राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद हुनुअघि गैरसरकारी संस्था चलाउँदै थिइन्, इन्दिरा राना । उनी संसद् प्रवेश गरेलगत्तै उपसभामुख भइन् । उनी ‘आमा घर’ चलाउँदै थिइन्, जहाँ आमाको पहिचान थियो । त्यहीकारण संसदलाई पनि एउटा परिवार मानेर सल्लाहमा अघि बढ्नुपर्ने बुझाई उनको छ ।
‘संसद्मा’, उनले बुझेकै जस्तो भूमिका पाएकी छन् त ? एक वर्षको अनुभवले उनलाई के सिकायो ? संसदीय प्रभावकारिताका लागि के गर्नुपर्छ ? उपसभामुखको भूमिकालाई कसरी ग्रहण गरिरहेकी छन् ? यिनै प्रश्नको सेरोफेरोमा रहेर बाह्रखरीका रमेश वाग्ले र रोमन आचार्यले रानासँग कुराकानी गरेका छन् । प्रस्तुत छ, उपसभामुख रानासँगको कुराकानीको सम्पादित अंश :
–उपसभामुख भएको एक वर्षमा कस्तो अनुभव हुँदैछ ? फर्केर हेर्दा पदमा बसेर के भयो ? नबसेको भए के हुन्थ्यो जस्तो लाग्छ ?
मैले त सार्वजनिक तहमै बोलेको छु कि पहिले मलाई राजनीतिमा आउने मन थिएन । तर, राजनीतिमा आइसकेपछि के अनुभूति भयो भने राजनीतिमा म नआएको भए मैले नेपाल नबुझी मर्ने रहेछु ।
मैले राजनीतिमा आएर धेरै बुझेँ । बालबाललिका, मानवअधिकारका क्षेत्रमा काम गरिरहेको थिएँ । राजनीतिमा आएपछि राज्य सञ्चालनका लागि कस्तो हुनुपर्ने रहेछ ? हाम्रो देशमा अवस्था के रहेछ ? भन्ने बुझ्ने मौका मैले पाए । यो आफ्ना लागि ठूलो उपलब्धिका रुपमा मैले लिएको छु ।
–एउटा सांसदमात्र भएको भए सक्रिय भएर जनताको विषय उठाइरहन पाइन्थ्यो होला, दबाबमा राखिरहन सकिन्थ्यो । उपसभामुख पदमा बसेपछि त्यसमा सीमितता भएको महसूस भएको छ कि छैन ?
त्यो स्वभाविक हो । हामी पदाधिकारी भयौं । सांसदहरूलाई विद्रोह गर्ने, धर्ना बस्ने अधिकार छ । हामीलाई त त्यो अधिकार रहँदैन । तर, पनि मलाई लागेको कुरा एउटा देश बनाउने कुरामा, जनताका सवालमा मैले सार्वजनिक कार्यक्रममा बोलिरहेको छु । सभ्य तरिकाले आफ्ना विषय प्रस्तुत गरिरहेको छु ।
विगतमा म अभियान्ता पनि भएकाले केही विषय अन्यथा पर्न जान्छ होला त्यो बेग्लै कुरा हो । तर, मैले सकेसम्म सकारात्मक सोचका साथ सबैलाई समेटेर विषय राख्न खोज्छु । एनजीओमा बसेर काम गर्दा पनि त्यहाँ बेग्लै राजनीति हुन्थ्यो । मैले त्यहाँभित्र पनि सबैलाई समेटी अनुभव, स्रोत–साधन तथा अवसर सेयर गरेको थिएँ ।
त्यसो हुँदा मभित्र सबैलाई समेटी अघि बढ्ने स्वभाव छ । त्यसरी नै सकारात्मक सोचका साथ जनतालाई चेतना ल्याउने काममा लागिपरेको छु । यसैकारण म धेरै बाहिरको कार्यक्रममा गइरहन्छु । यहाँ काम नहुँदा मलाई कुर्सीमै बसिरहन मन पनि लाग्दैन ।
प्रायः महिला, ज्येष्ठ नागरिक, बालबालिका, कृषि विषयका कार्यक्रममा गएर बोल्छु । मैले पछिल्लो समय जलवायु परिवर्तनका विषयमा चीनमा ‘वल्ड कन्फ्रेन्स’मा भाग लिए । त्यसमा वक्तामा म थिएँ । मैले मार्केटिङ पढेको हुँ, डब्लुटीओको कार्यक्रमअन्तर्गत सिंगापुरमा बोलाइएको थियो ।
त्यहाँ पनि मैले भाग लिए र नेपाल कुन अवस्थामा छ ? आयात–निर्यात तथा विजनेस पोलिसीमा हाम्रो अवस्था कस्तो छ ? हाम्रो व्यावसायिक सन्धि–सम्झौतामा कहाँ कमजोरी छ त्यो पनि पत्ता लगाउन पाएँ मैले ।
स्पेनमा भएको कार्यक्रममा गएँ, देशको प्रतिनिधित्व गर्दै कुरा राखेँ । यसरी अन्तर्राष्ट्रियस्तरमा देशलाई फाइदा हुनेगरी नेटवर्किङ गरिरहेको छु, मैले ।
–यी अवसर उपसभामुख भएकै कारण जुरेका हुन् ?
यो मेरो पुरानै ‘प्राइभेट कनेक्सन’बाट भएको हो । म पहिले पनि ४३ भन्दा बढी देश गइसकेको छु । नयाँ भनेको म बंगलादेश यसपटक गएको हुँ ।
चीनमा पनि मेरो पुरानै ‘व्याकग्राउण्ड’ हेरेर बोलाएको रहेछ । तपाईंको कुरा बीबीसीमा हेरेका थियौं, चाइनिज महिलाहरूलाई इन्स्पायर हुन्छ भनी बोलाएको भनेका थिए । डब्लुटीओमा भने उपसभामुख भएकै कारण आएको अवसर हो ।
–पहिलोपटक संसद प्रवेश गरेपछि सांसदको रुपमा अभ्यास गर्न नपाउँदै उपसभामुख बन्नुभएको छ । अनुशासित हुनुपर्ने र संवैधानिक जिम्मेवारीबोध गर्नुपर्ने, सार्वजनिक व्यक्तित्व बनेको छ । तपाईंलाई सन्तुष्टि कत्ति दिएको छ पदीय जिम्मेवारीले ?
त्यो एकातिर छ । मेरो पद भनेको संवैधानिक हिसाबले छैठौं मर्यादित स्थानको पद हो । यो पदमा बसेर मलाई लाग्छ, स्वच्छ र पारदर्शी किसिमले काम गर्ने भए यो देशमा यो ठूलो पद हो ।
म राजनीतिमा नआएपनि देश, जनता र यहाँका सवालहरू बुझेको छु । म ५३ वर्ष भए । मसँग अनुभव छ । मैले जिन्दगी ‘ग्राउण्ड जिरो’बाट सुरू गरेकी हुँ । त्यसकारण म यो पदमा कम हुन्छु जस्तो लागेन र लाग्दैन पनि ।
तर, मैले जुन स्थान पाए, यसमा चाहिँ मैले के पाइनँ भने कुनै समय कार्यपालिका हाबी भयो होला, कुनै समय पार्टी हाबी भएर होला, मैले यो पदमा बसेर धेरै अवसर नपाएको जस्तो महसूस हुन्छ ।
तर, ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेजस्तै मैले आफैँ भूमिका खोजेर अघि बढिरहेकी छु । उपसभामुख हुनेबित्तिकै म खुम्बु हिमालसम्म पुगेँ । जलवायु परिवर्तनले त्यहाँको दिदी–बहिनीको जीवनस्तरमा कति असर पारेको छ ? खाना, पानीको अभावमा विस्थापित हुनुपरेका कुराहरू छन् । यसमा काम गरेँ ।
म शे–फोक्सुण्डो पनि पुगेँ । त्यहाँ एकपटक चोरी भयो, त्यहाँको वडाअध्यक्षले धरातलीय यथार्थ चित्रणसहित अवस्था दर्साउने गरी प्रतिवेदन दिएपछि मैले गृहमन्त्रीज्यूलाई भनेर सुरक्षा प्रबन्ध मिलाएँ ।
समाजको अवस्था बुझेर आवश्यकता अनुसार दबाब दिन सक्ने ठाउँ यो हो ।
कतिपयले उपसभामुखको कामै छैन भन्छन् । तर, त्यो होइन । सामाजिक आवश्यकता पूरा गर्न सम्बन्धित निकायमा पठाउन मैले सचिवालयलाई सिफारिस लेख्न लगाएको छु । विभिन्न ठाउँमा आफैँ स्थलगत भ्रमण गर्ने गरेको छु ।
उपसभामुख भएर मन्त्रालय धाउनु हुँदैन भन्ने छ । फोन गर्दा मन्त्रीहरूको फोन उठ्दैन । अस्ती उद्योग मन्त्रीसँग मैले भेटेको थिएँ । कोशी टाप्पुमा नेचुरल म्याट्रेस बनाउने प्लान्ट लिन महिलाहरुले आर्मीबाट असहयोग भएको गुनासो गरेका थिए ।
मैले समिति बैठकमा आउनुभएका आर्मी चिफ (प्रधानसेनापति)लाई यहीँ बोलाएर कुरा गरेँ । उहाँले वनसँग सम्बन्धित भएको भनेपछि वार्डेनसँग कुरा गरेर स्थलगत अनुगमनमा गए । यसरी धेरै काम गरिरहेको छु ।
म नकारात्मक नसोच्ने मान्छे हुँ । यो सिट एकदमै महत्वपूर्ण सिट लागेको छ । मैले बोलेर काम गर्ने हैन नि, ‘एक्सन’बाट काम गर्ने हो नि । सचिवालयका अधिकारीहरुसँग विधेयकबारे कुरा गर्छु ।
संसद् एउटा घर हो । कार्यपालिकालाई हामीले अनुगमन गर्ने, स्वेच्छाचारी हुन नदिन हामी जबसम्म एक हुँदैनौं, हाम्रो एउटै स्वर हुँदैन, तबसम्म सफल हुन सकिँदैन । हरेक संस्थामा आफ्नो ठाउँमा बलियो हुनुपर्छ । संसद्लाई बलियो बनाउने काम हाम्रो हो ।
–संसदीय गतिविधि र निर्णय प्रक्रियामा तपाईंले कति भाग लिनुभएको छ ?
अभ्यास निरन्तर हुुनुपर्छ । मेयर, डेपुटी मेयर, सभामुख, उपसभामुख एउटै हुन् जस्तो मलाई लाग्छ । अझ उपप्रमुखहरूलाई बढी अधिकार छ । संविधानमा स्थानीय तहका उपप्रमुखलाई न्यायिक समितिको संयोजक नै बनाइदिएको उपप्रमुख र उपाध्यक्षलाई ।
तर, उपसभामुखको यस्तो हुँदैन । मेरो कर्तव्य भनेको सभामुखज्यूलाई सहकार्य गर्ने, सही सल्लाह दिने र उहाँको अनुपस्थितिमा काम गर्ने हो । त्यसका लागि त सभामुखले गर्ने हरेक काम मैले पनि जानेको हुुनुपर्छ नि !
जस्तो मुख्य, प्रमुख सचेतक, सचेतकहरूले उहाँसँग कसरी ‘ट्याकल’ गरिरहनुभएको छ, त्यो सुन्ने मौका पाएँ भने म पनि ‘ट्याकल’ गर्न सक्छु ।
महत्वपूर्ण औपचारिक बैठकहरूमा हाम्रो भेट भइरहेको छ । तर, रेगुलर हुनुपर्ने भेटघाट भइरहेको छैन ।
–तपाईंहरू संयुक्त बसेर गर्नुपर्ने ‘संघीय संसद् सचिवालय व्यवस्थापन समिति’ पनि छ त्यसमा त नियमित बस्न पाउनु हुन्छ नि हैन ?
नियमित बैठक भएको छैन । म त्यो बैठकमा सहभागी हुन पाएको छैन । खबर भयो भने जहाँ भए पनि पुग्ने गरेको छु ।
–संसदीय प्रक्रिया बुझ्न कत्तिको जटिल हुने रहेछ ?
सबै ठाउँमा मर्यादाका कुरा हुन्छन् । मलाई लागेको कुरा महासचिव, सचिव, सहसचिवलाई बोलाएर सोध्न सक्छु । त्यो मेरो अधिकारको कुरा हो । हाम्रो रेलुगर बैठक भएको छैन । उपसभामुख भएर समितिका बैठकमा म बस्न मिल्दैन ।
म समितिको बैठकमा जाँदा कानुन समितिमा बाल सुधार गृहकाबारेमा विज्ञका रूपमा मलाई आमन्त्रण गरेपछि म गएकी हुँ । म जेलमा गएर बच्चाका लागि निरन्तर काम गर्नेमा पर्छु । तर, मलाई त्यसबारे विस्तृतमा व्याख्या गर्न भनियो । मलाई विज्ञका रुपमा सभापतिले बोलाएर गएको हुँ ।
–एनजीओको वकालत गर्नुहुन्छ भन्छन् नि तपाईंलाई ?
वास्तवमा सरकारका मान्छेहरु ‘एनजीओ’ मन पराउँदैनन् । तर, एनजीओ पनि सरकारकै ब्रान्च हो । सरकारले स्वीकृतिपछि आएका हुन् नि । मलाई लाग्छ, सरकार आफैँलाई सबै सूचना थाहा हुँदैन । म ‘एनजीओ’को कार्यक्रममा जान्छु । उपसभामुख सानो–सानो कार्यक्रममा किन जाने भन्छन् ।
तर, ती सबै जनता हुन् नि । उनीहरुका कुरा सुनेपछि जानिने हो । के भइरहेको छ भनी वास्तविक कुरा उनीहरुका मुखबाट सुनेपछि जति अनुभव हुन्छ, त्यो सँधै पाइँदैन ।
सरकारसँग प्रशस्त पैसा छैन भने युएनडीपीले गरेको कार्यक्रम र काममा जानपर्यो । युनेस्काले गरेको कार्यक्रममा पनि जानुपर्छ । फरक–फरक आइएनजीओले गरेको कार्यक्रममा सांसदलाई पठाइयो भने उहाँहरुलाई सिक्ने मौका हुन्छ नि ।
हामी एक–अर्कामा अन्तर्निहित छौं । अभिन्न अंग हो नि । सरकार एक्लैले देशको सबै समस्या समाधान गर्ने हैन नि । सबै ‘सेक्टर’ मिलेर गर्ने हो नि ।
–सभामुखले तपाईंलाई निर्णय प्रक्रियामा कत्तिको साथ राख्नुभएको छ ?
इमान्दार भएर भन्ने हो भने त्यो भएको छैन । किन भएन, त्यो मलाई थाहा छैन । उहाँलाई थाहा नभएर हो कि ? राजनीतिक कारण पनि अलिकति हो कि जस्तो पनि लाग्छ । राजनीतिक रुपमा म दलीय सदस्यता त्यागेर बसेको छु । उहाँ पनि दलको सदस्यता त्यागेर बस्नुभएको छ । हामी दल त्यागेकाहरू भएपछि संसदमा परिवारका सदस्यसँग जस्तैगरी सल्लाह हुँदा राम्रो हुन्थ्यो जस्तो लाग्छ ।
म चाहिँ संस्था चलाएर आएको मान्छे । अन्तर्राष्ट्रिय नेटवर्कमा काम गरेको छु । अरुलाई पनि समेटेर जानुपर्छ भन्ने मान्छे । देशको मात्र हैन, संसारकै शान्ति चाहने, कोही भोको नहोस्, कहीँ अशान्ति नहोस् भन्ने मान्छे म । संसारले आमा भनेर चिनेको हो नि । म राजनीतिमा त त्यसपछि न आएको हुँ ।
म चाहिँ ‘सेकेण्ड पर्सन’लाई अघि बढाउनुपर्छ भन्ने लाग्छ । सँगसँगै अघि बढाउँछु । यहाँ पनि त्यही चाहन्छु र त्यो हुनुपर्छ भन्ने लाग्छ । जति हुनुपर्ने त्यो चाहिँ छैन । तर, समन्वय भइदिए थप प्रभावकारी हुने थियो भन्ने मलाई लाग्छ ।
संसदले यो गरेन, सरकारले यो गरेन भन्ने छ । यहाँ पनि समन्वय हुनुपर्छ किनभने यो एक–अर्काको अभिन्न अंग हौं । त्यस्तै सभामुखसँग म पनि अभिन्न अंग हो ।
पार्टीगत रूपमा उहाँलाई विश्वास गर्न गाह्रो होला । मैले सभामुखको अप्ठ्यारालाई त्यसरी बुझ्छु । तर, मेरो अपेक्षा चाहिँ राम्रो होस् भन्ने हो । ठिक भएन भन्नेमा यो ठिक भएन भन्ने मेरो पनि अधिकारको कुरा हो ।
–सभामुखको कार्यकक्षमा औपचारिक बैठक भइरहेका हुन्छन्, तपाईं अनुपस्थित हुनुहुन्छ, किन ?
मलाई बोलाएका बेला म जतिबेला पनि पुगेको छु । तर, कतिपय फोरममा किन बोलाइँदैन, मलाई थाहा छैन ।
समिति सभापतिसँगकै छलफलमा किन छुटाइयो थाहा भएन । म छैन भनेर नबोलाएको भन्ने सुनेको थिएँ । तर, म संसद्मा आएको थिएँ, त्यो डेट पनि लेखेको थिएँ । मलाई नबोलाएपछि म नगएको हो, बोलाएको भए म जान्थेँ ।
यो दिन यो गरौं भनी सल्लाह भयो भने म त्यो समयमा रातारात गरेर भए पनि आउँछु । तर, यस्तो समन्वय भएको छैन, समन्वय भएको भए राम्रो हुने थियो ।
–कार्यवाहक महासचिव सिफारिस हुनभएको छ । त्यो सभामुख र राष्ट्रियसभा अध्यक्षले सिफारिस गर्ने हो । सिफारिस हुनुअघि वा भइसकेपछि केही कुराकानी भएइको छ ?
त्यो त केही पनि भएन । नियममा सभामुख र राष्ट्रियसभा अध्यक्षको अधिकार हो । तर, पनि यो घर हो । यसमा पनि सल्लाह भएको भए नराम्रो केही हुने थिएन जस्तो लाग्छ ।
–सिफारिस भएको व्यक्तिको नागरिकता, राहदानी विवादमा छानबिन हुँदैछ, छानबिन पूरा नहुँदै नियुक्ति गर्न मिल्छ ?
त्यो पुरानो कुरा हो, भन्नुभएको छ उहाँले । के सत्य हो ? के असत्य हो उहाँलाई थाहा होला, मलाई छैन । मिडियामा देखिरहेको छु । अरुको पनि उमेरमा फरक पारेको आइरहन्छ । उहाँले पनि नियतबस गर्नुभएको हो कि हैन मलाई थाहा छैन । यसमा के हो ? सत्य–तथ्य या त उहाँले ‘जस्टिफाइ’ गर्न सक्नुहुन्छ । या छानबिन भए त्यसले प्रमाणित गर्ला ।
–एक वर्षको अनुभवले यो पदलाई प्रभावकारी बनाउन के गर्नुपर्ने रहेछ भन्ने लाग्दैछ ?
सदनलाई प्रभावकारी बनाउन सँगसँगै काम गर्न मन लागेको थियो । तर, कहिलेकाहीँ उहाँहरुले बोलाउनु हुन्न । हरेक सचिवालयसँग बैठक होस्, घनिभूत छलफल होस् । यस्ता विषयमा म खोजी–खोजी जान्छु नै ।
म नजानेका विषयमा प्रवक्ताज्यूलाई सोधेर हैरानी पार्छु । उपसभामुख चाहिँ सचिव, सहसचिव कहाँ पस्नुहुन्न भन्छन् । तर, म आफैँ जान्छु । कसैलाई मेरो मातहतको हो भनी दासत्ववाला व्यवहार मलाई मन पर्दैन ।
मलाई चाहिएको छ भने म आफैँ जाने हो । एकराम गिरि सर व्यस्त भए पनि मलाई यो कुरा आएन भनी सोध्छु बताइदिनुहुन्छ । फोनमा पनि सोध्छु ।
सुदर्शन खड्का सरलगायत अन्य सचिवलाई पनि बोलाउँछु, कहिले लेखालाई बोलाएर सोध्छु ।
यो ठाउँ भनेको सचिवालयको गुनासो सुन्ने ठाउँ पनि हो । हामीलाई यस्तो समस्या परेको छ भनेर भन्नुहुन्छ । सांसदज्यूहरू पनि यहाँ आउनुहुन्छ । कसरी बोल्ने भन्नेलगायत विषयमा समन्वय गरेको छु । मैले काम गरेको छु जस्तो लाग्छ ।
अर्को कुरा जति म ‘एक्टिभ’ हुनुपर्ने थियो, त्यो नभए पनि त्यत्तिकै चाहिँ बसेको छैन । म जनतासँग पनि भिजेको छु । पूर्व–पश्चिम सबैतिर पुगेको छु ।
टिमका हिसाबले सांसदभन्दा बढी भए पनि पाउने सेवा सुविधा एउटै हो । कतिपय अवस्थामा म आफ्नै निजी खर्चमा जनतासमक्ष पुग्छु र पुगेको छु । म प्रचारमुखी चाहिँ छैन ।
तस्बिर– हरिशजंग क्षेत्री