बाढीले घर भत्काएपछि खुला आकाशमा पालको सहारा बस्नुपरेको उनले बताइन् । “बाढीले केही राखेन । अन्नपात, लत्ताकपडा सबै बगाइदियो,” उनले भनिन्, “दराज र सोफा लेदोले पुरिएको थियो । घरभित्र रहेको सुन र केही नगद बाढीले लगेको छ ।”

टापुको बस्ती कुतियाकभरमा पनि बाढीले ठूलो नोक्सानी गरेको छ । बाढीले केही घरमा पूर्ण क्षति भएको छ । सामान्य क्षति भएका घरका सबै फर्किइसकेका छन् । घर भत्केका परिवारका सदस्य कोही आफन्तकामा छन् भने कोही नेपाली सेनाले निर्माण गरेको ‘सेफ हाउस’मा छन् ।

रातिको समयमा अचानक बाढी बस्तीमा पसेपछि ज्यान जोगाउनै मुस्किल भएको लक्ष्मी सुनारले बताइन् । “राति १ बजेतिर प्रहरी आएर हामीलाई उद्धार गरेका हुन्,” उनले भनिन्, “ज्यान त जोगायो, अन्न र पशुचौपाया जोगाउन सकिएन ।” उनले बाढीले अन्न र लत्ताकपडा सबै बगाएपछि खानलाउन समस्या भएको बताइन् ।

बाढी र डुबानले दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका, बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा ठूलो संख्यामा नागरिक विस्थापित भएका थिए । उक्त क्षेत्रमा पूरै लेदोले भरिएर खेतबारी ढाकिएको छ ।

जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाको कलकत्ता र भुँडामा पनि डुबानका कारण ठूलो क्षति भएको छ । जिल्लाभर क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro