site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सेयर खरिद–बिक्रीमा लगानीकर्ता दोहोरो कमिसनको मारमा परेकै हुन् ?

काठमाडौं । केही दिनअघि ‘ग्लोबल मनी विक, २०२४’ को अवसरमा धरानमा आयोजित एक कार्यक्रममा सेयर लगानीकर्ता जयप्रकाश शर्माले ब्रोकरलाई दोहोरो कमिसन तिर्दा लगानीकर्तालाई मार परेको बताए । कारोबार गर्न बित्तिकै कमिसन तिर्नुपर्ने व्यवस्था एकतर्फी हुनुपर्ने उनको भनाइ थियो ।

“मैले ५०० कित्ता सेयर किने भने किन्दा र बेच्दा ब्रोकरलाई कमिसन तिर्नुपर्छ । यो एउटा मात्र हुनुपर्छ,” शर्माले भनेका थिए, “सरकारले पनि एउटैमात्र कर लिन्छ, डबल लिँदैन । यसमा तपाईंहरूको के छ ?”

उनको भनाइ ब्रोकर कमिसन दोहोरो हुन नहुने थियो । कतिपय लगानीकर्तालाई पनि शर्मालाई जस्तै दोहोरो कमिसन ठिक लागेको छैन । हुन त व्यवसायीले नाफा बढी लिन खोज्नु स्वाभाविक नै हो ।

कतिपय लगानीकर्ता सेयर बजारमा नाफा कमाउनैपर्छ, बजार घट्नै हुँदैन भन्ने भावले पनि बोल्दै हिँडेको पाइन्छ । उनीहरूले बजारलाई बुझेका भए पनि सामाजिक सञ्जालमा आफ्नो प्रभाव बढाउन बुझ्दै नबुझे जसरी प्रचार प्रसारमा लागेका पनि पाइन्छ ।

बजारलाई राम्रोसँग बुझेका लगानीकर्ता पनि ब्रोकरलाई दोहोरो कमिसन तिर्दा आफूहरू मारमा परेको बताउँदै आएका छन् । सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुलेल पनि यो विषयमा नियामक निकायसँग पटक–पटक आवाज उठाएको बताउँछन् ।

Global Ime bank

“हामीले सेयर किन्दा र बेच्दा पनि कमिसन तिर्नुपर्छ । यो कुराको बारेमा हामीले नियामक निकायसँग आवाज उठाइरहेका छौँ,” फुलेलले बाह्रखरीसित भने, “यो कुराको सुनुवाइ भइरहेको छैन ।” 

अहिले लगानीकर्ताले सेयर खरिद–बिक्री गर्दा प्रतिकारोबार ०.२७ देखि ०.४० प्रतितसम्म कमिसनको रूपमा ब्रोकरलाई तिर्नुपर्छ । कसैले ५० हजारसम्मको कारोबार गरे ०.४० प्रतिशत कमिसनबापत बुझाउनुपर्छ । 

त्यसैगरी, ५० हजारदेखि पाँच लाखसम्म ०.३७ प्रतिशत, पाँच लाखदेखि २० लाखसम्म ०.३४ प्रतिशत, २० लाखदेखि एक करोडसम्म ०.३० प्रतिशत र एक करोडभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत कमिसन लगानीकर्ताले तिर्नुपर्छ ।

यो कमिसनबाहेक लगानीकर्ताले पुँजीगत लाभकर तिर्नुपर्छ । लगानीकर्ताले अल्पकालीन र दीर्घकालीन गरी दुई किसिमका लाभकर तिर्नुपर्छ । एक वर्षभन्दा कम अवधिको सेयर कारोबार गरे सरकारलाई अल्पकालीन लाभकरको रूपमा ७.५ प्रतिशत तिर्नुपर्छ । एक वर्षभन्दा बढीको पछि कारोबार गरे दीर्घकालीन लाभकरको रूपमा पाँच प्रतिशत तिर्नुपर्छ । यो लगानीकर्ताले तिर्नुपर्ने लाभ कर हो ।

सेयर कारोबार गर्दा ब्रोकरलाई तिर्ने रकम ठूलो नभए पनि दोहोरो तिर्दा आफूहरू मारमा परेको सेयर लगानीकर्ताहरूको भनाइ छ । उनीहरू यो एकतर्फी हुनुपर्ने माग गर्दै आएका छन् ।

कतिपयले एकतर्फी कमिसन बढाएर लागाउनुपर्ने भनिरहेका छन् भने कतिपयले कमिसन दुवैतर्फी लगाएर घटाउनुपर्ने बताउँदै आएका छन् ।

लगानीकर्तालाई अनलाइन तथा अफलाइन सेवा दिएबापत ब्रोकरहरूले यो शुल्क लिने गरेका छन् । यस्तो शुल्क ब्रोकर आफैँले तोक्दैनन् । नेपाल धितोपत्र बोर्डले नै यो शुल्कको निर्धारण गरेको हुन्छ । लगानीकर्ताले कारोबार गर्ने बित्तिकै यस्तो कमिसन अनिवार्य तिर्नुपर्छ । दोहोरो कमिसन नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय अभ्यास नै रहेको पनि बताइएको छ ।

ब्रोकरहरू लगानीकर्ताले गरेको कारोबारको कमिसनले चल्ने भएकाले पनि एकतर्फी हुन नहुने तर्क धेरैको छ । ब्रोकर कम्पनीहरूले रोजगारी सिर्जना गर्न ठूलो योगदान गरेका छन् । प्रशासन चलाउन तथा कर्मचारीको तलब भत्ताको व्यवस्था यही कमिसनबाट गर्नुपर्ने भएकाले एकतर्फी मात्र लागु गर्दा न्यायसम्मत नहुने पनि कतिपयको तर्क छ ।

लगानीकर्ताहरूले फरक–फरक ब्रोकरसँग खरिद–बिक्री गर्ने र दुवैतर्फ कमिसन लाग्ने स्टक ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष धर्मराज सापकोटा बताउँछन् । किन्ने र बेच्ने लगानीकर्ता फरक–फरक ब्रोकरका हुने भएकाले फरक–फरक ब्रोकरलाई सेवा लिएबापत शुल्क तिर्नुपर्ने उनी बताउँछन् ।

“किन्दाखेरीको कमिसन र बेच्दाखेरीको कमिसन भन्ने कुरै भएन नि । किनभने किन्ने इभेस्टर र बेच्ने इन्भेस्टर फरक ब्रोकरका हुन्छन्,” सापकोटाले भने, “उनीहरूले आफ्नै ब्रोकरलाई सेवा लिएबापत दिएको शुल्क हो त्यो ।”

अन्तर्राष्ट्रिय अभ्यासमा सेयर किन्दा वा बेच्दा दुवैतर्फ शुल्क लाग्ने उनी बताउँछन् । ब्रोकरले सेवा दिएबापत सामान्य शुल्क लिनु नौलो कुरा नभएको उनको भनाइ छ । व्यवसाय गर्दा लाग्ने शुल्कलाई ठूलो विषयका रूपमा हेर्न नहुने उनी बताउँछन् ।

ब्रोकरले लिएको कमिसनबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र बोर्डलाई पनि केही हिस्सा जाने गरेको छ । त्यसैगरी यो शुल्कबाहेक धितोपत्र बोर्डलाई प्रतिकारोबार ०.०१५ प्रतिशत लागनीकर्ताले तिर्नुपर्ने हुन्छ ।

“सेयर किनबेच गर्नु भनेको नितान्त व्यवसाय हो । व्यवसाय गर्दा सेवा शुल्क त तिर्नुपर्छ,” सापकोटाले बाह्रखरीसित भने, “अझ भन्ने हो भने त हामीले नेप्सेलाई र धितोपत्र बोर्डलाई पनि यहीँबाट शूल्क तिर्नुपर्ने हुन्छ । त्यस्तै नेपाल सरकारलाई पनि हामीले ३० प्रतिशत राजस्व यहीँबाट तिरेका छौँ ।”

ब्रोकरहरूको मुख्य कमाइ नै कमिसन भएकाले यसलाई नौलो ठान्न नहुने धितोपत्र बजारका जानकार बताउँछन् । सेवा शुल्कका रूपमा नेप्से र धितोपत्र बोर्डलाई पनि ब्रोकरले लगानीकर्ताबाट लिएको शुल्कबाट नै दिनुपर्ने हुन्छ । अहिले दुईवटा स्टक डिलर र ८६ वटा ब्रोकर छन् । यी कम्पनी लगानीकर्ताले कारोबार गरेबापत तिरेको सेवाशुल्कबाट सञ्चालन हुन्छन् । 

अध्यक्ष सापकोटाका अनुसार खरिद–बिक्रीबाट प्राप्त भएको रकमको २० प्रतिशत नेप्से र ३० प्रतिशत करबापत सरकारलाई तिर्नुपर्ने हुन्छ । यसका साथै लगानीकर्ताबाट प्राप्त गरेकैमध्येबाट रेगुलटरी फ्री भनेर धितोपत्र बोर्डले ०.६० प्रतिशत लिने गरेको सापकोटा बताउँछन् । 

ब्रोकरहरू लगानीकर्ताको कारोबारको कमिसनबाट प्राप्त रकममध्ये ४९.४० प्रतिशत रकमले बाँच्नुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन् । दोहोरो कमिसन बाहिर चलेको हल्ला जस्तो अव्यवाहरिक नभएको बजारका जानकार बताउँछन् । बरु लगानीकर्तालाई सहजता दिने हो भने अहिलेको कमिसन दरलाई केही हेरफेर गर्न सकिने उनीहरूको तर्क छ ।

नेपाल धितोपत्र बोर्डले पनि अहिलेको कमिसन दरलाई घटाउन अर्थ मन्त्रालयमा फाइल बुझाएको छ । तर, उक्त फाइल अगाडि बढेको छैन । अध्ययन भने भइरहेको अर्थ मन्त्रालय स्रोत बताउँछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu