site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
व्यास नगरपालिकाको पुन: मतगणना गरेर एक महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने

पोखरा । स्थानीय तहको निर्वाचन सकिएको दुई वर्षपछि उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकामा पुन: मतगणना गर्नुपर्ने फैसला गरेको छ । सोमबार उच्च अदालतका न्यायधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराइको इजलासले निवेदक दीपकराज जोशीको रिटमाथि दाबी पुग्ने फैसला गरेको हो ।

२०७९ साल वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएको र पुन: मगणना गर्न पाउनुपर्ने भन्दै उमेदवार रहेका जोशीले जेठ १२ गते उच्च अदालतमा रिट दायर गरेका थिए ।

उनको रिटमा सर्वोच्चले सोमबार जोशीको निवेदनमा दाबी पुग्ने फैसला गरेको हो ।

उच्च अदालतले अदालतका रजिस्ट्रारलाई निर्वाचन कार्यालयसँग समन्वय गरेर एक महिनाभित्र पुन: मतगणना गर्न र सोको प्रतिवेदन इजलासमा पेस गर्ने भनेको छ ।

उच्च अदालत पोखराका रजिस्ट्रार अच्युत कुइँकेलले आफ्नो समन्वयमा एक महिनाभित्र मतगणना हुने जानकारी दिए ।

“मतगणना पुन: गर्नुपर्ने भन्ने निवेदकको दाबी थियो । अदालतले चाहिँ निर्वाचन आयोगसँग समन्वय गरेर मतगणना गर्ने र त्यसको प्रतिवेदन इजलासमा पेस गर्न भनेको हो,” उनले भने ।

उनका अनुसार अब निर्वाचन आयोगसँगको समन्वयमा दलका प्रतिनिधि राखेर उचित समय तोकेर पुन: मतगणना हुनेछ ।

त्यतिबेला व्यास नगरपालिकाको निर्वाचनमा अहिलेका मेयर वैकुण्ठनाथ न्यौपाने र एमाले समर्थित स्वतन्त्र उमेदवार दीपकराज जोशीबीच कडा प्रतिष्पर्धा थियो । उक्त निर्वाचनमा नेपाली कांग्रेसका उमेदवार न्यौपानेले १२ हजार ७८ मत ल्याएर विजयी बनेका थिए । जोशीले भने ११ हजार ८२६ मत ल्याएका थिए ।

कांग्रेस नेता गोविन्दराज जोशीका छोरा रहेका जोशी त्यतिबेला एमालेसँगको तालमेलमा चुनाव लड्दा न्यौपानेसँग २५२ मतान्तरले पराजित बनेका थिए ।

स्थानीय तहको निर्वाचनताका मतदान हुनुभन्दा एकदिन अगाडि उनीमाथि कुटपिटसमेत भएको थियो । व्यास नगरपालिका–८ स्थित मतदान केन्द्र निरीक्षणका लागि पुगेका जोशीमाथि कुटपिट भएको थियो । व्यास ८ वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको वडा हो ।

कैँची चुनाव चिह्नबाट निर्वाचनमा होमिएका जोशीले त्यतिबेला कांग्रेसका कार्यर्ताले ज्यान लिने प्रयास गरेको आरोप लगाएका थिए ।

अन्तिम मतगणनापछि निर्वाचन अधिकृतको कार्यालयले न्यौपाने विजयी भएको घोषणा गर्‍यो ।

त्यसका विरुद्ध जोशीले मतगणना निष्पक्ष नभएको भन्दै पुन: मतगणना हुनुपर्ने मागसहित उच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा उनले वडा नं. १ देखि ८ सम्म जितेको मतपरिणाम सुनाइएको तर ९ देखि १४ सम्मको मतपरिणाम विपक्षीको योजनामा षड्यन्त्रपूर्वक आफ्नो विपक्षमा निकालिएको आरोप लगाएका थिए ।

उच्च अदालतमा २०७९ जेठ १२ गते रिट दर्ता भएपछि उच्चले त्यसको भोलिपल्टै कारण देखाउ आदेश जारी गरेको थियो । त्यसपिछ साउन २४ र भदौ ७ मा उक्त रिट हेर्न नभ्याइनेमा थियो । भदौ २८ गते स्थगित, कार्तिक २२ मा हेर्न नभ्याइने, मंसिर २० र  पुस १२ मा स्थगित हुन पुगेको थियो ।

पुस २६ मा हेर्न नभ्याइने, माघ १० मा स्थगित हुँदै उच्चले २०७९ फागुन २३ मा प्रमाण बुझ्ने आदेश गरेको थियो । त्यसपछिका लगातार चारवटा पेसी स्थगित र हेर्न नभ्याइनेमा परेपछि चैत २८ गते उच्चले फेरि प्रमाण बुझ्ने आदेश गरेको थियो । त्यसपछिका लगातार १४ पेसी स्थगित र हेर्न नभ्याइनेमा परे ।

उच्च अदालतले पछिल्ला तीनवटा पेसीमा भने लगातार आदेश गरिरहेको थियो । गत माघ ९ गते आदेश, चैत ६ मा बहस नोट माग्ने आदेश र जेठ १ गते दाबी पुग्ने फैसला गरेको हो ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  २१:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro