नयाँ वर्ष लाग्यो कि लागेन, नयाँ वर्ष आयो कि आएन ? यो कुरा जान्ने हुटहुटी बाल्यकालमा मनमा कहिल्यै चलेन । तर, फूलबारी मेला लाग्न कति दिन बाँकी छ भनेर सधैँ दिन गनेर बस्थेँ ।
नयाँ वर्ष लागेर होइन, मेला भर्न जानुपर्ने भएर नयाँ लुगा पाउँथेँ यस दिन । चैतमा पकाएको खानेकुरा वैशाखमा खानुपर्ने भएकाले घरमा मिठोमिठो परिकार पाक्थ्यो त्यस दिन ।
साँच्चिकै, यो दिन म मात्र होइन, गाउँका सबै थारुहरूले विशेष रूपमा मनाउँथे नयाँ वर्ष ।
फागुन महिनादेखि नै सलहेस फूलबारीबाट कमेरो खनेर ल्याउने काम सुरु भइसकेको थियो । म र गाउँका दिदीबहिनी, भाउजूहरू आरी र खुर्पी (खुर्पा) लिएर सलहेस फूलबारीमा कमेरो लिन निस्किन्थ्यौँ ।
वरपर कतै कमेरो पाइँदैन थियो । सलहेस फूलबारीमा मात्रै कमेरो पाइँथ्यो । सलहेस फूलबारीमा बाह्रै मास पानी बगिरहने हुनाले सुक्खा कमेरो पाउन कठिन थियो । गिलो कमेरो मात्र पाइन्थ्यो र पाइन्छ ।
फूलबारी पुग्दा बेली, जटियाहि, बरछवा, सिसौनी, जहदी, गम्हैरिया, मेदनीपुर, पडरियालगायत गाउँबाट थुप्रै स्वास्नीमान्छेहरू कमेरो लिन आएका थिएँ । म भने फूलबारीनजिकै भोटियाटोल गाउँबाट गएकी थिएँ । मेरो गाउँबाट सलहेस फूलबारी एक किमि मात्र पर्छ । त्यहाँ सबै स्वास्नीमान्छेहरू कमेरो खन्न व्यस्त थिए ।
फूलबारीभरि रुखहरू भएकाले फूलबारी शीतल थियो । कमेरोसँगै कालो रङको माटो समेत निस्केकाले एकजनाले माटो खन्ने र बाँकी साथीहरूले माटो धुने काम गरिरहेका थियौँ । हामी कालो माटो पखालेर कमेरो मात्र आरीमा हालिरहेका थियौँ ।
दिन ढल्न लागेको थियो । त्यस दिन समूहमा हामी १५÷२० जना थियौँ । सबैजनाको आरी कमेरोले भरियो ।
टाउकोमा बिरा (टालाटुलीले बनाएको टाउकोमा राख्ने गोलो वस्तु) राख्यौँ । एकार्कालाई कमेरोले भरिएको आरी उचाल्न सहयोग गर्दै भारी टाउकाटाउकामा बोक्यौँ ।
टाउकामा भारी बोकेर हिँड्न सबैलाई गाह्रो भइरहेको थियो । भारीले पाइला चाल्न निकै सकस थियो । त्यसमाथि खेतैखेत हिँड्नुपरेकाले खेतमा भएका आलसका झाङहरू खुट्टामा लट्पटिन्थ्यो । आलीमा भएका ढेकाहरू (माटाका डल्ला) उत्पात बिझ्थ्यो । तर, घर सिँगार्ने र मेला हेर्न जाने कुरा सम्झेर सबै कष्ट पचायौँ छिनमै ।
कमेरोको भारी बोकेर हिँड्दा सबैको अनुहार पसिनाले निथ्रुक्कै भिजेको थियो । सबैका गाला राता देखिन्थे । भारी बोकेर घाँटी तिर्खाले प्याकप्याक भइरहेको थियो । निश्चय पनि घर पुग्दा सबैजना पसिनाले निथु्रक्कै भिजेका थियौँ । यसरी हामी लगालग एक हप्ताजति कमेरो लिन सलहेस फूलबारी गयौँ ।
गाउँमा सरसफाइ सुरु भइसकेको थियो । सबैजना आआफ्नो घर लिपपोत गर्न व्यस्त थिए । मैले पनि घरमा भएका झोल (घरको छानामा भित्रपट्टि जमेको धुलोमैलो) झारेँ । एक दिनभर झोल झार्ने काम गरेँ । अर्को दिन तीनवटा आरीमा कमेरो राखेर भिज्न दिएँ । अनि, नुइर (कपडाको लुडो)ले दिनभरिमा तीनवटा घर लिपपोत गरेँ ।
कमेरोले पोतिएको घर चिटिक्क देखियो ।
महिनौँदेखि गाउँमा राति नाटकको रिहर्सल गरिरहेका थिए युवाहरू । राति गाउँ सुनसान हुँदा रिहर्सलको आवाज सर्वत्र सुनिन्थ्यो ।
खेतमा गहुँ, आलस, रहर, मुसुरो र चनाको दाल पाकिसकेको थियो । गाउँलेहरू नयाँ वर्ष र मेलाभन्दा अगाडि नै सबै काम सकाउन चाहन्थे । फुक्का भएर नयाँ वर्ष मनाउन र मेला हेर्न चाहन्थे ।
त्योसँगसँगै गाउँलेहरू गहुँ र दालदलहन भित्र्याउन व्यस्त थिए । गाउँले मध्ये कोही गहुँ त कोही दालको दौनी गर्नमा व्यस्त थिए । कोही दौनी गरिएका दाल र गहुँ ओसाउन (हावामा निफन्न) व्यस्त थिए ।
नयाँ वर्ष आउनुअगाडि गहुँको दौनी गर्ने काम नसल्टाएका गाउँलेहरूको खलियानमा गहुँको बोझाको चाङ देखिन्थ्यो । हाम्रो खलियानमा पनि दौनी गर्न बाँकी रहेका गहुँका बोझाहरूको चाङ थियो । दालदलहन भने दौनी भइसकेको थियो ।
नयाँ वर्ष अर्थात् वैशाख १ गते सिरहा जिल्लाको लहान बजारको तीन किलोमिटर पश्चिम भोटियाटोल गाउँछेउमा रहेको सलहेस फूलबारीमा दुई दिन मेला लाग्ने गर्छ ।
सानो मेला लाग्ने दिन आइसकेको थियो । चैत महिनाको अन्तिम दिन सानो मेला लाग्ने परम्परा छ ।
त्यस दिन बिहानैदेखि गाउँमा चहलपहल बढेको थियो । पाहुनापासा आउन थालेका थिए । चैतमा पकाएको खाना वैशाख पहिलो दिन अर्थात् नयाँ वर्षको दिन खाने चलन रहेकाले त्यसअनुरूपको काम हुँदै थियो ।
बेलुकातिर बा मेला जान तयार भइरहनुभएको थियो । सानो मेलाका दिन घरका बुढाबुढीहरू मेला हेर्न जान्छन् । र, वैशाख १ गते ठूलो मेलाका दिन तिनले छोरीबुहारीहरूलाई मेला हेर्न पठाउँछन् । बुढाबुढीहरू ठूलो मेलाको दिन घर रखबारी गरेर बस्छन् ।
गाउँका अग्रजहरू हजुरबा, ठूलाबा, काकाहरू सबैजना समूहिक रूपमा मेला हेर्न निस्किनुभो । सबै हिँड्न सक्ने नातिनातिना र छोराछोरीहरू लिएर निस्किएका थिए । आमाले मलाई पनि, ‘बापसङे जो धाम देखैले’ (बासित मेला हेर्न जा ।) भनेर आदेश दिनुभो ।
मैले भनेँ, ‘हम काइलके जेबै ।’ (म भोलि जान्छु ।) म दिदीहरूसँग जाने विचारमा थिएँ ।
मेरो कुरा सुनेर आमाले भन्नुभो, ‘आइयो जो । काइलो जाइहे ।’ अर्थात्, आज पनि जा र भोलि पनि जा भन्ने संकेत गर्नुभयो ।
आमाको कुरा सुनेर खुसी भएँ । अघिल्लो दिनै बजारबाट दाइले किनेर ल्याइदिनुभएको नयाँ लुगा र चप्पल लगाएर म बासँग मेला हेर्न निस्केँ ।
मेरा साथीहरू मनोहर, रामलगन, सुजित, दीपा, रीता, प्रमिला, अनुराधा, नुनु, गुन्जा, चन्दन पनि आआफ्ना बासित मेला हेर्न निस्केका थिए ।
१५ मिनेट हिँडेपछि हामी सबै मेलास्थल पुग्यौँ । चारैतिर पर्ती खेत, खेतहरूको बीचमै सलहेस फूलबारी थियो । खेतमा टेन्टहरू लगाएर दुकान थापेका थिए व्यापारीहरूले ।
मेरा बाले लहरै थापिएका सिन्दूर, पोते, चुरा र खेलौनाको दुकानहरूतिर देखाउँदै भन्नुभो, ‘यी सब इन्डियन चियै । इन्डियासे आइबके दोकान खोलने छै ।’ (यी सबै इन्डियनहरू हुन् । इन्डियाबाट आएर दुकान थापेका हुन् ।)
जेरीको दुकानतिर देखाउँदै उहाँले भन्नुभो, ‘आपन गामके छेदुवा, खुटौनावाला जिलेबिके दोकान खोलने छै ।’ (हामै्र गाउँको छेदुवा र खुटौनावालाले जेरीको दुकान थापेका छन् ।)
मेलामा उत्पात घुइँचो थियो । नितान्त सुक्खा पर्ती खेतबाट धुलो उडिरहेको थियो । धुलाम्मे भीडलाई छल्दै हामी गहवरनजिक पुग्यौँ । बाले गहवर देखाउँदै भन्नुभो, ‘यी मालिनके गहवर चियै ।’ (यो मालिनको मन्दिर हो ।)
गहबरको छेउमा भएको रुखतिर देखाउँदै उहाँले फेरि भन्नुभो, ‘यी गाछमे देख, आइके टुस्याल छै । काइल फूल फुलतै ।’ (रुखमा हेर्, आज मुना पलाएको छ । भोलि फूल फुल्नेछ ।)
मालिनको गहबर छेउमा भएको हारम फूलको रुखमा चैत महिनाको अन्तिम दिन मुना पलाउँछ र वैशाख १ गते ढकमक्क फुल्छ । वर्षभरिमा दुई दिन मात्रै फुल्ने यो फूल र मेला हेर्न देश–विदेशबाट दर्शनार्थीहरू आउने गरेका छन् ।
मेलामा यतिखेर हामी आआफ्ना अभिभावकको हात समातेर हिँडिरहेका थियौँ । भीडमा छुट्ने र हराउने भय जो थियो ।
मेरा बाले मन्दिरकाका मूर्तिहरू देखाउँदै भन्नुभो, ‘मालिन सात बहैन छेलै । यी सातो बहैनके मुरूत चियै । अकरौके नाम रेश्मा, कुश्मा, पनमा, फुलुवा, दौना, हिरिया या जिरिया छेलै । यी मालिन सबके मुरूत चियै ।’ (मालिनहरू सात दिदीबहिनी थिए । उनीहरू सातै दिदीबहिनीका यी मूर्तिहरू हुन् । यिनीहरूका नाम, रेश्मा, कुश्मा, फुलुवा, पनमा, दौना, हिरिया, जिरिया हुन् ।)
हामीले मालिनको मन्दिरमा पैसा चढाउँदै ढोग्यौँ ।
हामी फेरि बाको हात समातेर दक्षिणतिर लाग्यौँ । अलिकति हिँडेपछि फेरि गहबर आयो । गहबरमा हात्तीमा चढेको मूर्ति देखाउँदै बाले भन्नुभो, ‘यी सलहेसके मूरूत चियै । सलहेसके बापके नाम भैरव गोपाल सोमन छेलै । पाँचौँ शताब्दीके तरेगना गोविन्दपुरगढके राजा हिन्दूपतिके सेनापति छेलै सलहेस ।’ (यो सलहेसको मूर्ति हो । सलहेसका बुबाको नाम भैरवगोपाल सोमन थियो । सलहेस पाँचौँ शताब्दीको तरेगना गोविन्दपुरगढका राजा हिन्दुपतिका सेनापति थिए ।)
हामी सबैले सलहेसको मूर्तिलाई ढोग्यौँ ।
हामी ढोगेर भीड छिचोल्दै निस्किरहेका थियौँ । हामी केटाकेटीका आँखा मेला हेर्न कम र मेलामा भएका खेलौना र मिठाईतिर बढी गइरहेको थियो । जुन स्वाभाविक थियो ।
गुन्जा मिठाई खान्छु भनेर आफ्नो बासँग भनिरहेकी थिई । हाम्रो मन बुझेरै बाले हामीलाई मन पर्ने खेलौना र मिठाईहरू किनिदिनुभो ।
फेरि खेतैखेत आधा घण्टा हिँड्यौँ हामी । ढुनमुनी गाउँतिर भएको गहबरमा पुग्यौँ । गहबरमा राक्षसलाई भगवान्ले भालाले घोचिरहेको मूर्ति देख्यौँ । त्यहाँ पनि भगवान्को मूर्तिमा पैसा चढाउँदै ढोग्यौँ ।
अनि, मेलामा किनेको जिलेबी खाँदै घर फर्कियौँ । मेलाको कोसेली भनेर बाले जेरी नै किन्नुभएको थियो ।
घर फर्किंदा पाहुनाले आँगन भरिएको थियो । मामामाइजू, दिदीभिनाजु, मौसामौसी (सानोबासानिमा)हरू नयाँ वर्ष मनाउन गाउँ आइसक्नुभएको थियो ।
घरमा आमाले तेलपौर रोटी, कचरी, पकौरी, बरी, प्याजी, बैगनी (भन्टालाई बेसनको लेप लगाएर तेलमा तारेको तरुवा), आलुचिप्स, फुलौरी (चामलको पिठोको मस्यौरा) र फोफी (ढुंग्र्री) फुलाइसक्नुभएको थियो ।
मामा, मौसा र भिनाजुहरू बा र दाइसँग बसघरा (केटामान्छे सुत्ने गुहालीछेउको घर)मा बसेर कुरा गरिरहनुभएको थियो ।
यता, आँगनमा दुःखसुखको कुरा गर्दै माइजू, मौसी, दिदीहरू आमालाई पुरी, तरकारी र खीर बनाउन सघाइरहनुभएको थियो ।
रातिको खानाका लागि पुरी, जिलेबी, खीर र तरकारीमा आलुदम पाक्यो ।
आमाले पकाउनुभएको तेलपौर रोटी, बरी, कचरी, पकौरी, प्याजी र बैगनी अलिअलि खायौँ र बाँकी भोलि बिहान खान भनेर आमाले राख्दै भन्नुभो, ‘चैतके निन्हल वैशाखमे ख्याम ।’ (चैतमा पकाएको वैशाखमा खानुपर्छ ।)
यसरी मेरो गाउँमा बितेको साल पकाएको खानेकुरा नयाँ सालमा खाएर नयाँ वर्ष मनाउने चलन छ ।
आज वैशाख १ गते अर्थात् नयाँ वर्ष । बिहानै घरमा जखमले खसी काटियो । पाहुनालाई पुग्ने मासु राखेर बाँकी मासु दाइले बेच्नुभो । छिमेकीहरूले किनेर लगे ।
छिमेकीहरूका घर पनि पाहुनाले भरिएका थिए । नयाँ वर्ष मात्र मनाउने भइदिएको भए पाहुना त्यति धेरै आउँथेनन् होलान् । तर, गाउँछेउकै सलहेस फूलबारीमा सोही दिन मेला पनि लाग्ने भएकाले नयाँ वर्ष मनाउनुका साथै मेला हेर्न र आफन्त भेट्न पाहुना आउँथे नै ।
थारु गाउँभरि खसीको मासु पाकेको मगमग बास्ना आइरहेको थियो । गाउँमा चहलपहल धेरै बढेको थियो । नयाँनयाँ अनुहारको आगमन भएको स्पष्ट देखिएको थियो ।
बा बिहानै उठेर झाप चढाउन फेरि मेलातिर गइसक्नुभएको थियो । बिहानै नुवाइधुवाइ गरेर मुखमा पानी समेत नहाली सलहेसको गहबरमा झाप (तराईमा बस्ने मालिन जातका मानिसले सेतो कागज र सन्ठीबाट बनाइएको देउतालाई चढाइने वस्तु) चढाउने चलन छ । भाकल गरेकाहरूले मात्र झाप चढाउँछन् ।
बिहान गहबरमा झाप चढाएर बा घर फर्केपछि जलखै (बिहानको नास्ता)मा अघिल्लो दिन अर्थात् पुरानो सालको अन्तिम दिन पकाइएका परिकारहरू वैशाख १ गते पाहुनाहरूसँग रमाइलो गर्दै खाइयो । यसरी हामीले नयाँ वर्ष मनायौँ ।
दिउँसो उत्पात गर्मी थियो । एकातिर मेला र नयाँ वर्षको रौनक थियो भने अर्कोतिर गर्मीले जतिखेर पनि जिउभरि खलखली पसिना बगिरहेको थियो ।
बेना (बाँसको चोयाले बनाइएको हम्किने पंखा) हम्केर साध्यै थिएन । भान्सामा खटिरहेका आमा र दिदीहरूको अनुहार पसिनाले निथु्रक्क देखिन्थ्यो ।
खाना पाक्यो । खानामा रहरको दाल, आलु तरुवा, कचरी, बरी, भन्टा, परबरको तरुवा र खसीको मासु पाकेको थियो । सुरुमा बा, दाइ, मामा, भिनाजु र मौसाहरूले खाना खानुभो । त्यसपछि अरूहरूले खाए ।
खाना खाएर सबैजना नयाँ लुगा लगाएर मेला जान तयार भयौँ । तर, चर्को घाम र उखरमाउलो गर्मीका कारण घरबाट निस्किनै मन लागेको थिएन, कसैलाई पनि ।
साँझ घाम कम भएपछि हामी सबै मेला जान निस्कियौँ । बा अघिल्लो दिन पनि र नयाँ वर्षको बिहानै मेला घुमेर आइसक्नुभएकाले उहाँले घर रखबारीको जिम्मेवारी लिनुभो ।
घरमा कोही नभएको मौका छोपेर चोरी गर्न आउन सक्छन् । त्यस दिन सारा गाउँ मेला हेर्न निस्किएकाले गाउँ सुनसान हुन्छ । एकजना घर कुरुवा बस्नुपर्छ । त्यसकारण बा घरमै बस्नुभो ।
गाउँको डगहरमा मेला हेर्न जाने गाउँले र पाहुनाहरूको भीड थियो । भर्खरका बेहुलीहरू घुम्टो ओढेर निस्केका थिए । ससाना बच्चा भएका आमाहरू केटाकेटीलाई डोर्याउँदै, काखे बच्चा भएकाहरू काखमा नानी बोकेर मेला हेर्न लहरै गइरहेका देखिन्थे । लोग्नेमान्छे कोही पैदल त कोही साइकलमा अनि कोही मोटरसाइकलमा मेला हेर्न दौडिरहेका थिए ।
गाउँबाट निस्केर पाँच मिनेट हिँडेपछि महेन्द्र राजमार्ग आइपुग्यो । महेन्द्र राजमार्ग कटेर १० मिनेट हिँडेपछि हामी मेला पुग्यौँ । मेलामा मान्छेको भीड थियो । गर्मी त्यस्तै, भीड त्यस्तै । खेतबाट निस्केको धुलो र होहल्ला पनि त्यस्तै ।
भारतबाट मेला भर्न आएका दर्शनार्थीहरू साथीहरूको समूहबाट भीडमा हराएका थिए । हराएको खबर माइकमा सबैतिर सुनिने गरी मेलामा खटिएका स्वयंसेवकहरूले गराइरहेका थिए । त्यहीँ सूचनासहित मान्छेको नाम, ठेगाना भनिरहेका थिए ।
भीडभाड, गर्मी, धुलो, होहल्ला छल्दै हामी मालिनको मन्दिर पुग्यौँ । सबै दर्शनार्थीहरूका आँखा त्यहाँ फुल्ने फूल हेर्नमा व्यस्त थियो ।
मैले अघिल्लो दिन मुना पलाएको देखेकी थिएँ । रातभरिमै पलाएका मुनाहरू फक्रेर फूल फुलिसकेको थियो ।
मालिनको गहबरअगाडि भएको रुखमा मसिनो सेतो फूल फुलेका थिए । फूल हेर्दै आमाले मौसी र माइजूलाई भन्नुभो, ‘यी फूल मालिन सलहेसके चरहाइ छै । यी फूल जबतक फुलतै तबतक मालिन सब सलहेसके प्रेम करैत रहतै, से किंबदन्ती छै ।’ (यो फूल मालिनहरूले सलहेसलाई चढाउँछन् । जबसम्म यो फूल फुलिरहन्छ, तबसम्म मालिनहरू सलहेसलाई प्रेम गरिरहन्छ भन्ने किंवदन्ती छ।)
मालिन र सलहेसको प्रेमसम्बन्धी किंवदन्ती आमाले सुनाउनुभो । मेला हेरेर बेलुकी मेलाको कोसेली जेरी, खजा र मुङुवा मिठाई आमाले किन्नुभो । मिठाई किनिसकेपछि हामी घर फर्कियौँ ।
घर फर्किंदा तिर्खाले घाँटी प्याकप्याक भइरहेको थियो । कल पेल्दै एक बाल्टिन पानी भरेर दिदीले ल्याउनुभो । लोटाले पालैपालो सबैजनाले चिसो पानी पियौँ ।
त्यसपछि केही समयको वार्तालापपछि रातिको खाना खायौँ । गाउँ घन्किने गरी साउन्ड बक्समा गीत बजेको सुनियो । यो आवाज नाटक हुने ठाउँबाट आइरहेको थियो ।
नयाँ वर्ष र पाहुनालाई स्वागत् तथा मनोरञ्जन गराउन गाउँका युवाहरू महिनौँअगाडिदेखि नाटकको रिहर्सल गरिरहेका थिए । त्यही नाटक आज आयोजना हुँदै थियो ।
पञ्चायत बस्ने गाउँमा चोक थियो । त्यहाँ फराकिलो ठाउँ थियो । एकैपटक हजारौँजना अट्न सक्ने फराकिलो ठाउँ थियो । त्यही ठाउँमा नाटक आयोजना गरिएको थियो ।
उप्रान्त भात खाएर, घरमा ताल्चा लगाएर पाहुनासहित हामी सपरिवार नाटक हेर्न गयौँ ।
नाटक मञ्चन गर्न ठूलो मञ्च बनाइएको थियो । मञ्चमा झिलिमिली बत्ती बलिरहेको थियो । ठूलो आवाजमा साउन्ड बक्समा गीत उस्तै घन्केको थियो । गाउँका श्यामकुमार नायक, प्रकाश नायिका, सुरेन्द्र काका बा, भिखरा काका आमा, पुष्कर र अन्य युवाहरू गुन्डाको पात्रमा अभिनय गरिरहेका थिए । नाटकको बीचबीचमा नृत्य पनि देखाइन्थ्यो ।
नृत्य गर्ने नृत्यांगनाहरूलाई बाहिरबाट बोलाइएको थियो । नृत्यांगनाहरूलाई पैसा तिरेर भाडामा ल्याइएको थियो । उनीहरूको खानपान र भाडा खर्च बेहोर्न युवाहरूले गाउँको प्रत्येक घरबाट चामल र पैसा चन्दा उठाएका थिए ।
नाटक हेर्ने बेला हास्य दृश्यमा दर्शकहरू हाँस्थे । दुःखी दृश्यमा मौन बस्थे । नृत्य हेर्ने बेला रमाइलो गर्दै ताली पड्काउँदै नृत्यांगनाहरूलाई साथ दिन्थे ।
नाटकमा थारु भाषाको संवाद थियो भने नृत्यांगनाहरू थारु भाषामै नृत्य गरिरहेका थिए । रातभर सुतेका थिएनन् गाउँले र पाहुनाहरू । बिहान ६ बजे नाटक सकियो अनि हामी सबै घर फर्कियौँ ।
त्यस दिन रातभरि अनिदो बसेर नाटक हेर्दै नयाँ वर्ष मनायौँ । बिहान घर फर्किंदा निद्राले जिउ गलेको अनुभव भइरहेको थियो । त्यही बेला बा र आमाले जगमा पम्पबाट पानी भरेर ल्याउनुभो । हातले पानी छ्याप्दै मेरो शिरमा हात राख्दै भन्नुभो, ‘जुरशीतलके पाइन ले ।’ (जुरशीतलको पानीले । अर्थात्, जुरशीतलको आशीर्वाद छ तँलाई ।)
भोकै पेट नुवाइधुवाइ सकाएर ठूलाले सानालाई शिरमा र सानाले ठूलालाई खुट्टामा अँजुलीले पानी छ्यापेर आशीर्वाद दिँदै थारु समुदायमा यही दिन जुरशीतल मनाउने चलन छ ।
बेलुकी फेरि तरेगना गोविन्दपुरगढमा लाग्ने पकडियागढ मेला हेर्न जानु थियो ।
प्रत्येक साल हामी पुरानो वर्षलाई बिदा गर्दै नयाँ वर्षलाई धुमधामले यसरी नै स्वागत गर्दै आइरहेका छौँ ।