
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरूले चुनावमा पराजित भएकाहरूलाई राष्ट्रियसभा निर्वाचनमा उमेदवार बनाउन नहुने बताएका छन् । सानेपामा जारी बैठकमा बिहीबार नेताहरूले नयाँलाई अवसर दिनुपर्ने बताएका छन् ।
बैठकमा केन्द्रीय सदस्य देवेन्द्र कँडेलले विभिन्न तहमा चुनाव लडेर हारेकाहरूलाई उमेदवार बनाउन नहुने बताए । "अवसर नपाएकाहरूलाई अवसर दिऔँ । मापदण्ड बनाऔँ," उनको भनाइ उद्धृत गर्दै एक नेताले भने ।
अर्का नेता राजीव कोइरालाले पनि चुनावमा पराजित भएकाहरूलाई राष्ट्रियसभामा उमेदवार बनाउन नहुने बताए । अन्यथा आफूलाई पनि उमेदवार बनाउन उनको माग छ ।
"हारेकाहरूलाई राष्ट्रियसभामा उमेदवार बनाउने भए मैले पनि चुनाव हारेको हो । मलाई पनि उमेदवार बनाऊ । मापदण्ड बनाऊ, चुनाव हारेकालाई उमेदवार नबनाऊ," बैठकमा उनले भनेका थिए ।