site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मेडिकल काउन्सिलले परीक्षा अघि सारेर विद्यार्थीको भविष्यमा खेलबाड गर्‍यो : सांसद यादव 

काठमडौं । सांसद मुक्ताकुमारी यादवले नेपाल मेडिकल काउन्सिलले लाइसेन्सको परीक्षासम्बन्धी सूचना गरेको एक दिनअघि नै परीक्षा गराएर २२ जना विद्यार्थीलाई परीक्षाबाट बञ्चित गराएको भन्दै संसद्मा प्रश्न उठाएकी छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले परीक्षा सार्दा पछि सार्ने अभ्यास भएपनि अघि सारेर विद्यार्थीलाई परीक्षा दिनबाटै बञ्चित गरेको आरोप लगाइन् । “सभामुख महोदय, मेडिकल काउन्सिलले एनएमसी लाइसेन्सको परीक्षा माघ १७, १८ र १९ गते हुने गरी सार्वजनिक सूचना गर्‍यो र मोबाइल म्यासेज समेत आयो । तर, १७ गते परीक्षा दिन जाँदा १७ गतेका परीक्षा विनाकुनै सूचना १६ गते नै लिइसकेका रहेछ,” यादवले भनिन्, “२२ जना विद्यार्थीलाई लाइसेन्स परीक्षाबाट बञ्चित गरिएको छ । कुनै पनि परीक्षाको मिति सार्नुपर्दा अगाडि सारिन्छ । पश्चातदर्शी कानुन बनाउन पाइन्छ ?” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले नेपाल मेडिकल काउन्सिलले होनाहार विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको बताएकी छन् । “यस्तो गर्न पाइन्छ ? विद्यार्थीको भविष्यमा खेलबाड गर्न पाइन्छ ?,” सांसद यादवले भनिन्, “म प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।” 

सांसद यादवले सूचना नदिएको भन्दै प्रश्न उठाए पनि मेडिकल काउन्सिलले भने १७ गतेका परीक्षा १६ गतेका लागि सारिएको भन्दै एक हप्ताअघि नै सूचना निकालेको पाइएको छ । सांसद यादवले भनेजस्तो मोबाइलमा म्यासेज गए–नगरेको भने पुष्टि भइसकेको छैन ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्