site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युवामाझ 'प्रिय' हुक्का : चुरोटभन्दा सयौँ गुणा घातक 

काठमाडौं । पछिल्ला केही वर्षता युवामाझ फेसन बनेको छ, हुक्का सेवन । ई–सिगरेट र हुक्काका कारण युवामाझ सुर्तीजन्य पदार्थको प्रयोग अधिकरूपमा बढेको अध्ययनहरूले देखाएका छन् ।

युवा जमातले प्रिय मानेको हुक्का चुरोट सेवनभन्दा सयौँ गुणा हानिकारक भएको अध्ययनहरूले देखाएका छन् ।

युवा वर्गमा चुनौती बनेको हुक्का

नेपालमा सुर्तीजन्य पदार्थका प्रयोगकर्ता ६७ लाख छन् । यो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को तथ्यांक हो । परिषद्कै तथ्यांकअनुसार सुर्तीजन्य पदार्थको प्रयोगबाट नेपालमा प्रतिघण्टा चारजनाको मृत्यु भइरहेको छ ।

यो संख्या वार्षिकरूपमा हिसाब गर्दा ३७ हजार ५२५ हुन आउँछ ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सन् २०२४ को सुरुआतमा नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग र आर्थिक भारबारे गरेको राष्ट्रियस्तरको सर्वेक्षणमा नेपालमा १५ देखि ६९ वर्षसम्मका ३४.१ प्रतिशत जनसंख्याले सुर्तीजन्य पदार्थको प्रयोग गरिरहेको देखिएको छ ।

प्रतिवेदन अनुसार १०.७ प्रतिशतले धूमपान, १८.९ प्रतिशतले धुवाँरहित सुर्तीजन्य पदार्थ र ४.५ प्रतिशले दुवैखाले पदार्थ प्रयोग गर्ने गरेका छन् ।

सुर्तीजन्य पदार्थ प्रयोग गर्ने ३४ प्रतिशतमध्ये सबैभन्दा धेरै ५५ देखि ६९ वर्ष उमेर समूहका  व्यक्ति धेरै छन् । यो उमेरका ५६ प्रतिशतले कुनै न कुनै प्रकारबाट प्रयोग गर्ने गरेको पाइएको छ । 

तर, युवा जमातमा हुक्का र ई–सिगरेटको प्रयोग तीव्र गतिमा बढेको देखिन्छ । जसमध्ये हुक्कालाई सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐनमा सुर्तीजन्य पदार्थको रूपमा समेटिएकै छैन ।

सर्वेक्षणमा सहभागीमध्ये ७१ प्रतिशतले कुनै न कुनै समयमा हुक्का तानेको बताएका छन् । ११.१ प्रतिशतले दिनहुँ हुक्का प्रयोग गर्छन् ।

अझै डरलाग्दो तथ्यांक त के छ भने हुक्का नियमित प्रयोग गर्नेमध्ये ४६.७ प्रतिशत १५ देखि २४ वर्ष उमेर समूहका युवा छन् । ३५.६ प्रतिशत २५ देखि ३९ तथा १३.३ प्रतिशत ४० देखि ५४ वर्षका छन् । ५५ देखि ६९ वर्ष उमेर समूहका ४.४ प्रतिशतले मात्रै हुक्का तान्ने गरेको सर्वेक्षणले देखाएको छ । 

सर्वेक्षणले ई–सिगरेट प्रयोग गर्नेमध्ये ५८.३ प्रतिशत १५ देखि २४ वर्षका र ३३.३ प्रतिशत २५ देखि २९ उमेर समूहका युवा भएको पनि देखाएको छ । 

यसरी बढ्दै छ हुक्काको प्रयोग

नेपालमा आर्थिक वर्ष २०७६/०७७ यता हुक्काको प्रयोग निरन्तर बढिरहेको पाइएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ६,२६० केजी अयात भएकोमा २०७८/०७९ मा बढेर एकलाख २३२ केजी अयात भएको सर्वेक्षणमा उल्लेख छ । त्यसयता नेपालमा हुक्काजन्य सामग्रीको प्रयोग निरन्तर बढिरहेको छ । 

विशेषगरी १५ देखि ३० वर्षका युवाहरूमा बढी हुक्काको प्रयोग भएको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा सहभागी होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूले हुक्काका ग्राहक १६ वर्षदेखि ३५ वर्षसम्मका युवा बढी भएको बताएका छन् । 

धूमपानका निम्ति छुट्टै कक्ष बनाउनुपर्ने तर हुक्काका लागि बनाउनुनपर्ने तथा युवा जमातले बिना हिच्किचाहट पिउने गरेकाले पनि हुक्काको प्रयोग बढेको उनीहरूले बताएका छन् ।

उच्च माध्यमिक तह र कलेजमा अध्ययन गरिरहेका विद्यार्थी नै हुक्काका ग्राहक बढी भएको उनीहरूले बताएका छन् । बजारमा ३२ भन्दा बढी हुक्काका फ्लेभरहरू उपलब्ध छन् ।

हुक्का चुरोटभन्दा कैयौँ गुणा घातक

सन् २०२२ मा नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सर्वेक्षणले हुक्कामा ८२ प्रकारका हानिकारक तत्वहरू भएको देखाएको थियो । पानीसहितको पाइपबाट हुक्का एक घण्टासम्म तान्दा दुईसय वटा सिगरेट बराबरको धुवाँ फोक्सोमा पुग्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । जसको असर मुख, श्वासनली, फोक्सो र मुटुमा समेत पर्न जान्छ । 

डब्लूएचओका अनुसार धूमपान नगर्ने व्यक्तिभन्दा हुक्का तान्ने व्यक्तिमा मुटुरोगको जोखिम साढे दुई गुणा बढी हुन्छ । हुक्काको धुवाँबाट निस्कने पोलिहाइड्रोकार्बन, कार्बन मनोक्साइड, नाइट्रोजन, नाइट्रिक एसिड, निकोटिनले मुटुमा गम्भीर असर पुर्‍याउँछ । 

यस्तै, हुक्कामा प्रयोग गरिने कोइलाले कार्बन मनोक्साइड धेरै उत्पादन गर्छ, जसका कारण अक्स्जिनलाई एक ठाउँबाट अर्कोमा पुर्‍याउन बाधा पुग्छ ।

एउटा चुरोट पिउँदा आधा लिटर धुवाँ शरीरभित्र जान्छ भने एउटा हुक्का पिउँदा ९० लिटर बढी धुवाँ भित्र जाने गर्छ । यो धुवाँमध्ये केही प्रतिशतमात्रै रगतमा मिसिए यसको असर घातक हुन जान्छ । 

त्यतिमात्रै नभई एउटै पाइप धेरैजना व्यक्तिले प्रयोग गर्दा भाइरल इन्फेक्सन र टीबी सर्ने सम्भावना पनि उच्च हुन्छ । हुक्काको प्रयोगले मुखको र आमाशयको क्यान्सरसमेत निम्त्याउँछ ।

धुवाँ निस्कने भएकाले फ्लेभरमात्रै राखिएको हुक्काले समेत चुरोटसरह नै असर पुर्‍याउने वरिष्ठ फोक्सोरोग विशेषज्ञ डा. अर्जुन कार्की बताउँछन् । त्यसमा पनि जति गहिरो गरी तान्यो त्यति नै बढी असर हुने उनको भनाइ छ । 

हुक्काको धुवाँले दम, मुटुरोग र हृदयघातको जोखिम बढाउने डा. कार्की बताउँछन् ।

नियन्त्रणको उपाय के त ?

डब्लूएचओले सुर्तीजन्य पदार्थमा हुक्कालाई पनि समेटेको छ । तर, नेपालको कानुनमा अन्य सुर्तीजन्य पदार्थ भनिए पनि हुक्काको नाम तोकिएको छैन । 

हुक्का प्रयोगलाई सामान्यरूपमा लिँदा युवामाझ चुरोटभन्दा हुक्का प्रिय बनेको नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल बताउँछन् । हुक्का तथा ई–सिगरेटलाई पूर्ण प्रतिबन्ध गर्नुपर्ने उनको धारणा छ ।

“देशलाई हानि हुने जानकारी हुँदाहुँदै राज्यले के फाइदाका आधारमा आयात गरिरहेको छ ?,” सांसद पौडेल प्रश्न गर्छन् ।

युवाहरू मद्यपान र धूमपानमा बढी भुलिरहेको अवस्थालाई नियन्त्रण गर्न कानुनबाटै निषेध गर्न जरुरी रहेको उनको धारणा छ । 

सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि यसमा लाग्ने कर र खरिद मूल्य बढाउनुपर्ने नेपाल विकास अनुसन्धान प्रतिष्ठानको सुझाव छ । हाल नेपालमा सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा ४१ प्रतिशत कर लगाइएको छ ।

यो दक्षिण एसियाली राष्ट्रहरूमध्ये निकै कम रहेको प्रतिष्ठानका अध्यक्ष डा. कृष्ण पहारी बताउँछन् । विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा ७५ प्रतिशत कर लगाउनुपर्ने मापदण्ड तोकेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro