site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
तीन ब्याटरले अर्धशतक बनाउँदा क्यानडाविरुद्ध नेपालको सहज जित

काठमाडौं । तीन ब्याटरको अर्धशतकप्रेरित नेपालले एकदिवसीय शृंखलाको दोस्रो खेलमा क्यानडाविरुद्ध चार विकेटको जित निकालेको छ । 

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले प्रस्तुत गरेको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । यो जितसँगै तीन खेलको शृंखला नेपालले अन्तिम खेलअगावै जितेको छ । पहिलो खेलमा नेपालले सात रनको जित निकालेको थियो ।

नेपालको जितमा कप्तान रोहितकुमार पौडेल, देव खनाल र ओपनर अनिल साहले अर्धशतक बनाए ।

कप्तान रोहितले सर्वाधिक ८७ रन बनाए । १०१ बलमा आठ चौका र एक छक्का हिर्काएका रोहितलाई क्यानडाका कप्तान साद बिन जहादले विकेटकिपर मोभाबाट क्याच गराएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान रोहितको यो नवौँ अर्धशतक हो ।

६४/२ को अवस्थाबाट रोहितले तेस्रो विकेटका निम्ति देव खनालसँग १५० रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो विकेटका लागि नेपालले बनाएको यो सबैभन्दा ठूलो साझेदारी समेत हो ।

चौथो नम्बरमा ब्याटिङमा आएका देवले ७६ रन बनाए । उनले ८१ बलमा सात चौका र दुई छक्का हिर्काए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा देवको यो तेस्रो अर्धशतक हो ।

यस्तै, दुई वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका अनिलले कीर्तिमानी ब्याटिङ गर्दै ५० रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका उनले १९ बलमा अर्धशतक पूरा गरेका थिए । योसँगै अनिल नेपाली टिमबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने ब्याटर समेत बने ।

२०औँ बलमा क्यानडाका इश्वरजोत सोहीबाट एलबीडब्ल्यूको धरापमा परेका अनिलले आसिफ शेखको कीर्तिमान तोडेका हुन् । आसिफले यसअघि २१ बलमा अर्धशतक बनाएका थिए । २५ वर्षीय अनिलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो पहिलो अर्धशतक समेत हो ।

अनिल र आसिफले २६ बलमा ५० रनको साझेदारी गर्दै नेपाललाई आक्रामक सुरुआत दिलाएका थिए । आसिफ १० रन बनाएर आउट भए ।

पाँचौँ नम्बरमा क्रिजमा पुगेका भीम सार्कीले २१ बलमा २३ रनको योगदान गरे । पवन सर्राफले १४ रन बनाए ।

क्यानडाका हर्ष थाकेर र इश्वरजोत सोहीले दुई/दुई विकेट लिए । कप्तान साद र दिलप्रित बज्वाले समान एक विकेट हात पारे ।

यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २८५ रन बनाएको थियो ।

क्यानडाका ओपनर जोन्सनले सर्वाधिक ६५ रन बनाए । उनले ६२ बलमा १० चौका र दुई छक्का प्रहार गरे । जोन्सनले पहिलो विकेटका निम्ति अर्का ओपनर नवतिन धलिवालसँग १८.२ ओभरमा ९४ रनको साझेदारी गर्दै क्यानडालाई उत्कृष्ट सुरुआत दिलाएका थिए । धलिवालले ६० बलमा आठ चौकासहित ४६ रन बनाए ।

श्रेया मोभाले ४० र पर्गत सिंहले ३८ रन थपे । निकोलस किर्टोन र उदय भगवानले समान २० रन जोडे । दिलप्रिच बज्वाले १९ र साहिद अहमदजाईले १३ रन बनाए ।

क्यानडाबाट क्याटिङका निम्ति आएका १० मध्ये आठ ब्याटरले दोहोरो अंकमा रन जोडेका थिए ।

नेपालका कप्तान पौडेल र कुशल मल्ले समान दुई विकेट लिए । सोमपाल कामी, सूर्य तामाङ, पवन सर्राफ र ‘डेब्युट्यान्ट’ आकाश चन्दले समान एक विकेट लिए । नेपाली सिनियर राष्ट्रिय टिमबाट पहिलो खेल खेलेका आकाशले पाँच ओभरमा ३१ रन खर्चिए ।

जितसँगै नेपालले तीन खेलको शृंखला अन्तिम खेलअगावै २–० ले जितेको छ । अब यी दुई टिमबीचको अन्तिम खेल आउँदो सोमबार हुनेछ ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro