site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
समितिमा देखियो संवैधानिक द्विविधा : तल्लो तह मातहतका सहकारीको छानबिन गर्न मिल्छ कि मिल्दैन ?

काठमाडौं । प्रदेश र स्थानीय तहको मातहतमा रहने सहकारी संस्थामाथि छानबिन गर्ने अधिकार संसदीय छानबिन समितिमा रहन्छ कि रहँदैन भन्ने संवैधानिक प्रश्न उठेको छ । मंगलबार संघीय संसद् भवनको शंकर हलमा बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको बैठकमा समितिको अधिकार क्षेत्रलाई लिएर प्रश्न उठेको हो ।

समितिका सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालका अनुसार समितिको कार्यक्षेत्र (टीओआर)को अनूसूची २ मा ९ वटा सहकारी संस्थाको नाम लेखिएको छ । ती सहकारीमध्ये आइडियल यमुना बहुउद्देश्यीय सहकारीमात्र संघ सरकारको मातहतमा छ । त्यसबाहेक अन्य आठ सहकारी प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्रमा पर्छन् । 

“यी आठवटा सहकारीको डकुमेन्ट संघ सरकार, सहकारी बोर्डलगायत आज छलफल गरिएको निकायसँग नहुने रहेछ,” उनले भने, “यी संस्थाको छानबिन गर्न पाइन्छ/पाइँदैन भन्ने समस्या आइपरेको छ । किनभने हामीले बनाएको संसदीय छानिबन समिति हो, यो अध्ययन समिति होइन ।”

Sahakari-Samiti-dfghf-1718718282.jpg
 

समितिले भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी, मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीसहितका सम्बद्ध निकायसँग छलफल गरेको छ । छलफलमा सरकारी निकायले ३१ हजार सहकारीमध्ये लगभग १५० सहकारीमात्र संघ सरकारअन्तर्गत पर्ने जनाएका छन् । कुल सहकारीमध्ये ८० प्रतिशतभन्दा धेरै स्थानीय सरकार मातहतका छन् । 

“आइडियलबाहेक अन्य आठवटा सहकारी संस्था तल्ला तहका सरकारको मातहत छन् । उनीहरूको डकुमेन्ट केन्द्रसँग छैन,” उनले भने ।

समितिको कार्यक्षेत्रको अनूसूची २ मा उल्लेख गरिएका ९ वटा सहकारी संस्थाबाट गोर्खा मिडिया नेटर्वकको माध्यमबाट ग्यालेक्सी टेलिभिजनमा पैसा लगानी भएको आरोप लागेको छ । तर, एउटाबाहेक सबै सहकारी स्थानीय तहको मातहत पर्नेपछि संवैधानिक प्रश्न उठेको छ ।

Sahakari-Samiti-d-1718718282.jpg
 

अब समितिले संवैधानिक जटिलताबाट निस्कन कानुनविद्‌हरूसँग छलफल गर्ने निर्णय गरेको समितिका सदस्य खनाल बताउँछन् ।

आजकै बैठकमा संकटग्रस्त सहकारी व्यवस्थापन समितिले आफूले अध्ययन गरेको प्रतिवेदन छानबिन समितिलाई उपलब्ध गराएको छ ।

समितिका संयोजक सूर्य थापाका अनुसार, आजको बैठकमा सहकारी मन्त्रालय, सहकारी बोर्ड, सहकारी विभाग, संकटग्रस्त सहकारी व्यवस्थापन समितिसँग छलफल भएको छ । बैठकले उनीहरूसँग समस्याग्रस्त सहकारीको अवस्था, कानुनी समस्या र नियमनको व्यवस्थालगायतका विषयमा छलफल गरेको हो ।

समितिकी सदस्य ईश्वरी न्यौपानेका अनुसार, संकटग्रस्त २० सहकारीमध्ये तीनवटाले समस्या समाधान गरिसकेको प्रतिवेदनसहितको जानकारी आएको छ । “अब १७ वटामा समस्या रहेछ,” उनले भनिन् । 

समितिका अर्का सदस्य लेखनाथ दाहालका अनुसार, बैठकमा २० वटा समस्याग्रस्त सहकारीका सन्दर्भमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्य सचिवले लिखित प्रतिवेदन बुझाएका छन् । “२० वटा समस्याग्रस्त सहकारीको लिखित प्रतिवेदन उहाँहरूले हामीलाई उपलब्ध गराउनुभएको छ,” दाहालले भने ।

अब उपलब्ध प्रतिवेदनको अध्ययन गरेर कसरी अघि बढ्ने भन्ने सन्दर्भमा छलफल गरिने उले बताए ।

समितिले काुननविद्सहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लगायत सुरक्षा संयन्त्रसँग छलफल गर्ने निर्णय गरेको छ । जसका लागि भोलि नै बैठक बस्ने सम्भावना भएको रहेको न्यौपानेले जानकारी दिइन् । त्यसपछि मात्र सम्बन्धित सहकारीको स्थलगत अनुगमन र अध्ययन गर्ने काम अघि बढाइने उनले बताइन् ।

“हामी सबैसँग छलफल गरेर मात्र स्थलगत अध्ययन अनुसन्धानका लागि पुग्छौँ,” उनले भनिन् । 

समितिका सभापति थापाका अनुसार, बैठकमा समितिले दुरुपयोग भएका बचतकर्ताहरूको पाँच लाखसम्मको रकम फिर्ता गर्ने सरकारको बजेटसम्बन्धी कार्यक्रम लागु गर्नेबारे पनि सहकारी मन्त्रीसँग छलफल गरेको छ ।

Sahakari-Samiti-1718718283.jpg
 

“सरकारले बजेट वक्तव्यमार्फत पाँच लाख रुपैयाँसम्मको बचतकर्ताको बचत फिर्ता गर्ने सन्दर्भमा पनि कार्यक्रम ल्याएको छ । त्यसबारेमा पनि हामीले सहकारीमन्त्रीज्यूसँग छलफल गरेका छौँ । र, समग्रमा आजको छलफलले हामीलाई हाम्रो काम थालनी गरेर अगाडि बढ्ने सन्दर्भमा महत्त्वपूर्ण आधार र बाटो देखाएको छ,” उनले भने । 

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन भएको थियो । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारीको बचत रकम दुरुपयोगमा संलग्न रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निरन्तर छानबिनको माग गरेपछि समिति गठन गरिएको हो । समितिले तीन महिनाभित्र आफ्नो काम सक्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  २०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro