site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जब रातो बत्तीमै बाटो काट्यौँ... 
Sarbottam CementSarbottam Cement

१४ जनवरी २०२४, आइतबार । जर्मनीको स्टुटगार्टमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), जर्मन च्याप्टरले आयोजना गर्न लागेको साहित्य समारोह जर्मनीमा रहेका साहित्यप्रेमी नेपाली र नेपाली साहित्यको विकास–विस्तारका लागि अपूर्व अवसर थियो । अपूर्व यसअर्थमा कि जर्मनीमा नेपाली साहित्यको विकास र विस्तारका लागि यसस्तरको संस्थागत र बृहत् प्रयास पहिलोपटक हुँदै थियो ।

नेपालबाट जर्मनी आउँदा बिदाइका क्रममा भेट भएका आदरणीय रोचक घिमिरेलगायत अग्रज साहित्यिक व्यक्तित्वहरूले मेरो जर्मनी बसाइलाई नेपाली साहित्यको विकासमा पनि प्रयोग गर्न सुझाव दिनुभएको थियो । यसर्थ पनि जर्मनीमा हुन लागेको यो साहित्यिक समारोह मेरा लागि महत्त्वपूर्ण थियो ।

साथै, अनेसास जर्मनी च्याप्टर स्थापनामा प्रत्यक्ष रूपमा आफैँले सक्रिय भूमिका निर्वाह गरेको, सल्लाहकारको जिम्मेवारीमा रहेको पृष्ठभूमिमा पहिलोपटक हुन लागेको समारोहमा भाग लिनु आवश्यक थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसमाथि सहभागिताका लागि जर्मनी च्याप्टरले मलाई निमन्त्रणा नै पठाएको थियो । च्याप्टरकी अध्यक्ष सुजाता घिमिरे राउतलगायत पदाधिकारी मित्रहरूले समारोहमा उपस्थितिका लागि गर्नुभएको अनुरोधले कृतकृत्य भएको थिएँ ।

स्टुटगार्ट बर्लिनदेखि करिब ७०० किमि टाढा अवस्थित छ । समारोहमा भाग लिएर बर्लिन फर्कन कम्तीमा तीन दिन लाग्ने भएकाले आफ्नो कामको जिम्मेवारीका कारण समेत समय व्यवस्थापन गर्नु आफंँमा चुनौतीपूर्ण थियो ।

Global Ime bank

शनिबार, आइतबार सदाझैँ सार्वजनिक बिदा नै थियो । एक दिन अपुग हुन जान्थ्यो । फेरि, निजी खर्चमा जानुपर्ने हुँदा आर्थिक भारको पनि कुरा थियो । यस्तै अवस्थामा समारोहमा भाग लिने नलिनेबारे निर्णय गर्न गाह्रो भइरहेको थियो ।

तथापि, मूल प्रश्न नेपाली साहित्यको विकासमा योगदान दिने रहेकाले यो महत्त्वपूर्ण अवसर पनि थियो ।

एउटा उपयुक्त विकल्प फेला पर्यो, रातको समय बसबाट यात्रा गर्ने, दिउँसोको समयमा कार्यक्रममा भाग लिने र सोही राति बसबाट बर्लिन फर्कने । बर्लिनबाट बसमा स्टुटगार्ट पुग्न १० घण्टा लाग्ने र फर्कंदा पनि त्यति नै समय लाग्ने भएकाले रातको पूर्ण सदुपयोग हुन सक्ने देखियो ।

शनिबार रातमा यात्रा सुरु गरेर सोमबार बिहान बर्लिन फर्किई आफ्नो जिम्मेवारी समेत सम्हाल्न सकिने भएकाले कतै असर नपर्ने गरी कार्यक्रममा सहभागी हुन सकिने देखियो ।

तर, यो विकल्प साह्रै कठिन थियो । मलाई यात्रा अवधिमा निन्द्रा विरलै लाग्छ । त्यसैले दुई रात लगातार अनिदो हुनुपर्ने असहजताको जोखिम पनि थियो । तथापि, असुविधाहरूलाई नजरअन्दाज गर्दै नेपाली साहित्यको यो अवसरमा भाग लिन बर्लिन छोडेको ३५ घण्टाभित्र बर्लिन नै फर्कन सकिने गरी अनलाइनबाट ‘फ्लिक्स बस’को टिकट किनेँ ।

१३ जनवरीको राति १०ः१५ बजे बर्लिनको बस स्टेसनबाट स्टुटगार्टतर्फको यात्रा सुरु भयो । सदाझैँ यो यात्रामा पनि मलाई निद्रा परेन । एकैछिन पनि आँखा झपक्क भएन । हरेक दुई घण्टामा ५–१० मिनेटका लागि बस रोकिन्थ्यो । त्यो समय चुरोट खानेहरूका लागि गजबको अवसर हुन्थ्यो । बसभित्रै शौचालय, आरामदायी सिट, राम्रो सडक र राम्रो अवस्थाको बस भएकोले समग्रमा यात्रा आरामदायी थियो ।

निद्रा नलागे पनि झर्को लागेको थिएन । फुर्सद थियो । थरीथरी विषयहरूमाथि विचार गर्ने सोच्ने मौका पाएको थिएँ । मान्छेहरू किन कोही कसैप्रति कुण्ठा, वैमनस्य, इबी र ईष्र्या राख्छन् ? अरूका बारे यस्तै सोच्दासोच्दै आफ्नो अमूल्य जीवन खेर गएको किन हेक्का राख्दैनन्  ?

जीवनका अनुभवहरूका आधारमा यस्ता भावहरू मनमा खेल्दै गर्दा कविता र गीत लेख्न रुचाउने मैले मनका तरंगलाई गीतको स्थायी अन्तरा बनाएर शब्दमा उतारेँ—
एक दिन सबै छोडेर जानुपर्ने संसारमा
किन रमाउँछ कोही कसैको विवशतामा
हराउँछु, रमाउँछु म मेरै प्रेयसीको यादमा
हराऊ, रमाऊ, तिमी तिम्रै प्रेयसीको यादमा ।

स्टुटगार्ट विमानस्थल बस स्टेसनसम्मको टिकट भए पनि अनेसास, जर्मनी च्याप्टरका महासचिव स्टुटगार्ट निवासी रमणजीको सल्लाहमा आधा घण्टाअगावैको बस स्टेसन कोर्नवेस्थेममा बिहान ७ः३० बजे ओर्लिएँ ।

उनीसँग फोन वा मेसेन्जरमा कुरा भइरहन्थ्यो । तर, प्रत्यक्ष भेट भएको थिएन । चिनिने हो कि होइने भन्ने लागेको थियो । एक–दुई मिनेटजति कुर्दैमा आत्मीय भाव र परिचित मुस्कानसहित उनी देखा परे ।

अनिदो रात भए पनि मलाई बिहानीको चिसो सिरेटो र चारैतिर देखिएको सेताम्मे हिउँले ताजा र फुर्तिलो बनाइसकेको थियो । त्यसमा पनि आत्मीयतासाथ लिन आएका रमणको हार्दिकताबाट मन झन् प्रफुल्लित भयो ।

मेरा लागि यो स्टुटगार्टको पहिलो भ्रमण थियो भने युरोपमा बसबाट लामो दूरीको यात्रा गरेको पनि पहिलो अनुभव थियो । जनवरीको महिना, बिहान ७ः३० बजे पनि अन्धकार नै थियो । मेरो सानो सुटकेस र भिर्ने ब्याग कारमा राखेर करिब २५ मिनेटको यात्रा पूरा गरी हामी रमणजीको वासस्थान पुग्यौँ ।

घर सुनसान थियो । बाहिर बल्ल झिसमिसे उज्यालो हुँदै थियो । सबै कोठा बन्द थिए । रमण एकछिन अलमलिएजस्तो लाग्यो । केही बेरमा अँध्यारो बैठक कोठामा पस्यौँ ।

साहित्यिक समारोहमै भाग लिन टाढाबाट अघिल्लो दिन नै आएका दुईजना बैठक कोठामा सुतिरहेको जानकारी बाटोमै पाइसकेको थिएँ । दुईजनामध्ये एकजना शिशिर हुन् भन्ने पनि जानकारी थियो ।

शिशिरलाई नदेखे पनि हामी दुईबीच एकदुईपटक फोनमा कुरा भएको थियो । सुतिरहेकाहरूको निद्रा बिथोल्ने मन भएन । हामी केही बेर कोठाको एक छेउमा अँध्यारोमै बस्यौँ ।

शशिरले हामी पसेको थाहा पाएका रहेछन् । उनी उठे । अँध्यारोमै गफिन थाल्यौँ हामी तीन, सानो स्वरमा । गाउन र गिटार बजाउन सिपालु उनले भेटको सुरुमै मेरो शब्द रहेको ‘तिमी हौ सब थोक मेरो’ गीतको मुक्तकण्ठले प्रशंसा गरे ।

लोकप्रिय गायक शिव परियारको स्वर र संगीतमा रहेको त्यो गीतले आफूलाई मोहनी लगाएको भन्दै उनले गरेको प्रशंसा सुन्दा मन फुरुङ्ङ भयो । अनि लाग्यो, एउटा सर्जक सायद आफ्नो आयुभन्दा धेरै आफ्नो कृतिमा बाँच्छ ।

हाम्रो गफ सुनेर हो वा बिउँझिने बेला भएर हो, सुतिराखेका अर्का मित्र उठे । केही बेर हाम्रो गफगाफ सुनेरै बसे, बोलेनन् । भर्खर उठेको भनेर हामी कसैले उनलाई बोलाएनौ पनि ।

शिशिरजीले उनका लागि पनि एउटा गीत लेखिदिन मलाई अनुरोध गर्नुभयो । कुरैकुरामा मैले राति बसमा लेखेको गीतको स्थायी अन्तरा सुनाएँ, शिशिर र रमणलाई ।

“यो गीत गायकलाई उठाउन गाह्रो हुन्छ,” भर्खरै उठेका मित्रले तत्काल प्रतिक्रिया जनाइहाले । यति भनेपछि उनको संगीतप्रति लगाव छ भन्ने बुझ्न गाह्रो भएन । बल्ल परिचय भयो । निकिल नाम रहेछ उनको । गायक अनि गिटारिस्ट पनि । यसरी गीतको स्थायी सुनाएका कारण परिचय भएको यो रमाइलो क्षण थियो ।

शिशिर र निकिलले दिउँसो कार्यक्रममा प्रस्तुति दिने भएकाले दुवै संगीतप्रेमी गिटार बजाउँदै अभ्यासमा केन्द्रित भए । म र रमण कार्यक्रममा आआफ्नो भूमिका अनुसार गर्नुपर्ने कामको तयारीमा जुट्यौँ ।

रातभरको बसको यात्रा, त्यो पनि अनिदो । तर पनि दिउँसो कार्यक्रममा केही विषयमा आफ्ना भनाइ राख्नुपर्ने, कवितावाचन गर्नुपर्ने र खासगरी पहिला कहिल्यै भेट नभएका ठूलो संख्याका साहित्यप्रेमी नेपालीसँग भेट्न पाइने, चिन्न पाइने अवसरका कारण म निकै उत्साहित थिएँ । रोमाञ्चित थिएँ ।

बिहानी स्नानादिपछि सविता भाउजू र रमणले मिलेर तयार पारेको ब्रेकफास्ट सबैले सँगै बसेर खायौँ । र, एउटै कारमा बसेर कार्यक्रमस्थलतिर लाग्यौँ ।

सडक दायाँबायाँका सुन्दर घरहरू, अघिल्लो दिन परेको बाक्लो हिउँले ढाकेका सेताम्मे रुख र जमिन अनि मध्यम उचाइका पहाडका सुन्दर दृश्यावलोकन गर्दै आधा घण्टाको यात्रापछि कार्यक्रमस्थल पुगेका थियौँ ।

एक दशकभन्दा लामो जर्मनी बसाइ र हाल स्टुटगार्टका स्थानीय भएको, सामूहिक, सामाजिक काममा हार्दिकतासाथ सक्रिय हुन मन पराउने भएकाले पनि साहित्यिक समारोहको आयोजनाका काममा रमणले केन्द्रीय भूमिका खेलेका थिए ।

उनी कार्यक्रमको तयारीमा लागे । म जर्मनीका विभिन्न सहरहरूबाट आएका साहित्यप्रेमी नेपालीसँगको भेटघाटमा व्यस्त भएँ ।

अध्यक्ष सुजाता घिमिरे राउत तथा लामो समयदेखि साहित्यमा लागेर कृति नै प्रकाशन गरिसक्नुभएका लीलाराज कार्की, खड्ग न्यौपाने र सुमन सिंखडासँग भेट गर्ने अवसर मिल्यो । लीलाराज कार्कीको सरल, शालीन र सौम्य व्यवहार अनुकरणीय लाग्यो ।

लामो समयदेखि स्टुटगार्टमै बस्दै आउनुभएका डा. पवन थापा, विभिन्न सहरबाट आउनुभएका सुवास सापकोटा, गौरव तिवारी, कपिल अर्याल, लकी शेर्पा, निरज सोडारी, सीमा ढुंगाना, प्रतीक्षा पोखरेल, एलिजा हुमागाईं, मनोजबाबु पनेरु, देव खड्कालगायत साहित्यप्रेमीसँग भेट्नु मेरा लागि अवसर नै थियो ।

अझ रोचक कुरा के भने, कार्यक्रममा भाग लिने सहभागीहरूमा नेपाली वैज्ञानिक, चिकित्सक, इन्जिनियरहरू समेत थिए । लामो अवधिदेखि जर्मनीमा बस्दै आउनुभएका अग्रज साहित्यकारहरू कार्यक्रम भव्य र ऐतिहासिक भएको भन्दै हर्षित देखिन्थे ।

कार्यक्रममा युवाको बाक्लो उपस्थिति थियो । सो अवसरमा दुई दर्जन बढी सर्जकले आआफ्ना रचना वाचन गरेका थिए । केही कलाकारले गायन प्रस्तुत गरे भने दुईवटा साहित्यिक विमर्शका कार्यक्रम सञ्चालन भए ।

उपस्थित सहभागीहरूमा आफ्नो रचना प्रस्तुत गर्ने अभिलाषालाई व्यवस्थापन गर्न कार्यक्रम सञ्चालक एलिजा र रमणलाई हम्मेहम्मे परेको प्रस्ट देखिन्थ्यो । यी दृश्यले नै बताउँथ्यो कार्यक्रम भव्य र महत्त्वपूर्ण थियो भन्ने ।

औपचारिक कार्यक्रम समापन हुँदा करिब ५ बजिसकेको थियो । कार्यक्रम सकिएपछि कोही कुर्सीलगायत सामान मिलाउन थाले । केही समूह बनाएर अलिअलि पिउँदै, गफ गर्दै दिनभरिको थकान मेट्न थाले । म भने कपिल, सीमा, एलिजासहित कतिपय साथीहरूको समूहमा सामेल भएर शिशिरको गायनमा रमाएर बसेँ ।

मेरो बर्लिन फर्कने बसको समय रातको ११ बजे भएकाले मलाई केही हतार थिएन । अन्य बाँकी सहभागी पालैपालो आफ्नो बस वा ट्रेनको फर्कने समय ख्याल गर्दै निस्कँदै थिए । 

कार्यक्रमस्थलबाट फर्कंदा ७ बजिसकेको थियो । केही साथी अन्तिम चेकजाँच गरेर हल बन्द गर्दै थिए । सबै काम सकिएकाले हामी पनि कार्यक्रमस्थलबाट बिदा भयौँ ।

फर्कने क्रममा कार्यक्रमको अवधिमा त्यहाँ रहेका मेरा दुईवटा पुस्तक ‘अँजुलीमा थाप्न पाए’ र ‘आफैँलाई खोज्न मन छ’ बापत केही रकम संकलन भएको थियो । मैले सबै रकम अनेसास, जर्मनी च्याप्टरका महासचिव रमणलाई नै जिम्मा लगाएँ । मन हलुका भयो ।

अबको यात्रा ११ बजे सुरु हुने र अघिल्लो रात पनि अनिदो भएकोले रमणले मलाई दुई घण्टाजति आराम गर्न सुझाए । प्रयास गरेँ । तर, निद्रा लागेन । बरु, रमण, सविता, शिशिर मैले गफिएरै फर्कने समयको प्रतीक्षा गर्ने भयौँ ।

रमणलाई मैले बस छुट्ने समय ११ बजे भनेको थिएँ । तर, समयको बारेमा बुझाइ फरक परेछ । बस चढ्न स्टुटगार्ट एयरपोर्ट बस स्टेसनमा पुग्नुपर्ने थियो । रमणको घर र बस स्टेसनबीचको दूरी करिब २० किमि रहेछ । १०ः१५ मा घरबाट निस्कने सल्लाह गरी दिउँसोको कार्यक्रमको बारेमा कुरा गर्दै बस्यौँ ।

आईटी क्षेत्रमा कार्यरत भएर पनि पर्वतारोहणमा रुचि भएका रमणका रमाइला अनुभव, केही महिना पहिले पुस्तक र गीति एल्बम निकाल्न नेपाल गएका बखत सजल तथा सौगातसँग पदयात्रामा गएको मेरो अनुभव, शिशिरका संघर्षका दिनहरूलगायत जिन्दगीका आआफ्ना भोगाइ र धारणाका बारेमा कुरा गर्दै जाँदा समय बितेको पत्तै भएन ।

शिशिरले घडी हेर्दै एक्कासि भने, “सवा १० त भयो नि !” बल्ल समय घर्केको थाहा भयो । शिशिर पनि हामीसँगै बस स्टेसन जाने भए । हतारहतार गर्दै घरबाट निस्कँदा १०ः२५ भइसकेको थियो ।

रमणले कार अलि पर पार्क गरेका थिए । कारतिर हिँड्दै जाँदा मैले ‘आधा घण्टामा त पुगिन्छ नि होइन रमणजी ?’ भनेपछि उनी अलि अलमलिए । कारमा चढुन्जेल १०ः३० भइसकेको थियो । ट्राफिक जाम नभएमा र अरू कुनै समस्या नआएमा बस स्टेसन पुग्न आधा घण्टा लाग्ने रहेछ ।

अब बस छुट्ने प्रबल सम्भावना देखियो । बस स्टेसनमा समयमै पुग्न असहज हुने कुरा उनको अनुहारको भावमा प्रस्टै देखिन्थ्यो । बस स्टेसनसम्मको दूरी करिब २० किमि भएता पनि गतिको सीमा कतै ३० किमि प्रतिघण्टा त कतै ४० किमि प्रतिघण्टा भएकोले चाहेको गतिमा कार हाँक्न नपाइने अवस्था थियो । सहरभित्रको बाटो, पहाडी बाटो र घुम्तीहरू भएकोले त्यस्तो सीमा तोकिएको हुनुपर्छ ।

जीपीएस लगाएर रमणले कार हाँक्न सुरु गरेदेखि नै हामी तीनैजनाको ध्यान जीपीएसमा थियो, कति किलोमिटर बाँकी छ अनि कति समय लाग्छ भन्ने हेर्न । जीपीएसले जति बेला पनि बस स्टेसन पुग्दा १०ः५८, १०ः५९ हुने भनेर देखाएपछि म भने मनमनै आज बस छुट्ने भयो भन्ने निष्कर्षमा पुगिसकेको थिएँ ।

हामी सबै चुपचाप थियौँ । बोल्दा गाडी हाँकिराखेका रमणलाई झन् दबाब पर्थ्यो । कारभित्र एकप्रकारको शान्ति थियो, तर सबैको मन पूरै अशान्त !

जीपीएसले देखाउने बाटो कतिपय अवस्थामा लामो हुने हुन्छ । तर, रमण स्टुटगार्टमा लामो समयदेखि बसेकाले उनी त्यहाँको सडकसँग परिचित थिए । त्यसैले जीपीएसले देखाएको भन्दा फरक, भित्री बाटो हुँदै कार कुदाउन थालेपछि प्रविधिले बल्ल १०ः५६ मा बस स्टेसन पुग्ने भनेर देखायो ।

अब ढुक्क भएँ, बस छुट्दैन भनेर । हामी यही कुरा गर्दै थियौँ । तर, जुन घुम्तीबाट दायाँ मोड लिनुपर्ने थियो, त्यसभन्दा करिब ३० मिटर वरकै घुम्तीबाट दायाँ मोड लिन पुग्दा गलत बाटोमा पसिएछ । कारलाई फेरि एक चक्कर घुमाएर त्यही ठाउँसम्म ल्याइपुर्याउँदा जीपीएसले त बस स्टेसन पुग्दा ११ः०४ हुने भनेर देखायो ।

अब बस छुट्ने कुरामा कुनै शंका नै रहेन । सोमबार बिहानै बर्लिन पुग्ने मेरो योजना सफल हुने देखिएन । रमण शान्त देखिने असफल प्रयास गर्दै थिए । सबैजना मौन थियौँ । मैले रमणलाई ‘यो बस छुटेमा पनि केही छैन, अरू नै केही व्यवस्था गरौँला’ भन्दै सहज हुने वातावरण बनाउँदै थिएँ ।

तोकिएको ३० किमि प्रतिघण्टा, ४० किमि प्रतिघण्टाको सीमाभित्र हाँक्दै गर्दा केही समयपछि ८० किमिको गतिसम्म हाँक्न पाउने संकेत भएको सडकमा पुगेपछि रमणले कार हुइँक्याइहाले ।

यतिखेर जीपीएसले १०ः५९ मा स्टेसन पुग्ने जानकारी दियो । आशाको मधुरो किरण देखियो ।

अन्ततः बस स्टेसन देखियो, परैबाट । बस स्टेसननजिकै पुगेपछि फेरि एउटा गल्ती भयो, हडबडको बेला गडबड भनेझैँ । बस स्टेसन छिर्ने मोड भनी मोडेको त गलत मोडमा परेछ कार !

फेरि गलत बाटोमा पस्यो, गाडी । १०ः५९ भइसकेको थियो । कार फर्काएर ल्याउन समय नपुग्ने भएकोले रमणले इमरजेन्सी लाइट बालेर कार त्यही सडकछेउमा रोके र हामीलाई झर्न संकेत गरे ।

म र शिशिरजी ओर्लेपछि उनी कार पार्क गर्ने ठाउँ खोज्न थाले ।

मैले भिर्ने झोला बोकेँ भने शिशिरले सानो सुटकेस गुडाए । बाटो काट्न खोज्यौँ । रातो ट्राफिक बत्ती बलेको थियो । हरियो बत्ती कुर्दा अर्को २०/३० सेकेन्ड लागिहाल्थ्यो । कुर्ने अवस्था थिएन । यहाँ त सेकेन्ड सेकेन्डको महत्त्व थियो । रातको समय, सडकमा गाडीहरू कमै थिए । तसर्थ, रातो बत्तीमै बाटो काट्यौँ ।

बाटो काटेर हामी बस स्टेसनमा आउँदा एउटा मात्र बस थियो । ‘रुट नं एन४२, बर्लिन’ भनेर बसको विन्डस्क्रिनमा लेखिएको थियो । मलाई बर्लिन लैजाने बस त्यही नै थियो ।

बसको ढोका बन्द गर्न लागिसकेको रहेछ । ढिला गर्नेलाई बसले कुरेर बस्दैन । आफ्नो समयमा ढिला नगरी कुदिहाल्छ । जे होस्, हस्याङफस्याङ गर्दै बस भेट्टाइयो ।

बसका स्टाफले मेरो टिकटको क्यूआर कोड चेक गरे । सुटकेस लगेज राख्ने ठाउँमा राखेँ । शिशिरलाई धन्यवाद भन्दै मोबाइलमा कुरा गर्छु भन्ने इसारा गर्दै उनीसँग छुट्टिएँ । सिटमा बस्न पाएको छैन, बस गुडिहाल्यो ।

भोलिपल्ट बिहान समयमै बर्लिन पुग्नेमा बेफिक्री भएँ । अनि, रमणलाई फोन गर्न लागेको मात्र थिएँ, उनकै फोन आयो ।

उनले गाडी पार्क गर्न पार्किङ एरिया खोज्ने क्रममा फेरि गलत बाटो समाएछन् । दोस्रोपटकमा सही बाटोमा कार ल्याएछन् । पार्क गर्ने ठाउँ नभेटेर सडकभन्दा बाहिर जसोतसो पार्क गरेछन् । बस स्टेसनतिर हतारहतार आउँदै गर्दा स्टेसनको छेवैबाट बस गुडेको देखेर मेरो बस छुटेछ भन्दै थकथकी मान्दै फोन गरेका रहेछन् ।

“रमणजी, म त गाडीमा बसिसकेँ,” मैले जवाफ दिएँ । उनले सायद आनन्दको सास फेरे, अनिश्चयबीच आफ्नो प्रयास सफल भएकोमा । अनि, उनले अर्को रहस्य खोल्दै हाँस्दै भने, “सर, मेन बाटोमै दुईपटक बाटो मिस भएको थियो नि ! एउटा तपाईंहरूले थाहा पाउनुभयो, अर्को थाहा पाउनु भएन । बस समातिसकेपछि अब पहिलाका घुम्तीहरूमा के गल्ती भएको थियो, कस्तो गल्ती भएको थियो भन्ने कुरा गौण भयो ।”

उनले हाँस्दै भने पनि कति गहिरो कुरा थियो त्यो ।

कतिपय कुरा थाहा नपाउँदा पनि राम्रै हुने रहेछ । जे हुन्छ भई नै हाल्छ, थाहा हुँदा तनाव मात्र हुन्छ । तर, अर्को कोणबाट हेर्दा थाहा नपाउँदा सच्याउने मौका पाइँदैन । थाहा पाएमा सच्याउने प्रयास गर्न सकिन्छ ।

रमणले गल्ती भएको थाहा पाए र इमानदार प्रयास गरे, गल्ती सच्याउने । उनी सफल भए । गलत घुम्तीहरूका बाबजुद हरेस नखाएर गरेको प्रयासले अन्ततोगत्वा हामी हाम्रो उद्देश्य हासिल गर्न सफल पनि भयौँ ।

केही सेकेन्ड पनि थप अलमल गरेको भए हाम्रो सारा मिहिनेत खेर जाने थियो । अनि, बस नै भेटेपछि घुम्तीका गल्तीहरूको के कुरा भयो र !

अथक प्रयास गरी मलाई गन्तव्यसम्म सकुशल ल्याइदिएकोमा मैले मनैदेखि रमणलाई आभार व्यक्त गरेँ । अनि, शिशिरलाई सहयोग र आत्मीयताका लागि धन्यवाद भनेँ ।

म ढुक्क थिएँ, बसमा निद्रा लाग्दैन भन्नेमा । त्यसैले खासगरी रमणको निवासदेखि बस चढुन्जेलका क्षणहरूको विभिन्न आयामहरू केलाउन थालेँ । वास्तवमा समय लामोछोटो जे भए पनि अवस्थाअनुसार निर्णायक हुने रहेछ । समय निर्विकल्प छ, कति अमूल्य छ भन्ने बुझ्ने अवसर यो २० किमिको यात्राले उपलब्ध गराएको थियो । त्यही मिनेट र सेकेन्ड त हो, मेरो पक्षमा आउँदा एउटा दृश्य बन्यो ।

त्यही मिनेट र सेकेन्ड मेरो विपक्षमा भएको भए अर्कै दृश्य बन्थ्यो । आखिर वर्ष र महिनाजस्ता लम्बाइ धेरै भएको समय होस् या घण्टा, मिनेटजस्ता छोटो समय होस्, सबको आआफ्नै महत्त्व हुन्छ ।

लामो समयले घटनाहरूको एउटा शृंखला बोक्छ र समयको कुनै विन्दुले फैसला बोकेको हुन्छ ।

बस आफ्नो गतिमा कुद्न थालिसकेको थियो । सबै यात्रु निदाएका थिए । खालि बसको एकोहोरो आवाज मात्र थियो । म झ्यालबाट राजमार्गमा गुडेका गाडीहरू हेर्दै सोच्न थाल्छु, जिन्दगी सललल मात्र बग्थ्यो भने त के रौनक हुन्थ्यो होला र यसको ? अनिश्चितता छ, त्यसैले कौतूहल छ, उत्साह छ । गल्ती छ, त्यसैले सुधारको प्रयास छ, नदोहोर्याउने अवसर छ ।

जिन्दगी अगाडि बढ्दै जाँदा बाटो पनि बन्दै जान्छ । जिन्दगी हिँडाउन बाटो आफैँ तयार हुँदैन, बनाउनुपर्छ हिँड्न चाहनेले । हिँड्दा समस्या हुनसक्छ, बिराम हुन सक्छन् । तिनलाई ठूलो मानेर तिनैले थिचिएर बसियो भने एक दिन तिनले पाताल भासिदिन्छन् ।

सहज रूपमा लिइयो र समस्याका बाबजुद विवेक नगुमाई आफ्नो उच्चतम प्रयास जारी राख्यो भने गन्तव्य भेटिन्छ नै । हो, त्यही भएर हामीले पनि गन्तव्य भेट्यौँ । बस स्टेसनमा पुग्नु सबैको एउटै गन्तव्य भए पनि अभिप्रायः फरक थियो । उनीहरू मलाई हार्दिकतासाथ बिदा गर्न चाहन्थे, म तिनै हार्दिकता सँगालेर बिदा माग्न चाहन्थेँ ।

त्यो २० किमिको यात्रामा जीवनदर्शनका विभिन्न आयाम बोध गराउन स्टुट्गार्टले रचेको अविष्मरणीय रोमाञ्चक क्षणलाई उपहारका रूपमा सहर्ष स्वीकार्दै भन्न मन लाग्यो– धन्यवाद स्टुटगार्ट !
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  ०५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय