site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
जापानको यान सफलतापूर्वक चन्द्रमामा अवतरण, सोलार ब्याट्रीको रिचार्जमा समस्या 

टोकियो । जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (जाक्सा)ले ‘स्मल लुनार ल्यान्डिङ डेमोन्स्ट्रेटर (स्लिम)’ चन्द्रमामा अवतरण भएको शनिबार पुष्टि गरेको छ ।

स्थानीय समयानुसार शनिबार जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा)ले एक अनलाइन वक्तव्यमा जापानी मानवरहित यान राति १२ बजेर २० मिनेटमा चन्द्रमामा अवतरण गरेको जनाएको छ । जाक्साले यानको अवतरणपछि सञ्चार स्थापित भएको पुष्टि गरेको छ ।

यद्यपि, अवतरणपछि चन्द्रमामा धेरै समय रहनका निम्ति तयार पारिएको सोलार ब्याट्रीको रिचार्ज हुन नसकेको उल्लेख छ । यानमा रहेको ब्याकअपको सहयोगमा चन्द्रमाका तस्बिर, चट्टान संकलन तथा अनुसन्धानका अरू गतिविधि भइरहेका जाक्साले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“स्लिमको सोलार सेलले बिजुली उत्पादन गर्न नसक्ने भएकाले यसले ब्याकअप ब्याट्रीमा काम गरिरहेको छ, जुन घण्टौँसम्म मात्र टिक्छ,” जाक्साका अधिकारीले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने ।

अवतरणपछि चन्द्रमाको सतहबाट तथ्यांक लिने काम जाक्साका निम्ति प्राथमिकतामा रहेको अधिकारीले बताएका छन् ।

स्लिमको अवतरणसँगै जापान अमेरिका, सोभियत संघ, चीन र भारतपछि चन्द्रमामा अवतरण गर्ने पाँचौँ मुलुक बनेको छ ।

चन्द्रमामा पहिलो मानव अवतरणको ५० वर्षभन्दा धेरै समयपछि धेरै मुलुक र निजी कम्पनीले यात्रालाई नयाँ बनाउने प्रयास गरिरहेका छन् । तर, र्क्यास ल्यान्डिङ, सञ्चारमा समस्या र अरू प्राविधिक समस्या व्याप्त छन् ।

यसै महिना अमेरिकी निजी कम्पनी एस्ट्रोबोटिकको पेरेग्रिन चन्द्र ल्यान्डरले उडान भरेपछि इन्धन चुहिएकाले उसको मिसन असफल भएको थियो । बिहीबार अन्तरिक्षयान फिर्ता हुने क्रममा पृथ्वीको वायुमण्डलमा जल्ने सम्भावनापछि दक्षिणी प्रशान्त महासागरमा उसको सम्पर्कविच्छेद भएको थियो ।

नासाले आफ्नो आर्टेमिस कार्यक्रमअन्तर्गत चालक दल भएको चन्द्र मिसनको योजना पनि स्थगित गरेको छ ।

यसअघि, एउटा सार्वजनिक र एउटा निजी गरी दुइटा जापानी यान चन्द्रमामा पठाउने दुईवटै प्रयास असफल भएका थिए ।

दुईवटा असफल चन्द्र अभियान र टेकअफपछि विस्फोटसहित हालैका रकेट असफलतापश्चात् अन्तरिक्षमा यो सफलताले उच्च प्रविधिको जापानी प्रतिष्ठालाई पुनःस्थापित गरेको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्