काठमाडौं । नेपालले सन् २०२३ मा मिश्रित मौसमी अवस्थाको अनुभव गरेको छ । जल तथा मौसम विज्ञान विभागले आइतबार सार्वजनिक गरेको एक रिपोर्टअनुसार सन् २०२३ मा देशका विभिन्न भागको तापक्रम र वर्षामा उतारचढाव देखिएको छ ।
समग्रमा सन् २०२३ मा नेपालमा ९१.२ प्रतिशत (१५७०.४ मिलिमिटर) वर्षा भएको छ । विशेष गरी कर्णाली प्रदेशको उत्तरी क्षेत्रमा कम वर्षा भएको छ । डोल्पाको दुनई स्टेसनमा मात्र ४१०.७ मिलिमिटर वर्षा मापन भएको छ । जबकि, गण्डकी प्रदेशको कास्कीस्थित लुम्ले स्टेसनमा भारी वर्षा मापन गरिएको छ, जहाँ चार हजार मिलिमिटरभन्दा धेरै वर्षा मापन गरिएको विभागको रिपोर्टमा उल्लेख छ ।
सन् २०२३ मा वर्षामा निकै उतारचढाव देखिएको छ । सुरुका दुई महिनामा कम वर्षा भए पनि मार्चमा उल्लेखनीय वृद्धि भएको छ । तर, अप्रिलदेखि जुलाईसम्म औसतभन्दा कम वर्षा भएको छ । ती दुई महिनामा १२ देखि २२ प्रतिशतसम्म मात्र वर्षा भएको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टका अनुसार अगस्टमा वर्षाको स्तरमा वृद्धि भएको थियो । तर, सेप्टेम्बरमा सामान्य मात्र वर्षा भयो । अक्टोबरमा भने सामान्यभन्दा बढी वर्षा भयो । वर्षको अन्तिमतिर नोभेम्बर र डिसम्बेरको मौसम सुक्खा रह्यो ।
सन् २०२३ मा मनसुन सामान्यभन्दा एक दिन ढिलो गरी १४ जुनमा पूर्वी नेपालबाट प्रवेश गरेको थियो । यसैगरी, बाहिरिने क्रममा पनि मनसुन १३ दिन ढिलो गरी १५ अक्टोबरमा बाहिरिएको थियो । नेपालमा औसत मनुसन अवधि ११२ दिन हो । तर, यसपटक मनसुन १२४ दिनसम्म रह्यो ।
सन् १९८१ यता सन् २०२३ कम वर्षा हुने वर्षहरूको सूचीको ८औँ नम्बरमा रह्यो ।
तापक्रममा रेकर्ड ब्रेक
सन् २०२३ मा नेपालको वर्षको औसत अधिकतम तापक्रम २७.९ डिग्री सेल्सियस मापन गरिएको छ, जुन सामान्य वार्षिक अधिकतम तापक्रमभन्दा केही धेरै हो ।
यसको विपरीत सन् २०२३ मा वर्षको औसत न्यूनतम तापक्रम १५.६ डिग्री सेल्सियस मापन गरिएको छ, जुन सामान्य वार्षिक न्यूनतम तापक्रमभन्दा धेरै हो ।
मासिक अधिकतम तापक्रमको अवस्था पनि उतारचढावयुक्त रह्यो । सन् २०२३ को सुरुका दुई महिनाको ताममान केही वृद्धि भयो । त्यसपछि मार्चदेखि मेसम्मको तापक्रम सामान्यभन्दा कम रह्यो ।
जुन र जुलाईको अधिकतम तापक्रम सामान्यभन्दा धेरै रह्यो । दुई डिग्री सेल्सियस तापक्रम बढेर जुन वर्षकै सबैभन्दा गर्मी भएको महिना रह्यो । अगस्टको तापक्रम सामान्य सामान्य अधिकतम तापक्रमभन्दा कम रह्यो । त्यसपछिका चार महिनाको तापक्रम सामान्यभन्दा धेरै रह्यो ।
समग्रमा सन् २०२३, सन् १९८१ यतापछिकै सबैभन्दा तातो वर्षका रूपमा रह्यो । देशको दक्षिणी भागमा औसत अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा धेरै र उत्तरी भागमा १८ डिग्री सेल्सियसभन्दा कम रह्यो ।
अर्थात्, वर्ष २०२३ झन्डै चार दशकयताकै सबैभन्दा धेरै तातो वर्ष बनेको छ । देशभरका स्टेसनमा मापन गरिएको तापक्रम र वर्षाको तथ्यांकले विगतको रेकर्ड तोडेको छ । केही क्षेत्रमा इतिहासकै उच्च तापक्रम मापन गरिँदा केही इतिहासकै कम तापक्रम मापन गरिएको छ ।
रिपोर्टका अनुसार देशभरका स्टेसनमध्ये १२ वटा स्टेसनले अहिलेसम्मकै अधिकतम तापक्रम मापन गरेर रेकर्ड ब्रेक गरेका छन् । बन्दीपुर, चतारा, चौतारा, धरान बजार, दुम्कौली, वीरेनचोक गार्खा, जनकपुर एयरपोर्ट, कन्याम टी इस्टेट, ओखलढुंगा, रामपुर, सिमरा एयरपोर्ट र सिरहाका स्टेसनले रेकर्ड ब्रेक गरेका हुन् ।
पूर्वी नवलपरासीस्थित दुम्कौली स्टेसनमा ५ जुन १९७९ मा अधिकतम ४३.७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । जबकि, ९ जुन २०२३ मा यो स्टसेनले ४४.८ डिग्री सेल्सियस तापक्रम मापन गरेर रेकर्ड तोडेको छ ।
यसैगरी, धनुषाको जनकपुर एयरपोर्टमा ७ मे १९८९ मा ४२.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएकोमा ९ जुन २०२३ मा ४२.५ डिग्री सेल्सियस तापक्रम मापन भएर रेकर्ड ब्रेक भएको छ ।
यस्तै, इलामको कन्याम टी इस्टेटको स्टेसनमा १० जुलाई १९७३ मा अधिकतम २९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । अहिले ३ जुन २०२३ मा ३० डिग्री सेल्सियस तापक्रम मापन भएर रेकर्ड तोडेको छ ।
जलवायु परिवर्तनको असर !
सन् २०२३ मा तापक्रममा देखिएको उच्च उतारचढावले तीव्र गतिमा फेरबदल भइरहेको नेपालको जलवायुको अवस्थालाई देखाउने विभागको रिपोर्टमा उल्लेख छ ।
यसले आगामी दिनमा मानव समुदायसहित समग्र पारिस्थितिक पद्धतिमै चुनौती थपिएको देखाएको छ । रिपोर्टले सन् २०२३ मा मौसममा देखिएको चरमस्तरको उतारचढावले नेपालमा तत्काल जलवायु क्षेत्रमा अनुकूल उपायको खोजी गरिनुपर्ने आवश्यकता देखाएको छ ।