काठमाडौं । सामान्य बुझाइमा शारीरिक र मानसिक रूपमा स्वस्थ रहन गरिने अभ्यास हो योग । तर, योगको परिभाषा यतिमा सीमित छैन । ‘चित्तमा सञ्चित’ रहेका संस्कारहरू अर्थात् गहिरा स्मृतिहरूको छापलाई हटाउने प्रक्रिया योग हो । अर्को अर्थमा आफ्नो वास्तविक स्वरुपमा स्थिर हुनु योग हो । योगले शरीरलाई त तन्दुरुस्त राख्छ नै यसमा सही ढंगले अपनाइने विभिन्न विधिहरूले मानिसलाई सकारात्मक उर्जा र स्वस्थ जीवनशैलीमा रहन अहम् भूमिका खेल्छ ।
स्थिरता, विश्राम, महसुस, श्वासप्रश्वासको सन्तुलन र सकारात्मक भाव योगका प्रभावकारी विधिहरू हुन् । यी विधि सही ढंगले अपनाए शरीरभित्रको वातावरण सन्तुलन हुन गई हरेक समस्याविरुद्ध योगले सकारात्मक परिणाम दिन्छ । रक्तचाप नियन्त्रण, निन्द्रा, आलस्यपन हटाउने र रोग प्रतिरोधी क्षमता बढाउने कार्यमा पनि योगको महत्त्वपूर्ण भूमिका रहन्छ । त्यतिमात्र नभइ योगले तनाव उत्पन्न गराउने कोर्टिसोल हर्मोनलाई सन्तुलन गर्दछ । कोर्टिसोल रक्तनलीहरूमा फैलिने प्रकृतिको हर्मोन हो, जसले मानिसमा उमेरभन्दा पहिल्यै बुढ्यौलीपना निम्त्याउनुका साथै घातक रोगहरूको कारक समेत बन्नसक्छ ।
तनाव नै घातक रोगहरूको मुख्य कारण समेत हो । तसर्थ, योगमा अपनाइने विश्रामको विधिले तनाव हटाउन मुख्य भूमिका खेल्छ । यस्तै, ध्यानमा अपनाइने सकारात्मक भावको विधिले ब्रेन सर्किटलाई सकारात्मक बनाउँछ, जसले चित्तमा सञ्चित रहेका नकारात्मक संस्कार हटाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।
मन, मस्तिष्क, चित्त तथा समग्र मानसिक स्वास्थ्यसँग जोडिने भएकाले पनि अन्य शारीरिक व्यायामभन्दा यो फरक छ । त्यसैले विज्ञहरू भन्छन्, एक घण्टाको अभ्यास होइन, योगलाई दिनचर्या बनाउनु पर्दछ, तबमात्रै योगमार्फत् जीवन परिवर्तन सम्भव छ । प्रस्तुत छ योगका विविध विषयमा बाह्रखरीकर्मी अस्मिता रिजालले योग विज्ञ तथा अनुसन्धानकर्ता डा. सुमन विष्टसँग गरेको कुराकानी :-