site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मनाङेलाई एकीकृत समाजवादीले सोध्यो स्पष्टीकरण
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकीका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री दीपक मनाङे (राजीव गुरुङ)लाई नेकपा एकीकृत समाजवादीले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । गत आइतबार मात्रै मनाङेले आफू स्वतन्त्र निर्वाचित भएको हुँदा अभिलेख स्वतन्त्र कायम गरिदिन भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएका थिए । 

उनले आइतबार एकीकृत समाजवादीमा नरहेको जानकारी मात्रै मागेनन्, सोमबार गण्डकीको विस्तारित मन्त्रिपरिषद्मा मन्त्री कै शपथ पनि लिए । मनाङ ‘ख’बाट निर्विरोध निर्वाचित भएका मनाङे ०७९ मंसिर १९ मा एकीकृत समाजवादी प्रवेश गरेका थिए । मनाङे आफ्नो दलको सांसद रहेको भन्दै एकीकृत समाजवादीले प्रदेशसभा सचिवालयलाई अभिलेख राखिदिन पत्राचार गरेको थियो । सो पत्रअनुसार नै मनाङे आइतबारसम्म एकीकृत समाजवादीको सांसदको हैसियतमा थिए ।

तर, आइतबार उनले निर्विरोध निर्वाचित भएका कारण आफू स्वतन्त्र नै रहन चाहेको मनसायसहितको निवेदन प्रदेशसभा सचिवालयमा दिएका छन्, जसउपर सचिवालयले हालसम्म केही निर्णय गरेको छैन । मनाङेले दिएको निवेदनलाई कुन कानुनी आधारमा अगाडि बढाउने भन्नेमा सचिवालय अनिर्णीत नै छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलका अनुसार सम्बन्धित दल नेकपा एसको आधिकारिक पत्र आएपछि निवेदनमाथिको प्रक्रिया अगाडि बढ्छ । दल त्याग गरेकै विषयमा बुधबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले मनाङेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । सचिवालयको यो बैठकको निर्णयानुसार मनाङेमाथि राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ आकर्षित हुन आउँछ ।

यो दफाको उपदफा ३ मा भनिएको छ, “... निष्कासन गर्नुअघि सम्बन्धित दलको केन्द्रीय समितिले त्यस्तो सदस्यलाई आफ्नो सफाई पेस गर्ने मनासिव मौका दिनु पर्नेछ र त्यस्तो प्रयोजनको लागि सम्बन्धित दलले जाँचबुझ समिति गठन गर्न सक्नेछ ।”

Global Ime bank

एकीकृत समाजवादीका कार्यालय सचिव जीवनराम श्रेष्ठले यथाशीघ्र जानकारी दिनेगरी मनाङेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको बताए । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २९ ले स्वतन्त्र निर्वाचित व्यक्तिले दलको सदस्यता लिएमा स्वतः संसदीय दलको सदस्य हुने व्यवस्था गरेको छ ।

“कुनै दलको उमेदवार नभई स्वतन्त्र रूपमा संघीय संसद् वा प्रदेशसभामा निर्वाचित भएको व्यक्तिले कुनै दलको सदस्यता लिएमा स्वतः त्यस्तो दलको सदस्य हुनेछ ।” यो दफामा भनिएको छ ।

एकीकृत समाजवादीले यही दफाको आधारमा मनाङे आफ्नो सांसद रहेको दाबी गरेको छ । आफ्नो दलको सदस्य भइसकेको अवस्थामा मनाङेले पार्टी छाडेको हुँदा पहिलोपटकको हकमा स्पष्टीकरण सोधिएको एकीकृत समाजवादीको जवाफ छ । एकीकृत समाजवादीका गण्डकी प्रदेश अध्यक्ष श्रीनाथ बरालले सचिवालयको सबै बैठक आइनसकेको तर, आफूहरूले स्पष्टीकरण सोधिने बताए ।

“पार्टी किन त्याग गर्नुभयो भन्ने मूल कुरा हो । त्यसका लागि हामीले छिट्टै स्पष्टीकरण सोध्नेछौँ । स्पष्टीकरण अवधिमा उहाँले फिर्ता लिनुभयो भने एकखालको प्रक्रिया अगाडि बढ्छ, फिर्ता लिनुभएन भने त्यहीअनुसार हुन्छ,” बरालले भने ।

यदि मनाङेले पार्टीलाई दिएको स्पष्टीकरण चित्तबुझ्दो नलागेमा पार्टीले प्रदेशसभा सचिवालयलाई सोही अनुसारको व्यहोराको पत्र पठाउने छ । जसका आधारमा कारबाही प्रक्रिया अगाडि बढाउँदा उनको सांसद पद नै जाने व्यवस्था ऐनमा छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ३० मा दल त्याग गर्न सक्ने व्यवस्था छ । यो दफाअनुसार दल त्यागसम्बन्धी व्यवस्था सम्बन्धित दलको विधानअनुसार हुनेछ ।

सोही ऐनको दफा ३४ ले दल त्याग गरेको सूचना दिनुपर्ने व्यवस्था गरेको छ । मनाङेले दिएको कोरा निवेदनलाई ऐनको कुन दफाको आधारमा जवाफ दिने भन्ने बारेमा प्रदेशसभा सचिवालय आफैँ अन्योलमा छ । यदि यो ऐनको दफा ३४ बमोजिम मनाङेले दल त्याग गरेको निवेदन अनुसारको प्रक्रिया अगाडि बढायो भने दफा ३६ अनुसारको उनको पद नै जान सक्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय