site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्वास्थ्य क्षेत्रमा उल्लेख्य कार्य, कुल बजेटमध्ये २१ प्रतिशत खर्च 

विराटनगर । कोसी प्रदेश सरकारले आफ्नो एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । गत असोज २७ मा कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पत्रकार सम्मेलन आयोजना गरी कार्कीले सरकार गठन भएपछि आफ्नो नेतृत्वमा गरेका काम सार्वजनिक गरेका हुन् । कार्कीले कानुन निर्माणदेखि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सरकारले गरेका कामबारे जानकारी गराए ।

सरकारले प्रदेश राजधानी विराटनगरमा शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालनमा ल्याएको बताए । कार्कीले सुनसरीको इटहरी उपमहानगरपालिका–११, पकलीमा एक सय शय्याको जलन अस्पताल निर्माणका लागि जनस्वास्थ्य सरोकार टष्टसँग सम्झौता भएको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्वास्थ्यतर्फ नै प्रदेश सरकार मातहतका प्रादेशिक अस्पतालका साथे चार वटा निजी अस्पतालबाट १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार गराउने सम्झौताबमोजिम काम सुरु भइसकेको सुनाए ।

उनले सातवटै प्रदेशका मख्यमन्त्रीको हेटौँडा भेलाले संविधान कार्यान्वयनका लागि समन्वय र संघर्ष गर्ने निर्णय गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षणपत्र बुभझाएपछि प्रधानमन्त्रीबाट १५ दिनभित्र प्रहरी समायोजन गर्ने घोषणा भएर प्रक्रिया अघि बढ़ाइएको बताए । 

उनले भने, “संविधानको पूर्ण कार्यान्वयनका लागि बनाउन पर्ने कानुनको संघीय सरकारले सूची तयार गरी प्राथमिकता क्रम निर्धारण गरेको छ ।” 

यस अवधिमा प्रदेश निजामती र स्थानीय सरकारी सेवाको सर्तसम्बन्धी ऐन निर्माण भइ कर्मचारी पदपूर्तिमा सहज भएको कार्कीले जनाए । 

उनले भने, “अब कर्मचारी भर्नाको बाटो खुला भएको छ । प्रदेश लोकसेवा आयोगमार्फत पदपूर्ति हुनेछ ।”  

बजेटविहीनताको अवस्थालाई प्रतिस्थापन विधेयकमार्फत निकास दिएको, सभामुख चयन र संसदीय समितिको चयनलाई पनि सरकारले सय दिने उपलब्धिको रूपमा व्याख्या गरेको छ । 

यस अवधिमा कुल बजेट ३६ अर्ब ७४ करोड ३५ लाखमध्ये सात अर्ब ६६ करोड ७९ लाख रुपैयाँ खर्च भएको जनाइएको छ । 

आफूले सरकारको नेतृत्व गर्दा बजेट खर्च चार प्रतिशत रहेकोमा अहिले २१ प्रतिशत पुगेको मुख्यमन्त्री कार्कीले बताए  । आयको प्राप्ति ३६ अर्ब रहेकोमा प्राप्ति १७ अर्ब ६२ करोड रहेको जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्