site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोनाको नयाँ भेरियन्ट : ‘सिकिस्त हुने र मृत्युदर कम छ, आत्तिनुपर्दैन’

काठमाडौं । भारतसहित एसियाली मुलुकहरूमा तीव्ररूपमा फैलिरहेको कोरोनाको नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा नेपालमा पहिलोपटक सात जनामा जेएन.१ संक्रमण देखिएको उल्लेख छ ।

नयाँ सब भेरियन्ट देखिएसँगै यसको जोखिमबारे जनस्तरमा चासो बढेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले भने जेएन.१ ले सिकिस्त बनाउने र मृत्यु गराउने दर कम भएकाले नआत्तिन आग्रह गरेको छ ।

ईडीसीडीका निर्देशक डा. रुद्र मरासिनी भन्छन्, “जेएन.१ नयाँ भाइरस होइन । अहिलेसम्मको अवस्था हेर्दा यसले सिकिस्त गराउने र मृत्यु गराउने दर कम देखिएको छ । त्यसैले आत्तिनुपर्ने देखिँदैन ।”

जेएन.१ बढी संक्रामक भएकाले संक्रमितको संख्या भने बढ्न सक्ने उनी बताउँछन् ।

जनस्वास्थ्यका मापदण्ड पालना गर्न यसअघिका लहरहरूमा जस्तै मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, कोरोना पोजिटिभ देखिहाले आइसोलेसनमा बस्नेजस्ता जनस्वास्थ्यका मापदण्ड पालना गर्न उनको आग्रह छ ।

एसियाली मुलुकहरूमा बढी तीव्र

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले हाल देखिएको जेएन.१ लाई यसअघि देखिएको ओमिक्रोनको उपप्रजाति बीए.२.८६ कै समूहको सब भेरियन्ट भएको जनाएको छ ।

डिसेम्बर पहिलो साता अमेरिकाले यसलाई जेएन.१ को रूपमा पुष्टि गरेको थियो । त्यसयता अमेरिकाका मध्यपश्चिमी सहरहरूमा यो सब भेरियन्ट देखिइरहेको छ । फ्रान्स, अमेरिका, क्यानडा, बेलायत, स्विडेन, सिंगापुर, चीन, बेल्जियम र भारतसहितका मुलुकमा यो सब भेरियन्ट पुष्टि भइसकेको छ ।

जनवरीयता एसियाली मुलुकहरूमा जेएन.१ तीव्ररूपमा फैलिरहेको अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले जनाएको छ । इन्डोनेसिया, मलेसिया, सिंगापुर, चीन, फिलिपिन्सलगायतका मुलुकमा जेएन.१ देखिएको छ । भारतमा सोमबारसम्म दिल्ली, महाराष्ट्र, गुजरातसहित एक दर्जन राज्यमा यो सब भेरियन्ट देखिरहेको छ ।

जेएन.१ कति घातक ? 

यो सब भेरियन्टलाई डब्लूएचओले ‘भेरियन्ट अफ इन्ट्रेस्ट’को वर्गमा राखेको छ । डब्लूएचओले चासो राखेको तर तत्काल जनस्वास्थ्यमा उच्च जोखिम ननिम्त्याउने प्रकृतिका भाइरस प्रजातिहरूलाई भेरियन्ट अप इन्ट्रेस्टमा राख्ने गरेको छ । जसमा विशेषता बदलेर उपप्रजाति बनेका र नयाँ रूपमा देखिएका एउटै समूहका सब भेरियन्टहरू पर्दै आएका छन् ।

डब्लूएचओका अनुसार अहिलेको अवस्थालाई हेर्दा जेएन.१ को जनस्वास्थ्यमा कम जोखिम देखिन्छ । भारतमा देखिएका संक्रमितहरूमा यसअघिका ओमिक्रोन र डेल्टाको संक्रमणमा देखिएजस्ता जटिल लक्षण नदेखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतमा हाल संक्रमण भएकाहरूमा ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, टाउको दुख्नेजस्ता लक्षण नै देखिएको भारतीय विज्ञहरूले बताएका छन् । यस्ता लक्षण ४ देखि ५ दिन देखिने र केही संक्रमितमा श्वासप्रश्वासमा समेत समस्या निम्त्याएको पाइएको छ ।

जेएन.१ को फैलिने दर २५ प्रतिशत रहे पनि सिकिस्त गराउने दर ०.१ प्रतिशत मात्रै रहेको सीडीसीले जनाएको छ । 

खोप पूरा नगरेकालाई जोखिम

सीडीसीका अुनसार अमेरिकामा जेएन.१ संक्रमण देखिनेमा अधिकांश खोप नलगाएका नागरिक छन् । रोग प्रतिरोधी क्षमताका हिसाबले पनि खोप नलगाएका व्यक्ति लगाएकाभन्दा कमजोर हुने पाइएको छ । हालसम्म प्रयोग गरिएका फाइजर र एस्ट्राजेनेका खोप जेएन.१ विरुद्ध प्रभावकारी हुने अध्ययनहरूले देखाएका छन् । 

तर, दुई मात्रा खोप पूरा नगरेकाहरूलाई संक्रमणको जोखिम बढी हुने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)का निर्देशक डा. रञ्जन राज भट्ट बताउँछन् ।

कोरोनाविरुद्धको पूर्ण खोप लगाएका र बुस्टर डोज लगाएकाहरूमा संक्रमण भइहाले पनि सिकिस्त हुने सम्भावना न्यून हुने उनको तर्क छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत जेएन.१ को संक्रमणबाट बच्न भिडभाडमा नजाने, मास्कको प्रयोग गर्ने, हातको सरसफाइमा ध्यान दिनेलगायतका सावधानी अपनाउन आग्रह गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ०७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro