site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
विलोम
Sarbottam CementSarbottam Cement

केटीले गम्भीर भएर भनी, ‘हाम्रो प्रेमको परीक्षाको घडी यही हो । तिमी मलाई आजै राति भगाएर लैजाऊ ।’

‘आजै राति ?’ केटोले केटीलाई सोधेझैँ गरी आफैँसित प्रश्न गर्यो । केटोसित केटीलाई लैजाने ठाउँ थिएन । न पहाड न मधेस । हिमालतिर कल्पनै गर्न सक्दैनथ्यो । अनकन्टार ठाउँ हिमाली क्षेत्र— यस्तो मान्थ्यो केटो ।

अहिले केटोले भाग्ने प्रस्ताव गरेको छैन, गर्नुपर्ने केटोले हो । केटी आफैँ अघि सरेर भाग्ने प्रस्ताव गरिरहेकी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

केटीहरू फरवार्ड छन् । फरवार्ड यस मानेमा, केटी विवाह संस्थामाथि विश्वास राख्छे । विवाह संस्था अलि ब्याकवार्ड हो, तैपनि । नत्र किन भागेर विवाह गर्न आतुर हुने थिई ?

केटीभित्र एउटा कल्पना हुन सक्छ— विवाहपछि केटो पूर्णतः उसको अधीनमा रहनेछ । यो केटो तयार हुन सक्थ्यो । तर, उसले भविष्य सोच्यो । निकट भविष्यतिर नियाल्यो, सोच्यो । आजै राति भगाएर कता लैजाने ? बिहानसम्म रात्रिबसमा रात काटिएला, एकार्काको कुममा टाउको राखी निदाएर । रात्रिबसको अन्तिम बिसौनीपछि ? बसको खलासीले चिच्याएर भन्नेछ, ‘लौ है आइपुगियो । सेवा समाप्त !’

Global Ime bank

केटी जसलाई ऊ मीनु भनेर बोलाउन मन पराउँछ, उसलाई लिएर कहाँ जाने ? बसअड्डाछेउको सस्तो होटेलमा ? त्यसपछि ? यी सबै कुरा निकट भविष्यका चिन्ताका कुरा थिए । ती सबै पुरुष केटोले लोग्ने भएर सोच्यो ।

केटीले राति नै भाग्ने भनेपछि कममा आठदश तोला सुन घरबाट जिप्टाएर हिँड्नेछे । ल, होइन रे आठदश तोला, बिसपच्चिसै तोला भए पनि त त्यसले कति दिन पुग्छ ? फेरि त जीवनको संघर्षमा ओर्लनै पर्यो । खानलाउनको जोहो छ । केटी श्रीमती हुन्छे र ऊ श्रीमान् । लोग्नेस्वास्नी । तर, कति दिन ?

केटीको बाबु पहुँचवाला छ । खोजेर फेला पारेपछि उसको ज्यान पनि जान सक्छ । छोरी भगाउनेलाई के सजाय दिने ? केटीको बाबुले सोचिसकेको छ । सीमानजिकको सहरमा लुकेर बसेको भए सुपारी दिएर पारिकालाई उसको हत्या गराउन सक्छ । पारि एकभन्दा अर्को खुँखार पेसेवर हत्यारा छन् । कम्पिटिसन छ हत्याको दरमा ।

दशगजामा बीभत्स हत्या भएको छ उसको र केटीको बाबुको प्रभाव यस्तो छ — न उताको पुलिसले केस लिन चाहन्छ न यताको प्रहरीले । दशगजामा उसको लास सड्दैगल्दै पछि कंकालमा परिणत हुन बेर लाग्ने छैन । केटाका आमाबाबु छाती पिट्दै क्रन्दन गरिरहेछन् । सुन्नेवाला कोही छैन ।

केटो यो सोचेर सिरिङ्ङ काम्छ । साला, लभ किन गरेछु आफ्नो औकात नाघेर !

उसले केटीलाई आश्वस्त पार्ने गरी हुन्छ भन्न सकेन । केटीले उसलाई कर्के आँखाले हेरिरही र केही बेरपछि सोधी, ‘किन ? डरायौ ? भाग्नेभगाउने कुरामा ।’

‘त्यसो होइन मीनु ।’ केटीलाई मीनु भनेर बोलाउँदा केटो निमेषको मन आगोनजिक पग्लेको नौनी भइदिन्छ ।

निमेष टिकटक हेर्ने गर्थ्यो, कहिलेकाहीँ मीनु उद्दाम शैलीमा प्रस्तुत हुने गरेको देखेको छ । त्यस्तो गर्दा लाज हुन्छ भन्थ्यो केटो, तर केटी भन्थी, ‘केको लाज, भएकाले देखाउने त हो ! तिमेरुको भुत्ला कसले हेर्छ ?’ भन्थी ।

समय मूल्य क्षयको छ— केटो सोच्थ्यो । तर, केटी अहिले नरम छे । उसलाई विवाहको चासो छ । विवाह गरेर गृहिणी हुने रहर छ । रहरले जीवन चल्दैन— केटो प्वाक्क भन्न चाहन्छ ।

लाजसरम त पौराणिककालको कुरो । पौराणिककालमा पनि उद्दामता थियो नारीहरूमा । देवताहरू स्वर्गलोक छाडेर मर्त्य सयर गर्न निस्कन्थे, थाइल्यान्डतिर गएजस्तो । कति त सुन्दरी ऋषिपत्नीसित बलजफतीको सहवासका कारण शापग्रस्त भएर यतैकतै ढुंगा हुन्थे र उद्धारकको प्रतीक्षामा बस्थे ।

निमेषको निष्कर्ष हुन्थ्यो— केटीको उद्दामता ऊ सम्हाल्न सक्ने होइन । भागौँ भन्दै छे ।

भाग्ने वा भगाउने प्रस्तावले केटो गम्भीर भयो । गृहस्थी कर्मलाई ऊ गम्भीरतासाथ लिन्थ्यो । केटीको भनाइ यति हलुका थियो, ‘तिमीसित घरबार टिकेन भने अर्कोसित जान्छु । मलाई के ?’ मीनु भनिरहेकी थिई, ‘तिमी मलाई भगाउन सक्दैनौ भने मसँग भाग्छौ ?’ चुनौती आइलाग्यो ।

केटीको भनाइमा उसका आमाबाबुले केटो खोजिसकेका छन् रे ! इन्जिनियर वा डाक्टर के हो, हो । त्यो त स्वाभाविक हो । केटोले अमेरिकाको डीभी पनि भरेको छ रे ! केटी निमेषलाई छाड्न सक्दिनँ भन्छे । यस जुनीमा अर्को पुरुष चाहिने होइन रे !

प्रेमको कुरो छ । प्रेम प्रदर्शन । भागौँ भन्ने केटीहरूको के ठेगान ? लभ । निमेषसित उसको प्रगाढ प्रेमसम्बन्ध छ । लभ गर्छे केटी उसलाई । यस्तो निमेषले मानेर हिँड्ने गरेको छ । बाँकी भविष्यको गर्भमा । भविष्य टाढाको होइन, निकट भविष्य – त्यो विकट छ, जुन सोचेर केटोको होस उड्ने गर्छ ।

गर्भको कुरो आएपछि केटी भन्छे, ‘पहिले हामी पतिपत्नी बनौँ ।’ अहिलेसम्म निमेषले केटीलाई शय्याशीन गराएको छैन । सज्जन छ निमेष ।

‘आज राति त कसरी सम्भव होला ?’ केटोले सुस्तरी भन्यो । डराइ पनि रहेथ्यो । केटी ज्वाला छे । नाम उसको ज्वाला हैन, तैपनि । केटी उसलाई असाध्य मन पराउँथी र केटोले पनि उसलाई मन पराउँथ्यो । एक्जाम नजिक हुँदा सँगै स्टडी गर्छौं भनेर नजिकिएका थिए ।

केटोले केटीलाई झुक्याएर अमेरिकन स्टाइलमा किस पनि गरिसकेको थियो । केटी रिसाइन, तर चाख देखाइन । साली, कतै अर्काको बोकेर हिँडेकी छैन ? नत्र भाग्ने प्रस्ताव किन आयो ! यस्तो केटीसित कसरी रमाउने ?

केटी आफैँले चुम्बन थपिदिन प्रस्ताव गर्ली भन्ने धारणा थियो निमेषको । तर, केटी चुम्बनप्रति त्यति लोभिएकी पाएन उसले । केटो बेबकुफजस्तो भयो ।

‘हामी जिन्दगीलाई हल्का तरिकाले लिन सक्दैनौँ । जिन्दगीको यात्रा लामै छ,’ केटीले डायलग दिई । ऊ उच्च मानवीय मूल्यको संरक्षणमा थिई । केटीको गम्भीरताले यही देखायो । गम्भीर हँुदा केटीको सौन्दर्यमा झन् निखार आउँथ्यो ।

निमेषलाई लाग्थ्यो, उसले केटीलाई प्रेमपाशमा बाँधेर गल्ती गरेन । केटीको गम्भीर सौन्दर्य देखेर ऊ सयपटक मर्न तयार हुने थियो । त्यस्तो अवसर यदि केटीलाई भगाएर लग्ने गल्ती गरेको खण्डमा केटीको बाउले प्रदान गर्न सक्थ्यो । त्यो सम्झेर निमेषको सौन्दर्यबोधमाथि तुषारापात हुने गर्छ ।

यति बढी गम्भीर होली केटी भन्ने निमेषले ठानेको थिएन । गम्भीर भएपछि झन्झन् मीनु सुन्दरी भएको देखेर उसलाई विश्वास गर्न कर लाग्यो— केटी गम्भीर छे । आदर्श गार्हस्थ्य जीवनको माध्यमबाट केटी उच्च मानवीय मूल्यलाई संरक्षण गर्न चाहन्छे । यस्तासँग गृहस्थी जीवन बिताउन अझ गम्भीर हुनुपर्ने पायो उसले ।

गम्भीरता कस्तो भने जीवनलाई सफल र सुखी बनाउने । त्यो निमेषले ठोकेर भन्न सक्दैनथ्यो । भविष्य धेरैको दुःखपूर्ण बितेको छ भाग्नेहरूको । उसको सोचमा सामान्य घरगृहस्थी चलाउन सके भैगो भन्ने थियो ।

केटोले भन्यो, ‘भोलि अंग्रेजी पेपर छ । पढौँ ।’ उसले भाग्ने कुरो तर्काउन त्यसो भनेको थियो । केटीदेखि उसलाई डर लागेर आयो । टिकटकमा उद्दाम देखिने केटीमा एक्कासि यसरी गम्भीर भएर जीवनको अज्ञात भविष्यको सामना गर्ने लालसा कसरी आयो ? यो देखेर ऊ अलमलमा पर्यो ।

केटीले के ऊसँग भागेर केही दिनपछि टिकटक बनाएर पपुलर हुन चाहेको हो कि ! टिकटकमा के बनाउने ? उसरी भाग्ने भन्दै छे । ऊसँगको प्रेम यति प्रगाढ होला भन्ने उसले अनुमान गरेको थिएन । केटीले अहिले नै भोलिको अंग्रेजी पेपर छाडेर भागौँ भनेको भए पनि मान्ने थिई । केटी घरगृहस्थी भनेको भाँडाकुटीको खेलजस्तो मान्दछे कि ?

‘भागेर जाने कहाँ ?’

‘तिम्रो विचार परिपक्व रहेनछ । यत्रो ठूलो संसारमा कहाँ जाने भनेर अल्मलिएका छौ । एउटी केटी भगाउने हिम्मत पनि छैन ?,’ केटीले दृढतापूर्वक भनी, सोधी पनि ।

त्यै त । संसार ठूलो हुनाले कता जाने भन्ने अलमल छ । मानिसहरूको धारणामा विश्व एउटा ग्राममा सिकुडिसक्यो । तर, केटोले केटी भगाएर सुरक्षित राख्ने ठाउँ भेटिरहेको छैन । सानो संसार भए त हुने थियो । सानो संसार यसरी हुने थियो, उसका आमाबाबुले मीनुको हात मागेर ऊसँग बिहे गरिदिएमा ।

तर, केटी जस्तो कि यस्ता कथाहरूमा हुने गरेको छ, धनाढ्यकी छोरी थिई । अहिले पनि उनीहरू पढ्न केटीकै घरमा छन् । केटोको घर भन्नु तीन कोठाको एउटा साँघुरो ठाउँ छ । कटेरो भन्न उपयुक्त । त्यहाँ केटी अटाउन सक्दिन । केटीको धनाढ्य मानसिकता । केटो अनुभवी थियो । सबै थाहा थियो ।

घरमा बाबुले कुप्री परुन्जेल गृहस्थको भार बोकेको देखेर ऊ पढ्नमा बढी ध्यान दिन्थ्यो । बाबुको बोझ आफ्नो काँधमा सार्न चाहन्थ्यो । तर, त्यसमा समय लाग्ने थियो । उसका बाबु र आमा दुवै सन्तानप्रति आशावान् थिए– अहिले दुःख गरिराखौँ, भविष्यमा सुख दिन्छन् यिनले ।

खलल यो परिरहेथ्यो, निमेषले यो केटीसित प्रेम गर्यो । अंग्रेजी पढ्दापढ्दै मनमनै गाली गर्यो, ‘साला प्रेम !’

केटी पढ्न छाडेर उसलाई अध्ययन गरिरहेकी थिई र अन्त्यमा भनी, ‘भन, तिमी के भन्छौ ?’

केटो अंग्रेजी पेपरको तयारीमा यति डुबेको थियो, केटीको प्रश्नले तर्सियो । केटी पढिरहेकी छैन । अंग्रेजी पढेपछि सबै कुरा सहजै पार गरिन्छ भन्ने केटाको भित्री अन्तरतहमा विश्वास जमेको थियो ।

‘के भन्ने ? कुन कुरा ?’ केटोलाई केटीको प्रश्नले अंगे्रजी पेपरमा फेल भएजस्तो लाग्यो । अनुत्तीर्ण । सपना भत्केको अनुभूति पनि भयो ।

‘उही भाग्ने कुरो ।’

‘आजै राति ?’

‘आज होइन, भोलि राति । आज त यति बेला भइसक्यो,’ केटीले भनी । 

निमेषले घडीतिर हेर्यो, महँगो भित्ते डिजिटलमा नौ बजेको थियो ।

‘हुन्छ ।’

‘लौ उसो भए । अहिले घर जाऊ । भोलि सरसामान पोको पारेर मलाई लिन आए ।’

सरसामान ? केटोसित एकजोर लुगा थियो, लगाएको समेत गरेर मुस्किलले तीन जोर ।

केटोले छुटकारा पाउन भन्यो, ‘हुन्छ । म लिन आउँला ।’

केटाको कुरोले केटी शरद्को पूर्णिमाझैँ उज्याली भई फक्री ।

अर्को दिनको रात बित्यो । केटो आएन । केटी पर्खिरही र अन्त्यमा भनी, ‘लाछी ।’  
                                                                                 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  ११:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय