site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेलाबेला किन विवादास्पद अभिव्यक्ति दिन्छन् कलाकार ?
SkywellSkywell

काठमाडौं । बोल्दा विवेक नपुर्‍याउँदा गाली खाने कलाकार धेरै छन् । बोलीमा लगाम लगाउन नसक्दा कलाकारले गाली खाँदै आएका छन् । यसको पछिल्लो उदाहरण हुन्, अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह ।

अर्काको निजी जिन्दगीबारे बोल्दा उनीहरूले अहिले गाली खाइरहेका छन् । एक टेलिभिजन कार्यक्रममा अतिथिका रूपमा पुगेका स्वस्तिमा र साम्राज्ञीलाई होस्टले नायक अनमोल केसीका ‘गर्लफ्रेन्ड’ कोको हुन् भन्ने प्रश्नमा उनीहरूले बिनासंकोच नाम लिएका थिए ।

यही विषयमा उनीहरूले नाम लिएका व्यक्तिले आपत्ति जनाउँदै अर्काको निजी जिन्दगीबारे बोलेको भन्दै आपत्ति जनाएपछि अहिले स्वस्तिमा र साम्राज्ञी गालीको भागीदार भइरहेका छन् । अपेक्षा नै नगरेको व्यक्ति स्वस्तिमाबाट समेत अनपेक्षित जवाफ आएको भन्दै धेरैले उनको आलोचना गरिरहेका छन् । भलै, स्वस्तिमा र साम्राज्ञीले माफी मागिसकेका छन् ।

KFC Island Ad
NIC Asia

तर, उनीहरूमाथि गालीको वर्षा कम भएको छैन । जग नै कमजोर भएपछि हुने यस्तै हो भन्ने समेत टिप्पणी भइरहेको छ ।

चलचित्र कलाकारको संस्था चलचित्र कलाकार संघले नै आपत्ति जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै सचेत गराएको छ ।

अमर्यादित, अशोभनीय, गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति भन्दै ध्यानाकर्षण भएको संघले जनाएको छ । उनीहरूका अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र, कलाकारिता, पेसा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरूको मानमर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई नायिकाद्वयको अभिव्यक्तिले लत्याएको संघको ठहर छ । “अरूको अवहेलना गर्नु, मानमर्दन गर्नु न्यायसंगत ठहर्दैन,” संघले विज्ञप्तिमा भनेको छ, “सम्बन्धित कलाकारलाई सचेत गराउँदै भविष्यमा पेसा, वर्ग र चलचित्र क्षेत्रलाई असर गर्ने कुनै पनि क्रियाकलाप र अभिव्यक्ति नदिन अनुरोध गर्दछौँ ।”

यसअघि पनि केही कलाकारले सामाजिक मर्यादा र अनुशासनविपरीत अभिव्यक्ति दिने गरेको संघले स्मरण गरेको छ ।

म को हुँ र जिम्मेवारी के हो भन्ने जानकारीको हेक्का नहुँदा यस्तो समस्या बेलाबेलामा आउने गरेको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला बताउँछन् ।

“म को हुँ, मैले के गर्नुहुन्छ र हुँदैन भन्ने हेक्का व्यक्ति स्वयंमा हुनुपर्छ,” निरौला बाह्रखरीसँग भन्छन्, “म कहाँ जाने, कहाँ नजाने, कुन मिडियामा कसरी प्रस्तुत हुने भन्ने विषयमा ध्यान दिनुपर्छ । योपटकको कुरा गर्दा सोध्नेले जसरी सोध्यो, त्यसरी नै उहाँहरूले पनि रमाइलो मानेर जवाफ दिनुभयो ।”

आफूले बोलेका कुराले कस्तो प्रभाव पर्छ भन्ने बारेमा ध्यान नदिने, कुन विषयमा कसरी बोल्ने र कति बोल्ने भनेर तयारी पनि नगर्ने प्रवृत्तिले कलाकार विवादमा पर्ने गरेको मोहन सुनाउँछन् । विश्वका जुनसुकै ठूला चलचित्र उद्योगमा कलाकारले कुन मिडियासँग बोल्ने र नबोल्ने भनेर निर्धारण गर्ने गरेको उनी सुनाउँछन् । कतिपय कलाकारले वर्षौँसम्म अन्तर्वार्ता नदिने गरेका उदाहरणबाट पनि सिक्न सक्नुपर्नेमा उनको जोड छ ।

हरेक व्यक्तिमा माया, मोह, क्रोध हुने भन्दै उनी कमजोरी हुनु मानवीय प्रवृत्ति भएको तर यसलाई नियन्त्रण गर्न सक्नुपर्ने बताउँछन् । “सांसारिक जीवन छोडेर जोगी भएका व्यक्तिहरूमा त क्रोध हुन्छ,” उनी भन्छन्, “तर, यही क्रोधलाई रोक्न नसक्दा आफूलाई लागेको कुरा बोलिहाल्ने चलन छ । यसरी बोल्दा कति बोल्ने र कति नबोल्ने भन्ने कुराको निर्धारण गरियो भने धेरै विवादमा परिँदैन ।”

पढेलेखेका व्यक्तिहरू नै विवादमा तानिने गरेको भन्दै उनी सामाजिक मर्यादालाई भुल्न नहुनेमा जोड दिन्छन् । “उहाँहरू दुवै पढेलेखेको शिक्षित व्यक्ति हो । के बोल्न हुन्छ वा हुँदैन भन्ने सामान्य जानकारी नै नभएको व्यक्ति होइन,” उनी भन्छन्, “सामाजिक मर्यादा ख्याल गर्ने हो भने कति कुरा आफैँ नियन्त्रण हुन्छ । यसमा नै कमजोरी भएजस्तो लाग्छ ।”

कतिपय कार्यक्रम र होस्टले आफ्नो टीआरपी बढाउन विवादमा तान्ने प्रयास गर्ने भन्दै यसतर्फ कलाकार सचेत हुनुपर्ने उनको धारणा छ । 

आमदर्शकले माया गरिरहेका कलाकार विवादमा तानिँदा उनीहरूको करिअरमै असर पर्ने अध्यक्ष निरौला बताउँछन् । “म सामाजिक सञ्जालमा हेरिरहेको छु, गाली गर्नेहरूको संख्या ठूलो छ,” उनी भन्छन्, “यसले करिअरमा केही न केही असर त गर्छ नै ।”

नायक–नायिकाका सिनेमा रिलिज भइरहेका बेला वा त्यस चरणमा उनीहरूका विवादित अभिव्यक्तिले चलचित्रको बक्सअफिसमा नै प्रभाव पर्ने गरेको छ ।

नेपाली चलचित्र उद्योगमा कलाकार, विशेष गरी नायिकाहरू विवादमा पर्नु नौलो होइन । बोलीको ठेगान नहुँदा कलाकारले पटक–पटक गाली खाँदै आएका छन् । होस पुर्‍याएर नबोल्नेमा अग्रजदेखि अनुज पुस्तासम्मका कलाकार छन् । यो मामलामा तुलनात्मक रूपमा पुरानाभन्दा नयाँ कलाकारको संख्या धेरै छ ।

सामाजिक सञ्जालमार्फत पनि विवाद
सामाजिक सञ्जाल होस् वा मिडियामा बोल्दा विवेक नपुर्‍याउँदा कलाकारले गाली खाँदै आएका छन् । यसरी गाली खानेमा दीपाश्री निरौलादेखि पछिल्लो पुस्ताकी आँचल शर्मासम्म पर्छिन् । पूर्जा शर्मा, वर्षा राउत, प्रियंका कार्की पनि विवादमा तानिने कलाकारमा पर्छन् ।

कोरोना संक्रमणको त्रासको समयमा लकडाउन हुँदा नेपाली चलचित्र क्षेत्र ठप्प थियो । महँगो पारिश्रमिक लिने कलाकार/निर्देशकमा ठूलो प्रभाव नपरे पनि दैनिक काम गरेर खाने प्राविधिक समस्यामा थिए । उनीहरूलाई केही कलाकारले राहत समेत प्रदान गरेका थिए ।

त्यही समय कलाकार तथा निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन कार्यक्रममा ‘राजेश हमालले महानायकको भूमिका निर्वाह गर्न नसकेको’ बताएकी थिइन् । प्राविधिकले खाना खान नपाइरहेको अवस्थामा राजेशले सहयोग नगरेको भन्दै उनले आलोचना गरेकी थिइन् ।

उनको त्यो अन्तर्वार्ता सार्वजनिक भएसँगै राजेशका प्रशंसकले दीपाश्रीलाई गाली गरे । उनले यति धेरै गाली खाइन्, माफी नै माग्नुपर्‍यो । पछि राजेश आफैँले आफूविरुद्ध बोल्ने कसैलाई पनि गाली नगर्न आग्रह गरे ।

तर, दीपाश्रीमाथिको गाली रोकिएन । त्यही कारण उनलाई ‘मुन्द्रेको कमेडी क्लब’बाट हटाइयो । उनलाई दर्शकले गाली गरेकै कारण ‘छक्का पञ्जा–४’ अर्कैले निर्देशन गरे । ‘छक्का पञ्जा’का सिरिज उनले निर्देशन गर्दै आएकी थिइन् । तर, ‘छक्का पञ्जा–४’ हेमराज बिसीले निर्देशन गरे । योबाहेक भने दीपाश्री खासै विवादमा आएकी पात्र होइनन् ।

आँचल पनि ‘ट्रोल’ बनिरहने नायिकामध्येकी एक हुन् । बोल्न भाँती नपुर्‍याउँदा उनको आलोचना भइरहन्छ । ‘बढी टिकटक चलाउने गरेका कारण महिला धेरै क्रिएटिभ हुने’ बताएपछि उनी ट्रोलको सिकार बनेकी थिइन् ।

नायिका पूजा शर्मालाई ‘अग्रज’ भनेपछि आँचलको आलोचना मात्र भएन, ट्रोल नै बनेकी थिइन् । उनले आफूभन्दा धेरै अगाडि पूजा चलचित्र उद्योगमा आएको बताएकी थिइन् । उनले पूजा पनि आफ्नै जेनेरेसनकी नायिका हुन् भेउ पाइनन् । पूजालाई अग्रज भनेपछि आँचललाई उनका फ्यानले नै अग्रजको अर्थ बुझ्न सुझाएका थिए ।

पूजा शर्मा पनि समय–समयमा ट्रोल हुने पात्र हुन् । ‘नेपालमा ७२ प्रदेश र १४ जिल्ला रहेको’ बताएपछि पूजा ट्रोल बनेकी थिइन् । एक टेलिभिजन अन्तर्वार्तामा यस्तो बताएपछि आफ्नै देशबारे न्यूनतम जानकारी समेत नरहेको भन्दै उनको चर्को आलोचना गरिएको थियो । 

प्रियंका कार्की पनि विवादमा आउने नायिका हुन् । ‘यूएसचाहिँ धेरैपटक गइरहेको थिएँ, तर अमेरिका भने पहिलोपटक आएको हुँ’ भनेपछि प्रियंका ट्रोल बनेकी थिइन् । अमेरिकामै एक अन्तर्वार्ताका क्रममा यस्तो बताएपछि उनलाई धेरैले ट्रोल बनाएका थिए ।

बोली र तस्बिरमार्फत उनी धेरै ट्रोल हुने गरेकी छन् । बोलीभन्दा पनि उनी तस्बिरमार्फत धेरै विवादमा पर्ने गरेकी छन् ।

‘बेबी बम्प’को फोटोसुट गराउँदा पनि उनी ट्रोल बनेकी थिइन् । तस्बिरमा उनले हातमा गिलास लिएर जुस पिइरहेको देखिएको थियो । पेटमा पनि गिलासबाट जुस पिइरहेको तस्बिर कोरिएको थियो । यो तस्बिर सार्वजनिक भएपछि भद्दा कमेन्ट धेरै गरिएको थियो ।

वर्षा राउत पनि बेलाबेलामा बोलीका कारण विवादमा तानिइरहने नायिका हुन् । नेपाल र भारतबीचको सीमा विवादका सन्दर्भमा दिएको अभिव्यक्तिका कारण उनले आलोचना खेपेकी थिइन् ।

उनले भनेकी थिइन्– देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो, तिमीहरूले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यता र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकार मिलेर झगडा पारिरहेका छन् ।

योसँगै वर्षाले ‘मेरो इन्डियन साथीहरूसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरूले मसँग कसरी फेस गर्ने भइरहेको छ’ भन्ने बताएपछि ट्रोल बनेकी थिइन् । सामाजिक सञ्जालमा विरोध हुन थालेपछि उनले ‘आइन्दा विचार पुर्‍याएर मात्र बोल्ने’ बताएकी थिइन् । त्यसपछि उनी तस्बिरका कारण समेत विवाद र चर्चामा रहिन् ।

वर्षा शिवाकोटीको पनि बेलाबेलामा नकारात्मक चर्चा हुने गरेको छ । उनी बोलीभन्दा तस्बिरमार्फत विवादमा आउने नायिका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro