site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
६४ वर्षमा जहाज ठोक्किएर ३५ पूल भत्किए, १८ वटा अमेरिकामै

काठमाडौं । अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर सहरस्थित फ्रान्सिस स्कट कि ब्रिज एक कार्गो जहाज ठोक्किएपछि भत्किएको छ । दुर्घटनामा पुलमा काम गरिरहेका आठजना वेपत्ता भएका थिए । तीमध्ये दुई जनाको उद्धार भएको छ । ६ जनाको मृत्यु भएको आशंका गरिएको छ ।

मंगलबार बिहान करिब १ बजेर २७ मिनेटमा कन्टेनर बोकेको जहाज अमेरिकाको पूर्वी तटमा पुलको एक सर्पोट पिल्लरमा ठोक्किएको थियो । पुलको भत्किएको हिस्सामा रहेका गाडीहरू पाटाप्सको नदीमा खसेका थिए । त्यही समय आठजना कामदार पनि नदीमा खसेर बगेका थिए ।

पुलमा ठोक्किने दि डाली नामको ३०० मिटर लामो जहाज सिंगापुरमा दर्ता छ । सोही दिन १ बजे बाल्टिमोर बन्दरगाहबाट श्रीलंकाको राजधानी कोलम्बोका लागि जहाजले यात्रा सुरु गरेको थियो । जहाज अप्रिल २२ मा गन्तव्यमा पुग्ने बताइएको थियो ।

Dabur Nepal
NIC Asia

दुर्घटनाका बेला चालक दल नभएर स्थानीय चालकले जहाजलाई दिशानिर्देश गरिरहेका थिए । ती चालक त्यस्तै दुर्घटनाबाट जोगाउनका लागि जहाजमा सवार थिए । 

अधिकारीहरूले चालक दलका सबै २२ सदस्यलाई सोधपुछ गरिएको र सबै सकुशल रहेको बताएका छन् ।

कसरी गुम्यो जहाजको नियन्त्रण ?
बन्दरगाहबाट छुट्नबित्तिकै जहाजले ‘प्रोपल्सन’ गुमाएको बताइएको छ । चालक दलले मेरिल्यान्डका अधिकारीलाई जहाजले नियन्त्रण गुमाएको जानकारी गराएका थिए ।

अमेरिकी पाइलट एसोसिएसनका कार्यकारी निर्देशक एवं जनरल काउन्सिल क्ले डायमन्डले एक बजेर २० मिनेटमा जहाज पूर्णरूपमा ‘ब्ल्याकआउट’ भएको बताएका छन् । उनले पुलमा ठोक्किनुअघि जहाजले इन्जिन पावर र इलेक्ट्रिकल पावर दुवै गुमाएको बताएका समाचारमा उल्लेख छ । 

जहाज त्यतिबेला उक्त क्षेत्रका लागि सामान्य मानिने १४.८ किलोमिटर प्रतिघण्टाको गतिमा थियो ।

जहाजले पावर गुमाएपछि डिजेल ब्याकअप जेनेरेटर सक्रिय भएर विद्युतीय प्रणाली पुनःस्थापित भएका थिए । चालकले तत्कालै जहाजलाई दायाँ मोडिनबाट रोक्न रडरमा काम गर्न र पोर्ट एंकर ड्रप गर्न आदेश दिएका थिए । उनले पुल बन्द गराउन समेत सम्पर्क गरेका थिए ।

भिडियोमा जहाजले पावर गुमाएको र फेरि आएको देखिएको प्रोपल्सनले नभएर जेनेरेटरका कारण भएको समाचारमा उल्लेख छ । 

कहाँ भयो घटना
करिब २.६ किलोमिटर लामो चार लेनको पुल अमेरिकी राष्ट्रिय गान लेखक फ्रान्सिस स्कट किको नामबाट नामकरण गरिएको हो । यो पुल मध्य बाल्टिमोरको दक्षिणपूर्वमा पटापस्को नदीमा छ । पुल अमेरिकी राजधानी वाशिंगटन डीसीको उत्तरपूर्वीमा अवस्थित औद्योगिक सहर बाल्टिमोरको सडक सञ्जालको प्रमुख हिस्सा हो ।

सन् २०२३ मा यो पुलबाट एक करोड २० लाखभन्दा बढी व्यावसायिक र यात्रुवाहक सवारीसाधनले ओहोरदोहोर गरेका थिए । आर्क आकारको पुल सन् १९७७ देखि सञ्चालनमा आएको थियो । पुलले बाल्टिमोरको हकिन्स पोइन्ट र डन्डल्कको सोलर पोइन्टलाई जोड्छ ।

सन् २०२३ मा बाल्टिमोरको बन्दरगाहले ४ लाख ४४ हजारभन्दा बढी यात्रु र ५ करोड २३ लाख टन विदेशी कार्गो व्यवस्थापन गरेको थियो । बाल्टिमोरको बन्दरगाहले कृषि र निर्माण सम्बन्धी मेसिनरी, चिनी, जिप्सम र कोइलाका साथै निसान, टोयोटा, जनरल मोटर्स, भोल्भो, जगुआर र ल्यान्ड रोभरलगायत कार निर्माताको आयात निर्यात व्यवस्थापन गर्छ ।

पुलमा को थिए ?
दुर्घटना हुँदा पुलमा आठजनाले खाल्डो पुर्ने काम गरिरहेका थिए । तीमध्ये दुईजनाको उद्धार भएको थियो भने ६ जना वेपत्ता छन् । वेपत्ता हुनेमा दुईजना ग्वाटेमालाका नागरिक तथा मेक्सिको, होन्डुरस र एल साल्भाडोरका नागरिक छन् ।

सँगै काम गरिरहेको अर्काे निर्माण कम्पनीका कामदारले हराएका व्यक्ति ब्रेक समयमा रहेको र पुल भत्किँदा कोही ट्रकमा बसिरहेको बताएका छन् ।

मेरिल्यान्डका गभर्नर वेस मूरले पीडित परिवारसँग भेट गरेका छन् । 

कस्तो असर पर्ला ?

अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसबाट सरकारले घटनाबारे प्रतिक्रिया दिने र पुल बनाउने बताएका छन् । बन्दरगाह अर्काे सूचना जारी नभएसम्मका लागि बन्द भएको छ ।

यो घटनाले महिनौँ अथवा वर्षाैंसम्म बाल्टिमोरको बन्दरगाह र पूर्वी तटमा यातायात एवं ढुवानी ठप्प हुने आंकलन गरिएको छ । “यो पुल गुमाउनु पूरै क्षेत्र र पूर्वी तटका लागि विनास हो,” मेरिल्यान्ड राज्यका सिनेटर जोनी रे सालिङले भनेका छन् ।

बाल्टिमोरको बन्दरगाह अमेरिकाको नवौं व्यस्त बन्दरगाह हो । यसले १५ हजार प्रत्यक्ष रोजगारी दिन्छ भने एक लाख ४० हजारभन्दा बढी मानिस आश्रीत छन् ।

यो नौलो घटना हो ?
सन् १९६० देखि २०१५ सम्म पानीजहाज वा बार्ज ठोक्किएर ३५ वटा महत्वपूर्ण पुल भत्किएका छन् । ती मध्येका १८ वटा पुल अमेरिकाकै छन् । सन् २०१८ को एक रिपोर्टअनुसार यी घटनामा ३४२ जनाको मृत्यु भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro