कप भुइँमा खस्छ र टुक्रिन्छ– ट्याङ्ग । अवश्य नै त्यसलाई समाउने हात चिप्लन्छ नेपथ्यको स्पर्शमा । एक, दुई... केही टुक्राहरू अपभ्रंश ! पन जो सायद आफैंमा अस्वीकृत र गन्जागोल छ । ट्या...ङ्ग... विघटन हुन्छ केही, अझ केही ।
अननुभूत बोध यस्तै केहीबाट नै यसरी ध्वनि निस्कन्छ, यति हो अहिले पनि । बोधाङ्कन ? स्थिरताले ध्वनिसित चिप्लेटी खेल्न थाल्छ । एक थोपो ग्लिसरिन ! म ! तिमी या ऊ ? बेअर्थ, समन्वय ! टुक्रा ! यी पनि अब कपै हुन् ?
प्रश्न काट्नुपर्छ, हैन काटिन्छ । प्रत्येकको विलय हुन्छ– म, तिमी या ऊ या चिनियाँ माटोका यी टुक्राहरू सबैको एकै ठाउँमा । एउटै ध्वनिमा जो सङ्गीतमय छ । विलय आफैं हुन जान्छ लामो विस्तारका साथ एक थोपो ग्लिसरिन तलतिरबाट गहु्रँगिँदै र तप्कँदै ।
दुई हातहरू लत्रन्छन्, मस्तिष्कले एउटा शिथिल नियन्त्रण पनि छोडिदिन्छ । कतैबाट फुत्केर आएको घोडा एक्कासि पछारिन्छ । रोमाञ्चक विसङ्गति, उठाइदेऊ लट्ठीको भरमा र टेको देऊ ।
केही केटाकेटीहरूका चकित आँखा फैलँदै–फैलँदै जान्छन् । घोडालाई उभ्याइन्छ र सस्पेन्स यहीँ नै खत्तम हुन्छ (?) । केटाकेटीहरू अलमलिँदै यताउता छरिन्छन् ।
तर एउटै चलाखीले विसङ्गति यहीँ नै छुट्दैन । घोडा त मरिसकेको हुन्छ । निस्तेज आँखाभरिको भ्याकुमसित यस मृत्युलाई अनुभव गर्न सकिन्छ जसले जीवित हुनुका सन्जोगलाई पोजिटिभ र निगेटिभ पारेको छ ।
दुर्गन्ध ! छिः, घोडा कुहिन्छ । करङ मक्किन थाल्छ । सुँकसुँक, कोही अशक्त मान्छे रुन्छ नाक छोपेर । कुहिएको घोडाको एक–एक अंशले धरती फेला पारेको छ । हत्केलामा नाक गुटमुट्याएको मान्छे–छाया निकै पर पुग्छ ।
त्यस सम्भावनाको टाढा । मान्छे र धरती– सामञ्जस्य ! असामञ्जस्य ! यथार्थ भ्याकुम हो । त्यहाँ मान्छेको निर्वाह अड्छ । सुँकसुँक ! ए, त्यस आतङ्कपट्टि नजाऊ । नजाऊ ।
हो । जीवन खालि सुँकसुँक मृत्यु भयङ्कर पश्चात्ताप । नटाँग निरर्थक बाँचेका कुकुरको लुताको अवधिमा । भो, धरती पनि छुनुपर्दैन । मर्ने नै भए पनि आफूलाई अलग राख । माटोको एक–एक डल्लाबाट अलग । प्रकोप हो घोडाको मृत्यु । ‘म मर्छु आफ्नै मृत्यु !’
मान्छेको मृत्यु । मान्छेको स्थिति । यिनलाई पनि आत्मशोध या आत्मबोधले ग्रसित हुन नदिए हुन्थ्यो । के सक्छौ र के सकिन्छ । चमेलीको फूल झर्छ लगातार, लगातार । विश्वास लाग्दैन । फूल निःशब्द झर्छ र कपहरू टुक्रिन्छन् । ट्याङ्ग ! ट्याङ्ग !
यस पक्षमा चाहे विश्वस्त हौँ या नहीँ, विश्वास ! यसका लागि साक्षी– ‘आँखा छन् । कान छन् ।’ तैपनि यता विश्वास लाग्दैन । धूलोभरि पैतालाका डाम छुटेका हुन्छन् ।
यी धरतीका लागि मरिमेट्नेहरूका हुन् । ऊ, त्यो, तिनीहरू सबै लगातार जमिन खन्दा रहेछन् । सुरुङ + ड्याङ + खाल्डो + इनार = शरण । धरती एक्लो उछिट्टिन्छ । यसपछि । आफ्नै लागि मरिमेट्नुबाट मान्छेको सम्पर्क छुट्छ ।
उदाङ्ग झ्याल । चुप लागेर हेर । बेअर्थ झिँगाहरूको ओहोरदोहोर । एक्लो धरती, एक्लो मान्छे । सत्य यो हो कि केटाकेटीहरूका आँखा सधैँ नयाँ विडम्बनामा धुइरेका हुन्छन् । जिज्ञासा जिउनुको अघिल्लो सम्भावनाका लागि पर्याप्त हुन्छ ।
नग्न यष्टि । सानी इभ र सानो एडम । परस्परको स्पर्श हुन्छ, तर थाहा छैन यी के हुन् ? यी फल वर्जित होइनन् । एक रोमाञ्चक अध्यायको उनीहरू आफैं सुरु गर्छन् । जिज्ञासा । परिणाम एक हूल पोट्रेट । लाइफ । त्यसपछि विसङ्गति प्रत्येकको सापेक्ष हुन्छ । निर्दोष सबै हुन्छन् ।
भयङ्करता मान्छेको मन हुन आउँछ या मस्तिष्क । यत्ति नै हो निष्कर्ष ! एक्लो धरती, एक्लो मान्छेको सन्दर्भच्युत हुन्छ । सडकमा रोडाहरू गुल्टिन्छन् । चिप्लेकीराको अल्छी हिँडाइ । यही नै बाध्यता हो के ? चुप, नबोल । सेतो चिप्लो धर्सो लम्बेतान । कति अप्रत्यक्ष छ । बुझ्नुपर्थ्यो ।
युगौँदेखिको वर्जना असहजता । फेरि किन त ? गहुँगिन छोडिदेऊ । साँच्चै त यसो भन्नु हुँदैन । अवश्यै टेक्ने जमिन हराएको छ । हो ! गहु्रँगिन देऊ फेरि घाँटीमा पासो हालेर । भयो ?
‘घोडाको मृत्यु नै सहज थियो ।’
‘के गर्नु त !’
भीड । ए, छोड् केटाकेटीहरू !
‘तमासा हो र ?’
निहुँ चाहिन्छ यिनीहरूलाई पनि । सत्य, असत्यसित जिन्दगी भाग्नुको के खाँचो ? आऊ, आऊ, तमासा नै हो । घाँटी मस्क्यो राम्ररी ? आफूप्रतिको बाध्यता । यही नै अपेक्षा हो । सम्पूर्णतः ?
‘रात हो कि दिन !’
यो हिरण्यकशिपुको अन्त्य होइन । आँखा बन्द गरिदेऊ । यो नछुट्ट्याए पनि हुन्छ । अनिश्चयभित्रै पर्छ मान्छेको स्थिति र परिवेश । केटाकेटीहरू साँच्चै नै मान्छे केही रमाइलोसित, केही डरलाग्दोसित डोरीमा झुल्दो रहेछ ।
स्वीकृत हुन्छ आजीवनको अस्तित्व । सहअस्तित्व ! डोरी काटिदिए हुन्छ । हवाईजहाज उड्छ, मान्छे उड्छ । धरती र मान्छेको सम्पर्क छुट्छ । मान्छेको सन्दर्भ अड्छ माथि भ्याकुममा ।
ट्र्याङ्ग, ट्र्याङ्ग ध्वनिमिश्रित कपका टुक्राका पहाड लाग्छन् । प्रश्न ? केही छैन । अभ्यास बनिसक्छ । आजीवन जिउने । विशेष अनिश्चय ।
(प्रेमा शाहको कथाकृति ‘पहेँलो गुलाफ’बाट ।)