site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीले भने– संघीयता कार्यान्वयनमा गम्भीर छु 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनमा आफू गम्भीर रहेको बताएका छन् । सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँगको भेटमा प्रचण्डले संघीयताको परिकल्पनाकार नै आफू भएको भन्दै कार्यान्वनमा गम्भीर रहेको बताएका हुन् । 

शनिबार बिहान बालुवाटारमा मुख्यमन्त्रीहरुले संयुक्त रूपमा भेट गरी संविधानले व्यवस्था गरेका अधिकारहरू कार्यान्वयनका लागि संघीय  सरकारको ध्यानाकर्षण गराएका छन् । 

Argakhachi Cement Island Ad

भेटमा मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई सात बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै नेपालको संविधानमा व्यवस्था भएका साझा अधिकार सूचि प्रयोगको व्यवस्था मिलाउन, गत असारमा पोखरामा सम्पन्न मुख्यमन्त्री सम्मेलनको निष्कर्ष कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण सरकारको मात्र एकल दायित्व नभएर संघीय संसद् र राजनीतिक दलहरूको साझा दायित्व भएकोमा जोड दिए । उनीहरुले राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीले समन्वय गर्नुपर्ने बताए । 

संघीयता कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई मुख्यमन्त्रीहरूको ध्यानाकर्षण 

मुख्यमन्त्रीहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले संघीयताको परिकल्पनाकार र संविधान निर्माणको समेत अगुवा हुनुको नाताले संघीय कानुन निर्माणका निम्ति आफू गम्भीर रूपमा लागिरहेको बताए । 

“मैले नै संघीय गणतन्त्रको परिकल्पना गरेको थिएँ, त्यसका निम्ति संघर्ष गरेको थिएँ । त्यसलाई संविधानमा लिपिवद्ध गर्नसमेत मैले भूमिका खेलेको छु,” उनले भने, “त्यसैले संघीयता कार्यान्यवन मेरो सबैभन्दा ठूलो चासो र प्राथमिकताको विषय हो । खाली यो कसरी कार्यान्वयन गर्ने, सबै दलहरूलाई पनि सहमत गराएर कसरी अगाडि बढ्ने भन्ने विषयले मात्र समय लिएको हो ।’’

संघीय निजामती ऐन, शिक्षा ऐन, प्रहरी समायोजन ऐनलगायत संघीयता कार्यान्वयनसम्बन्धी ऐनहरू निर्माणका लागि द्रूत गतिमा आफूले काम गरिरहेको उनको भनाइ छ । “विधेयकहरू प्रस्तुत भइसकेका छन् । अब छलफलको माध्यमबाट त्यसलाई निष्कर्षमा लैजान बाँकी छ,” उनले भने, “शीर्ष राजनीतिक तहमा छलफल गरेर त्यसलाई टुंगो लगाउन थप पहल गर्नेछु ।’’

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १०:०४
प्रतिक्रिया दिनुहोस्