site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सदनमा विषयकेन्द्रित बहसभन्दा छेडखानी मात्रै भएको टिप्पणी

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले सदनमा विषयकेन्द्रित बहसभन्दा आपसमा छेडखानी मात्र भएको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले सत्तापक्ष र प्रतिपक्षी सबैले कोसँग प्रश्न गरिरहेको भन्दै आश्चर्य प्रकट गरे । 

उनले आजको बैठकमा दुवै सदनको समीक्षा हुनुपर्नेमा सांसदहरू आरोप प्रत्यारोपमा उत्रिएर कमिकमजोरी औंल्याउन मात्र सक्रिय भएको बताए ।
 
उनले भने, “हामी सरकारमा छौँ, सरकारमा भएका दलहरुले नै सुशासन भएन भनेर भनिरहेका छौँ । जनतलाई न्याय र रोजगारी सिर्जना भएन वैदेशिक नीतिको विषयमा प्रश्न भयो । यो कसका लागि हो ?” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले दलभन्दा माथि उठेर देशको विषयमा सोच्न पनि आग्रह गरे । ठूलठूला कुरा गर्ने, रोजगारी सिर्जना गर्छु भन्ने तर विदेशी लगानी भित्र्याउने नीति नबनाउनु विडम्वना भएको बताए । 

“विदेशबाट शव समेत ल्याउन सक्दैनौँ ? सरकारमा रहेका सांसदले नै सरकारले काम गरेन भनेर प्रश्न गर्छौं । हामीले  हमासले पक्रिएको एक व्यक्तिलाई पनि ल्याउन सकेनौँ । को सँग प्रश्न गरिहरका छौँ ?” उनले भने । 

उनले संसद्को मर्यादा समेत बिर्सिएर एकले अर्कालाई हेप्ने गरिएको टिप्पणी गरे । “सार्वभौमसत्ता जनतामा रहे पनि हामी जनताप्रति कहिले उत्तरदायी हुने ? रोजगारी कसरी सिर्जना हुन्छ वैदेशिक पुँजी भित्र्याउने नियम नै बनाउँदैनौँ भने लगानी कसरी आउँछ ? हाम्रो नियतमै खराबी छ ।”

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्