site stats
बाह्रखरी :: Baahrakhari
देश
परराष्ट्रले इजरायलस्थित नेपाली दूतावासलाई भन्यो– अवस्थाको मूल्यांकन गरी रिपोर्ट पठाउनू

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायलस्थित नेपाली दूतावासलाई त्यहाँको पछिल्लो अवस्थाको मूल्यांकन गरी रिपोर्ट पठाउन निर्देशन दिएको छ । स्थानीय समयानुसार आइतबार बिहान इरानले इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेपछि परराष्ट्रले पछिल्लो अवस्थाका बारेमा रिपोर्ट पठाउन दूतावासलाई भनेको हो ।

“घटनालाई हामीले नजिकबाट नियालिरहेका छौँ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले बाह्रखरीसँग भने, “इजरायलस्थित नेपाली दूतावासलाई त्यहाँको पछिल्लो अवस्थाको मूल्यांकन गरी छिटो रिपोर्ट पठाउन भनिसकेका छौँ ।”

Argakhachi Cement Island Ad

इरान र इजरायलबीचको तनाव बढ्दै गए त्यहाँको अवस्था असहज हुने देखिएपछि परराष्ट्रले रिपोर्ट मागेको हो । इजरायलमा हाल चार हजार ५०० नेपाली केयरगिभरका रूपमा कार्यरत छन् । केही विद्यार्थी पनि इजरायलमा अध्ययन गरिरहेका छन् । अवस्था बिग्रँदै गए इजरायलमा रहेका नेपालीलाई आपत्कालीन उद्धार गरी ल्याउनुपर्ने हुनसक्छ ।

गएको असोजमा इजरायलमाथि लडाकु समूह हमासले आक्रमण गर्दा १० नेपाली विद्यार्थी मारिएका थिए । त्यति बेला सरकारले इजरायलमा रहेका मध्ये साढे २०० भन्दा बढी नेपालीलाई उद्धार गरी ल्याएको थियो ।

केही दिनअघि सिरियामा रहेको आफ्नो महावाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गरेपछि इरानले त्यसको बदला लिने घोषणा गरेको थियो । बदलास्वरूप इरानले आइतबार बिहान इजरायली भूमिमा ड्रोन र मिसाइल आक्रमण गरेको हो ।

इजरायली सेनाले इरानले प्रहार गरेका ३०० भन्दा बढी क्रुज मिसाइल र ड्रोनलाई आकाशमै ध्वस्ता पारेको जनाएको छ । इरानले प्रहार गरेका मिसाइल आकाशमै ध्वस्त पार्न अमेरिका र बेलायतले पनि साथ दिएका थिए । 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्