site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक्सन सिनेमाको माहोल मेकरले नै बिगारे 

काठमाडौं । केही वर्षयता नेपाली चलचित्रमा एक्सन सिन निकै कम देखिन्छ । एक्सन जानराका सिनेमा नै कम बनिरहेका छन् । बनेका सिनेमामा पनि द्वन्द्व निकै कम देखिन्छ । 

किन ?

एक्सन सिनेमा बनाउन मेकरको अक्कल नपुगेको स्वयं कलाकार बताउँछन् । द्वन्द्वका निम्ति नयाँ कलाकार नरहेको, मेकरले स्वयंले एक्सन सिनेमा निर्माणको माहोल बिगारेको र हचुवाका भरमा कलाकार लिँदा राम्रो काम हुन नसकेको उनीहरू बताउँछन् ।

यसका पछाडि अनेक कारण रहेको एक्सन नायक विराज भट्ट बताउँछन् । अहिलेको पुस्ताका कलाकार एक्सनका निम्ति ‘सुइटेबल’ नै नरहेको उनको भनाइ छ । “अहिले एक्सन गर्ने लुक्सको कलाकार पनि नभएजस्तो लाग्छ । एक्सन सिन भन्नेबित्तिकै त्यहीअनुसारको बडी चाहिन्छ, जिम गर्नुपर्छ । जिम्यास्टिक गर्नुपर्छ,” विराज भन्छन्, “लुक्स पनि चाहिन्छ । एक्सन लुक्स भएको कलाकार पनि छैनन् ।”

एक्सन सिन गर्न लामो मिहिनेत आवश्यक पर्ने उनको अनुभव छ । “अहिले सिनेमा क्षेत्रमा आएर काम गर्दै सिक्दै जाने चलन देखिएको छ । त्यसरी हुँदैन,” विराज भन्छन्, “एक्सन सिन गर्नका लागि त झन् काम गर्दै सिक्दै गर्छु भनेर हुँदैन ।”

आफूहरू सिनेमामा आउनुअगाडि लामो समय एक्सन चलचित्रका लागि तयारी गरेको उनी स्मरण गर्छन् । त्यसले काम राम्रो भएको उनको जिकिर छ ।

अहिले दर्शकले एक्सनप्रधान नेपाली सिनेमा नै हेर्न नपाएको विराज बताउँछन् । अहिले नेपाली चलचित्र उद्योगमा एक्सन सिनेमाको विधा नै नरहेको उनी टिप्पणी गर्छन् । यो उद्योग पूर्ण हुन हरेक जानराका सिनेमा बन्नुपर्नेमा उनको जोड छ । “एक्सन, लभस्टोरी, मेलो ड्रामा, थ्रिलर, कमेडीलगायत सबै जानराका सिनेमा बनेपछि मात्रै वास्तवमा त्यो सिनेमा पूर्ण हुन्छ,” उनी स्पष्ट पार्छन् ।

अहिले एक्सन सिनेमाको माहोल नै नरहेको उनको बुझाइ । अहिले जस्ता कलाकार ‘सिन’मा छन्, त्यस्तै सिनेमा मात्र बनिरहेको उनको भनाइ छ । “दीपकराज गिरीको टिमको कमेडी जानरा छ, एक्सन सिनेमा गर्ने कुरै भएन,” विराज अगाडि थप्छन्, “दयाहाङ राई, विपीन कार्की आफ्नै खालका सिनेमा गर्नुहुन्छ ।”

अहिले बजारमा एक्सन सिनेमा चल्दैन भनेर भ्रम फैलाउने काम भएको उनको दाबी छ । ‘भयंकर एक्सन सिनेमा छ’ भनेर दयाहाङ, विपीनलाई प्रस्ताव गरे उनीहरूले स्वाभाविक रूपमा नखेल्ने विराज बताउँछन् ।

“कोही एक्सन सिन भएको भयंकर सिनेमा बनाउने कथा छ भनेर विपीन र दयाहाङसँग पुग्ने हो भने उहाँहरूले सम्भवतः खेल्नु हुन्न,” विराज भन्छन्, “तर, यहाँ एक्सन सिनेमा बनाउने माहोल नै छैन । एक्सन सिनेमा बनाउने हो भने राजेश हमाल, निखिल उप्रेती, विराज भट्टराई लिनुस् भन्नुपर्छ ।”

एक्सन सिनेमा चल्दैन भनेर लगानीकर्तालाई फर्काउने काम भइरहेको उनी बताउँछन् । एक्सन सिनेमालाई दर्शकले ‘इग्नोर’ नगरेको उनको धारणा छ । केही मेकरको वक्रदृष्टि परेको उनी बताउँछन् ।

बलिउड र दक्षिण भारतका एक्सन सिनेमाले नेपाली बजारबाटै करोडौँ  कलेक्सन गरेर लगिरहेको तथ्य भुल्न नहुने उनी स्मरण गराउँछन् । ‘सलार’, ‘जवान’जस्ता एक्सन मुभीले नेपाली बक्सअफिसबाट करोडौँ रुपैयाँ कलेक्सन गरेको विराज सुनाउँछन् ।

“सधैँ रोमान्टिक सिनेमा गर्ने शाहरुख खानको एक्सन सिनेमा जवानले हजार करोडभन्दा माथि कमायो । तर, उसकै एक्सनबिनाको ‘डंकी’ले कति कमायो जगजाहेर छ,” विराज भन्छन्, “प्रभासकै सलार एक्सन सिनेमा हो । यसले नेपालमा कति कमायो । बक्सअफिस रिपोर्टले नै एक्सन सिनेमा दर्शकको रोजाइमा रहेको स्पष्ट हुन्छ ।”

कलाकारअनुसारको पनि सिनेमा बनाइने भएकाले एक्सनका निम्ति तयारी गरेर आउन नयाँ पुस्तालाई विराजको सुझाव छ । नेपाली सिनेउद्योगमा एउटा विधाको कलाकार नै नरहेको उनी बताउँछन् । यसलाई उनी सिनेउद्योगकै दुर्भाग्य भएको टिप्पणी गर्छन् ।

कलाकारले मात्र सिनेमा बनाएर समग्र चलचित्रको एउटा विधा नै नधानिने उनको भनाइ छ । “हामी कलाकारले मात्रै लगानी गरेर हुँदैन । कोही एउटा कलाकारले एक्सन सिनेमा बनाएर एक्सन सिनेमा हेर्ने दर्शकको चाह पूरा हुँदैन,” उनी अगाडि थप्छन्, “लगानी रिकभर नभएपछि सधैँ एकैजनाले लगानी गरिरहन पनि सक्दैन । त्यसैले यो विधामा लगानी बढाउनुपर्छ ।” यसका निम्ति सिनेकर्मीले एक्सन सिनेमा चल्दैन भनेर ‘डिस्करेज’भन्दा पनि ‘इन्करेज गर्नुपर्नेमा उनको जोड छ ।

बजेट कर्म गर्न पनि पछिल्लो समय एक्सन सिनेमा नबनाइएको हुन सक्ने उनको बुझाइ छ । एक्सन सिन राखेपछि बजेट बढ्ने तर राम्रो सिनेमा बनाए लगानी उठ्दैन भन्ने नहुने विराज बताउँछन् ।

‘एक्सन किङ’को पहिचान बनाएका नायक शिव श्रेष्ठ दर्शकको रुचि घटेको नभएर एक्सन सिनेमा बनाउने मेकरमा कमजोरी रहेको बताउँछन् । दर्शक के र कस्तो सिनेमा हेर्न चाहन्छन् भन्ने बुझेर मात्र चलचित्र बनाउनुपर्ने उनको धारणा छ ।

“दर्शकले कस्तो सिनेमा रुचाउँछ, कस्तो सिनेमा हेर्न चाहेको छ भन्ने कुराको अध्ययन गरेर सिनेमा बानाउन सक्यो भने एक्सन सिनेमा अहिले पनि चल्छ,” शिव भन्छन्, “अहिले निर्माता तथा निर्देशकले जे लाग्यो त्यही नै राम्रो भन्ने प्रचलन छ, यही नै मुख्य कमजोरी हो ।”

बजारको अनुसन्धान नगरी सिनेमा बनाउने गलत प्रचलन हाबी भएको शिवको गुनासो छ । कुन सिनेमाको कथा कस्तो हो, त्यहीअनुसारको कलाकार छनोट गर्नुपर्नेमा उनको जोड छ ।

“कस्तो सिनेमा बन्न लागेको छ, कथाले के भन्छ र त्यो कथामा कुन कलाकार ठिक हुन्छ भनेर बल्ल अभिनेता तथा अभिनेत्री चयन गर्ने हो,” शिव सुनाउँछन्, “हाम्रो समयमा निर्देशकले यो कथामा यसले काम गर्न सक्छ कि सक्दैन भनेर बुझेर मात्रै कलाकार लिने चलन थियो । कथा जस्तोसुकै होस्, सुइटेबल होस् कि नहोस् यत्तिकै कलाकार लिने गरेको पाइन्छ ।”

डान्स गर्ने कलाकारलाई एक्सन सिनेमा गराएर नहुने शिवको टिप्पणी छ । डान्स गर्ने नायक चाहिए दिलीप रायमाझीलाई लिनुपर्नेमा उनको जोड छ । “मलाई डान्स गर्न आउँदैन, त्यसैले म्युजिकल सिनेमामा मलाई लियो भने स्वभाविक रूपमा कमजोरी हुन्छ,” शिव स्पष्ट पार्छन्, “स्टोरीमा मिल्ने कलाकार छनोट गर्नुपर्छ ।”

बलिउड वा हलिउडको बजार र त्यहाँका सिनेमासँग तुलना गर्न नहुने शिवको धारणा छ । आफ्नै कथा र धरातल सुहाउने सिनेमा निर्माण गर्नुपर्ने उनी बताउँछन् । “अहिले सयवटा सिनेमा रिलिज हुँदा एउटा/दुईवटा सिनेमा मात्रै हिट हुन्छन्,” शिव भन्छन्, “त्यसको कारण रिसर्च गरेर सिनेमा बन्दैनन् । एक्सन सिनेमा भनेपछि ब्रुसलीको फाइटलाई पनि बिर्साउने गर्न खोजेर हुँदैन । कथाअनुसारको एक्सन हुनुपर्छ ।”

‘जीवन रेखा’लगायत सिनेमा पनि एक्सन नै एक्सनको नभएको – लभ, रोमान्स, कमेडी, एक्सन सबैको कुशल संयोजन भएकैले चलेको शिवको बुझाइ छ । “मैले अहिलेसम्म पनि ‘जीवन रेखा’कै ब्याज खाइरहेको छु । त्यो बेला यो सिनेमा एक्सन सिनेमा भनेरै चलेको हो,” उनी अगाडि थप्छन्, “म, हामीले काम गर्दा नेपालको जनसंख्या कति थियो, सय दिन सिनेमा चल्थ्यो । तर, अहिले त्यस्तो छैन ।”

बजेटले मात्र एक्सन सिनेमाको गुणस्तर र बक्सअफिस निर्धारण नहुने उनी बताउँछन् । ‘जीवन रेखा’को समयमा पनि बलिउडमा एक्सन सिनेमा बन्ने गरेको भन्दै शिव भन्छन्, “तर, नेपाली एक्सन सिनेमा चल्थे । कुनै पनि सिनेमा उद्योगका सिनेमाको प्रतिस्पर्धा अरू सिनेमासँग हुँदैन । आफ्नै भाषा, कथा र भाष्य भएको सिनेमा राम्रो छ भने घरेलु बजारमा चल्छ ।” मेकरले आफ्नै कथालाई चिन्न र पक्रिन भने सक्नुपर्नेमा उनको जोड छ ।

सबै कलाकारलाई सम्पूर्ण जानराको सिनेमा नसुहाउने अभिनेता प्रदीप खड्का बताउँछन् । “सुरुमा म टिनेजर हुँदा त्यही पुस्ताको दर्शकको मन जितेँ होला । आज युथ हुँदा मैले त्यही पुस्ताको दर्शकको प्रतिनिधित्व गर्दै छु,” प्रदीप भन्छन्, “अबको १० वर्षपछि सायद म एक्सन सिनेमाका लागि तयार हुन पनि सक्छु । उमेर र लुक्सले पनि फरक पार्छ ।”

पछिल्लो समय एक्सन नायकका रूपका कलाकार नआएको सत्य भएको उनी स्वीकार गर्छन् । बजार, प्रोडक्सन भ्यालु र बजेटले गर्दा पछिल्लो समय एक्सन सिनेमा नबनेको उनको बुझाइ छ ।

“केही वर्षअगाडि एक करोडमा सिनेमा बन्थ्यो, अहिले तीन करोड लाग्न थाल्यो । अब केही समयपछि १० करोडमा सिनेमा बन्छन्,” प्रदीप अगाडि थप्छन्, “बजार बढ्दै जाँदा लगानी पनि बढ्छ र सबै प्रकारका सिनेमा पनि बन्नेछन् ।”

‘मिसन इम्पोसिबल’ र ‘धुम’ हेरेर आएका दर्शकलाई त्यत्तिकै राम्रो र विश्वसनीय सिनेमा दिने चुनौती रहेको प्रदीप बताउँछन् ।

“काम गर्न त मलाई पनि मन छ, तर हाम्रो बेन्चमार्क नै हाई छ । हलिउड र बलिउडका एक्सन सिनेमा हेरेर आएका हामीले कुन लेवलको एक्सन दिने भन्ने हो,” प्रदीप भन्छन्, “इमोसन, थ्रिल र सस्पेन्स त दिन सकिन्छ, गर्न  मन छ । तर, गरेपछि इम्प्याक्टफुल हुनुपर्छ ।”

दर्शकको अभाव नभए पनि बजेटको समस्या रहेको उनी सुनाउँछन् । एक्सन सिनेमा महँगो हुने भन्दै उनी त्यसका निम्ति लगानी अभाव रहेको बताउँछन् । “एक्सन सिनेमा भनेपछि दुईचारवटा गाडी पड्काउनुपर्छ । दुईचारवटा बिल्डिङबाट हाम फाल्न सक्नुपर्छ । हेलिकोप्टरबाट हाम फाल्नुपर्छ,” उनी भन्छन्, “एक्सन देखाउन सक्नुपर्छ । यति गर्ने कलाकार छैन भने बनाउनकै लागि बनाएर मात्रै काम छैन ।”

एक्सनका लागि हिरो नै तयार नभएको उनको भनाइ छ । राउन्ड किक हान्न नसक्ने एक्टर लिएर एक्सन सिनेमा बनाएर दर्शकको अपेक्षा पूरा नहुने प्रदीप बताउँछन् ।

“एक्सन सिनेमालाई टेक्नोलोजीले इनह्यान्स गर्ने हो । एक किक हान्दा उडेर गएर गाडीमा ठोक्किएर गाडी कुच्चिएको देखाउने त प्रविधिले इनह्यान्स गरेरै हो,” प्रदीप अगाडि थप्छन्, “तर, त्यति देखाउन त सक्नुपर्‍यो ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro