काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले समाजिक सञ्जाल लोकतन्त्रलाई चुनौती दिनसक्ने तहमा नआएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रियामा उनले सामाजिक सञ्जालका कारण लोकतन्त्र खतरामा पर्यो भन्ने भनाइसँग आफू सहमत नरहेको बताए । उनले सामाजिक सञ्जालबाट गलत सूचना संप्रेषण गरेर समाजलाई गलत कुरा बुझाउने प्रयास भइरहेको सत्य भए पनि लोकतन्त्र नै खतरामा भने नपारेको बताए ।
उनले सामाजिक सञ्जालका गलत सूचनाहरू रोक्नेबारेमा छलफल गरी समाजलाई जोगाउने कोसिस हुनुपर्ने बताए ।
उपाध्यक्ष पौडेलले राजनीतिक दलहरू वाक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका पक्षमा उभिनुपर्ने बताए । उनले कसैले पनि प्रेस स्वतन्त्रतालाई संकुचन गर्न नहुनेमा जोड दिए । लोकतन्त्रको प्राण नै आलोचना भएको उनको भनाइ छ ।