site stats
बाह्रखरी :: Baahrakhari
देश
मन्त्री ज्वालालाई बयानका लागि बोलाइयो, छानबिन गर्न थप समय माग्दै आयोग  
फाइल तस्बिर ।

काठमाडौं । ललितपुरको बालकुमारी घटनाबारे छानबिन गर्न बनेको आयोगले समय अवधि थप्ने भएको छ । गत पुस १३ गते  बालकुमारीमा प्रहरीको गोली लागेर अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो ।

कोरिया भाषा परीक्षाको फाराम भर्ने विषयमा विवाद हुँदा युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार बा२झ ५८६१ नम्बरको ल्यान्डक्रुजर प्राडो समेत जलाइदिएका थिए ।

सोही विषयको छानबिन गर्न सरकारले पुस १६ मा उच्च अदालत पाटनका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सो आयोगलाई सरकारले एक महिनाभित्र घटनामा भएको मानवीय, भौतिक लगायतका क्षतिको विवरण, घटनामा संलग्नहरूको कमी कमजोरी पत्ता लगाएर कारबाहीका लागि सिफारिस गर्ने कार्यादेश दिएको थियो ।

तर, आयोगले सरकारले दिएको एक महिनाको समय सीमाभित्र काम नसकिने भन्दै थप्ने तयारी गरेको हो ।

“हामीले काम पुस २० गतेदेखि थालेको हौँ । अहिले पनि काम गरी नै राखेका छौँ । सरकारले तोकेको समयसीमाभित्र काम सकिने अवस्था छैन । केही समय थप माग्छौँ,” आयोगका अध्यक्ष पौडेलले भने ।

बालकुमारी घटनामा गृह मन्त्रालयले प्रहरीको कमजोरी देखाउँदै फिल्डकमाण्डमा खटिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश लम्साल र मन्त्री ज्वालाका पीएसओ बोधराज दनुवारलाई निलम्बन गरेको थियो ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख रुद्रप्रसाद पण्डित र ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाह समेतलाई त्यति नै बेला परिवर्तन गरेको थियो ।

युवाहरूले प्रदर्शन गरिरहेको सडकमा मन्त्रीको गाडी जानकारीबिना नै प्रवेश गर्दा घटना भएको प्रहरीको दाबी छ । छानबिन आयोगले फिल्डमा खटिएका प्रहरी अधिकारीसहित एसएसपी शाहसँग बयान लिइसकेको छ ।

मन्त्री ज्वालाको समेत बयान लिने तयारीमा आयोग रहेको अध्यक्ष पौडेलले जानकारी दिए । 

“मन्त्रीज्यूको पनि बयान लिन्छौँ । त्यसका लागि हामीले चिठ्ठी पठाइसकेका छौँ,” अध्यक्ष पौडेलले भने ।

युवाहरूले प्रर्दशन गरिरहेकै बेला पार्टीको बैठकमा सहभागी भएका मन्त्री ज्वाला कोटेश्वर तर्फको विपरीत लेनबाट जान खोज्दा उनको गाडी जलाइएको थियो । त्यो बेला उनका पीएसओ दनुवारले ललितपुर प्रहरीलाई समेत खबर नै नगरी त्यहाँ पुगेको अनुसन्धानका क्रममा खुलेको छ ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १४:१०
प्रतिक्रिया दिनुहोस्