site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्या प्रकरणमा गृहमन्त्री लामिछानेले संसद्लाई ढाँटेका हुन् ? 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सोमबार प्रतिनिधिसभामा भनेका थिए, ‘‘निर्मला पन्तको हत्या प्रकरणमा हामी नतिजाउन्मुख छौं ।’’ तर, प्रहरी अधिकारीहरु अनुसन्धान शून्यमै रहेको बताउँछन् ।

पहिलोपटक गृहमन्त्री हुँदा लामिछानेले पहिलो प्राथमिकतामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको र प्राथमिकतामै रहेको उनको भनाइ थियो ।

अघिल्लो पटक र दोस्रो पटक गरी लामिछानेले गृहमन्त्रीको बागडोर सम्हालेको करिब साढे चार महिना पूरा भएको छ ।  तर, कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या अनुसन्धानमा भने चासो नदिएको आरोप लागेपछि गृहमन्त्री लामिछाने बाध्य भएर संसद्मा निर्मला पन्त हत्या प्रकरणबारे बोल्न पुगेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पाँच वर्षअघि १० साउन २०७५ मा १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । बितेका पाँच वर्षदेखि प्रहरी निरन्तर अनुसन्धानकै क्रममा छ । तर, प्रगति शून्य छ ।  निर्मलाको हत्यादेखि कञ्चनपुर रहेर अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले समेत अनुसन्धानबाट हात झिकिसकेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक एसपी चक्रराज जोशीका अनुसार, निर्मलाको अनुसन्धान कञ्चनपुर प्रहरीले जारी राखेको छ । 

Global Ime bank

उनले भने, “अनुसन्धान निरन्तर चलिरहेको छ । नयाँ तथ्य खुलेको छैन ।”

सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले पनि अनुसन्धान टोली कञ्चनपुर नगए पनि सीआईबीले अनुसन्धान गरेको विषय भएका कारण अनुसन्धानकै क्रममा रहेको बताए । यद्यपी सीआईबीले पनि कुनै नयाँ तथ्य भने फेला पारेको छैन । अनुुसन्धानमा खटिएका एक अधिकारीले भने, ‘‘आरोपी पत्ता नलागेसम्म प्रहरीको अनुसन्धान शून्य नै हो ।’’

निर्मला प्रकरणले प्रहरीको अनुसन्धानप्रति प्रश्नमात्रै उठाएका छैनन्, त्यही कारण प्रहरी संगठनको छविसमेत धुमिल हुन पुगेको छ । निर्मला हत्यापछि नेपाल प्रहरीमा चारजना प्रहरी महानिरीक्षक (आईजीपी) फेरिइसकेका छन् । तैपनि गहिरो अनुसन्धान गरेर सप्रमाण हत्यारासम्म प्रहरी पुग्न सकेको छैन ।

निर्मलाको हत्या हुँदा नेपाल प्रहरीको आईजीपी थिए, सर्वेन्द्र खनाल । उनको पालामा घटित घटना उनकै पालामा सुल्झिएन । उनको अनिवार्य अवकाशपछि नेतृत्वमा आए, आईजीपी ठाकुरप्रसाद ज्ञवाली । उनले पनि घटना सुल्झाउन सकेनन् ।

उनीपछि आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त भए । तर निर्मला हत्या अनुसन्धान भने सुल्झिन सकेन । क्षेत्रीपछि आईजीपी धीरजप्रताप सिंह भए । उनले समेत कुनै घटना सुल्झाउन सकेनन् । 

हाल पाँचौँ आईजीपीका रुपमा बसन्तबहादुर कुँवर छन् । उनी आईजीपी नियुक्त भएको समेत एक वर्ष पूरा भइसकेको छ । अनुसन्धान भने शून्य नै छ । निर्मला हत्याबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले हालसम्म काठमाडौंबाट दर्जनौँ प्रहरी अधिकारी कञ्चनपुर पठाइसकेको छ ।

यसबीचमा कञ्चनपुरकै प्रहरी नेतृत्वसमेत ८ पटक फेरिइसकेको छ । निर्मलाको हत्यापछि फेरिने जिल्ला प्रहरी प्रमुखहरूमा प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट, कुवेरसिंह कठायत, दिनेश आचार्य, मुकुन्द मरासिनी, उमाप्रसाद चतुर्वेदी, श्यामसिंह चौधरी, कमल थापा र हाल एसपी चक्रराज जोशी पुगेका छन् ।

अन्योलमा प्रहरी

निर्मलाको हत्या प्रकरणमा सुरुवाती अनुसन्धान गर्ने तत्कालीन एसपी दिल्लीराज विष्ट र सीआईबीबाट खटिएका तत्कालीन डीएसपी अंगुर जीसी नेतृत्वको टोलीले एक जना आरोपीलाई पक्राउ ग¥यो ।

निर्मलाको बलात्कारपछि हत्या आरोपमा ४ भदौमा भीमदत्त नगरपालिका– १९ का दिलीपसिंह विष्टलाई पक्राउ गरी अभियुक्तका रूपमा सार्वजनिक गरेका थिए ।

तर, सोही कारणले एसपी विष्ट र डीएसपी जीसी आफैँ कारबाहीको भागीदार बन्न पुगे । दिलीप पक्राउपछि कञ्चनपुर तनावग्रस्त मात्रै बनेन, प्रहरी र स्थानीयवासीबीच निरन्तर झडपको अवस्था सिर्जना भयो ।

प्रहरीको गोली लागेर स्थानीय युवा सन्नी खुनाको प्रहरीको गोली लागेर ज्यान गयो । निर्मलाको भेजाइनल स्वाबसँग डीएनए नमिलेपछि अदालतको आदेशले दिलीप थुनामुक्त भए । कञ्चनपुर तनावग्रस्त बनेपछि गृह मन्त्रालयले तत्कालीन सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति बनायो । 

उक्त समितिले ३० भदौमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिवेदन बुझाएको थियो । त्यही प्रतिवेदनका आधारमा गृह मन्त्रालयले तत्कालीन एसपी डिल्लीराज विष्टसहित सातजनालाई कारबाही गरिएको थियो । 

हाल सबैमाथि गरिएको कारबाही फुकुवा मात्रै भएको छैन कि एसपी विष्ट र डीएसपी जीसीको एक तहमाथि बढुवा भइसकेको छ । तर, निर्मलाको हत्या अनुसन्धान जहाँको त्यहीँ छ । उनीहरू निर्मलाको हत्यामा दिलीप विष्टकै भूमिका शंकास्पद देखिएको दाबी गर्दै आएका छन् । 

तर, उनीपछि अनुसन्धान गर्ने अधिकांश प्रहरी अधिकारीले दिलिपको भूमिका शंकास्पद नदेखिने बताउँदै आएका छन् । निर्मला हत्या अनुसन्धानमा सबैभन्दा गिजोलिएको अर्को विषय हो, डीएनए परीक्षण ।

तीन वर्षअघि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुख रहेका डीएनए विशेषज्ञ जीवन रिजाल नेतृत्वको छानबिन समितिले निर्मला हत्याका अभियुक्त डीएनएबाट पत्ता नलाग्ने स्पष्ट प्रतिवेदन गृह मन्त्रालयलाई बुझाइ सकेको छ ।

निर्मलाको हत्या घटनामा प्रहरीले करिब २ सयभन्दा बढी व्यक्तिमाथि निगरानीमा राखेर अनुसन्धान गरेको थियो ।  सयौँ व्यक्तिको डीएनएसमेत टेस्ट गरेको थियो । तर, कुनै पनि आशंका गरिएको व्यक्तिसँग डीएनए परीक्षण मिलेन ।

अवकाश प्राप्त आईजीपीहरूले निर्मलाको अनुसन्धानमा खटिएका दर्जनौँ प्रहरी अधिकारीलाई एकै ठाउँमा राखेर रिपोर्टसमेत लिएका थिए ।  तर, अनुसन्धान अधिकारीको आ–आफ्ना तर्कका कारण एकरुपता आउन नसेकेपछि अनुसन्धान प्रभावकारी ढंगले अघि बढ्न सकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय