site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन आधिकारिकरूपमा सार्वजनिक गरिएको छैन तर चुहाइएका सूचनाकै भरमा पनि भन्न सकिन्छ ( सुन तस्करीमा संलग्नहरूक‍ो प्रभाव र पहुँच निकै बलियो र व्यापक रहेछ । यसैले गृहमन्त्री रवि लामिछानेका लागि प्रतिवेदन यथार्थमै कार्यान्वयन गर्नु निकै चुनौतीपूर्ण हुने देखिन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाकाबाट तस्करी गरिएको ६०.७१६ किलो र  इलेक्ट्रिक चुरोट (भेप)मा लुकाएर तस्करी गरिएको ९.५ किलो सुनको अनुसन्धानमा बदमासी गरिएको भन्दै संसद्मै प्रश्न भएपछि १४ असोजमा आयोग गठन गर्ने निर्णय गरेको थियो । आयोगले गत बिहीवार बुझाएको प्रतिवेदन गृहमन्त्रीले प्रधानमन्त्रीलाई हस्तान्तरण गरिसकेका छन् । 

Dabur Nepal
NIC Asia

अहिलेसम्म सुन तस्करीमा ‘भरिया’ले मात्र समातिने वा सजाय पाउनेगरेका छन् । राज्यका उच्च पदाधिकारीकै संरक्षण र सहयोगमा सञ्चालित तस्करी सञ्जालका हर्ताकर्ताहरूसम्म कारबाही गर्नेहरूको पहुँच पुग्न सकेको छैन । पछिल्लोपटक नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको छानबिनले पनि ‘ठूला माछा’ नछुने नीति नै अपनाएको थियो । सायद, यही कारणले जाँचबुझ आयोगले प्रतिवेदनमै प्रहरी र गृह मन्त्रालयका अधिकारीहरूलाई समेत कारबाहीको सिफारिस गरेको हो । 

कर्मचारीलाई ‘विभागीय कारबाही’ गर्न सजिलै हुन्छ । विभागीय कारबाहीका नाममा सरुवा गरिदिए पुग्छ । एकाध राजनीतिक नेताको स्वार्थ जोडिए पनि कर्मचारीलाई कारबाही गरेकै भरमा सरकार सङ्कटमा पर्दैन । तर, सुन तस्करीका मूल नाइके पहिल्याउन र कारबाही गर्न भने निकै मुस्किल हुनेछ । कारण, सत्ताको साँचो उनीहरूसँगै रहेको जो हुन्छ । 

जाँचबुझ आयोगको प्रतिवेदनको हवाला दिएर सार्वजनिक समाचारहरूमा सत्ताको नेतृत्व गर्ने नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेताहरूको नामसमेत उल्लेख भएको छ । माओवादी केन्द्रका तत्कालीन नेता तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा र सल्लाहकारसमेत सुन तस्करीमा संलग्न रहेको भन्दै पक्राउ परेका छन् । अर्का प्रभावशाली नेता पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महराको संलग्नताको अनुसन्धान नगरिएको पनि आयोगले औँल्याएको छ । 

गृहमन्त्री लामिछानेले नै सुन तस्करीको विषयमा अनुसन्धान गर्ने निकायले ‘गम्भीर गल्ती’ गरेको ‘प्रमाण नष्ट गर्नेसम्मको काम भएको’ प्रतिवेदनमा उल्लेख भएको जानकारी दिएका छन् । यसैगरी गृहमन्त्री लामिछानेले प्रतिवेदनले औँल्याएका नामसम्म पुगेर अनुसन्धान गर्ने र प्रतिवेदन सार्वजनिक गर्न प्रयास गर्ने प्रतिबद्धता प्रकट गरेका छन् । 

जाँचबुझ आयोगले सीआईबीले जोगाएको भनेर औँल्याएका राजनीतिक व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन खोज्दा सरकारबाटै हट्नुपर्ने र कारबाही गर्न नसके आफ्नोमात्र होइन राष्ट्रिय स्वतन्त्र पार्टीकै विश्वसनीयता समाप्त हुने जोखिम गृहमन्त्री लामिछानेका सामु छ । यही जोखिम उनका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौती हो । 
यसपटक समातिएलान् त ‘ठूला माछा’  ? आस गरौँ  न भर नलागे पनि ! 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro