site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
...अनि अध्यागमन अधिकृतले घुस लिएको दुई लाख आफैं च्यातिदिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले पछिल्लो समय अवैध तरिकाले ‘भिजिट भिसा’मा विदेश पठाउनेहरुलाई धमाधम पक्राउ गर्न थालेको छ ।  गएको असोज १९ देखि कार्यालयले प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द पन्थी नेतृत्वको अनुसन्धान टोली नै बनाएर अपरेसन थालेको हो ।

जसमध्ये हालसम्म पक्राउ पर्नेको संख्या ३२ पुगेको छ ।  बिचौलियामार्फत् नक्कली कागजातका आधारमा ‘भिजिट भिसा’मा विदेश जान खोज्ने एक हजार पाँच सय १३ जनालाई रोकेको छ । पक्राउ पर्नेमा म्यानपावर व्यवसायी, ट्राभलका सञ्चालक, प्रहरीदेखि विमानस्थलस्थित अध्यागमन विमागका कर्मचारीहरू र एयरलाइन्सका कर्मचारीसमेत छन् ।

भिजिट भिसामा ‘सेटिङ’ मिलाएर विदेश पठाएको आरोपमा अध्यागमनका कर्मचारी पक्राउ परेका थिए ।  अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति विमानस्थलस्थित अध्यागमनका अधिकृत नरबिर खड्कालाई पक्राउ गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीबाहेक नेपाल एयरलाइन्सका अधिकृत होम पोखरेल र अरबिन यादवलाई समेत पक्राउ गरेको छ ।  पक्राउ परेका उनीहरुलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।  उनीहरुले विभिन्न व्यक्तिको नक्कली कागजात रहेको जानकारी हुँदासमेत सेटिङमा पठाउने गरेको खुलेको हो ।

पक्राउ परेकालाई प्रहरीले कीर्ते तथा संगठित अपराधको मुद्दा चलाएको छ ।  यसअघि नक्कली कागजात भएकाहरुलाई विदेश पठाउन भूमिका खेलेको आरोपमा प्रहरीले विमानस्थलको सुरक्षाका लागि खटिएका प्रहरी जवान आशिष श्रेष्ठ र जीवनराज तामाङलाई पक्राउ गरेको थियो ।

Global Ime bank

१२ कात्तिकमा पक्राउ परेका उनीहरुमाथि कीर्ते मुद्दामा अनुसन्धान भएको थियो । हाल उनीहरुसहित ८ जना भने धरौटीमा छुटेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र राठौरका अनुसार, हाल ६ वटा कन्सल्टेन्सीका सञ्चालक, अध्यागमनका अधिकृत र नेपाल एयरलाइन्सका कर्मचारी गरी २४ जना थुनामा छन्, उनीहरुमाथि अनुसन्धान जारी छ ।

सेटिङको दुईलाख रुपयाँसहित पक्राउ परेका थिए अधिकृत खड्का

विमानस्थलस्थित हरेक मानिसको निगरानी गर्ने पहिलो निकाय हो, अध्यागमन विभाग ।  अध्यागमन विभागका कर्मचारीको स्वीकृतिबिना हवाई यात्रुले नेपाल भित्रिन र बाहिरिन सम्भव हुँदैन । यात्रुको डकुमेन्टको आधारमा भित्रिने र बाहिरिनेलाई अनुमति दिने त्यही निकायका अधिकृतलाई नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाउने धन्दामा लागेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका डीएसपी पन्थी नेतृत्वको टोलीले अधिकृत नरबिर खड्कालाई अध्यागमनकै पोशाकमा पक्राउ गरेको हो ।  कार्यालयका एसएसपी राठौरका अनुसार, उनी सेटिङ बराबरको दुईलाख रुपैयाँसहित सिनामंगलबाट पक्राउ परेका हुन् ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार, उनीसँगै बिचौलिया पदम लामासमेत पक्राउ परेका थिए । प्रहरीले लामाको खोजी गरिरहेकै अवस्था रकमसहित अधिकृत खड्कासमेत पक्राउ परेका हुन् ।

अनुसन्धानमा खटिएका एक अधिकारीले भने, “हामी लामो समयदेखि पदम लामालाई खोजी राखेका थियौँ । भिजिट भिसामा जानेहरुको नक्कली कागजात बनाउनेदेखि कर्मचारीको सेटिङको जिम्मा उनको देखिएको थियो । त्यही बेला अधिकृत खड्कालाई दुईलाख दिएको खुलेपछि उनी पनि पक्राउ परेका हुन् ।”

दुई लाखसहित भिजिट भिसामा जानेहरुको लिस्टसमेत बरामद गरेको छ ।  उनको साथमा भेटिएको लिस्ट र दुई लाख रुपैयाँ उनले नै च्यात्न खोज्दा बरामद गरिएको प्रहरी अधिकारीले बताए ।  लामाबाट रकम बुझेको करिब आधा घण्टाभित्रै पक्राउ गर्न सफल हुँदा प्रमाण नै फेला परेको प्रहरीको दाबी छ ।

प्रहरी अधिकारीका अनुसार, सेटिङमा भिजिट भिसामा पठाउने गिरोहमा अध्यागमनका अन्य कर्मचारीहरुकोसमेत संलग्नता देखिएको छ । ती अधिकारीले भने, “अध्यागमनका कर्मचारीको संलग्नताबिना यो सम्भव छैन । एक जना पक्राउ परेका छन् । अन्य केही कर्मचारीको भूमिका पनि शंकास्पद देखिएको छ । हामी थप प्रमाण खोज्दै छौ ।”

विमानस्थल अध्यागमनका कर्मचारीले ‘सेटिङ’ मिलाउने र रकम उठाउन छुट्टै टिम नै बनाएर परिचालन गर्ने गरेको प्रहरीको दाबी छ । 

हाल विमानस्थल अध्यागमन प्रमुखमा सहसचिव गगनबहादुर हमाल छन् । प्रहरीको अनुसन्धानले सेटिङ मिलाएर भिजिट भिसामा दैनिक दुई सय ५० जना जाने गरेको खुलाएको छ ।  उनीहरूबाट अध्यागमनका कर्मचारीले मात्रै ४० देखि ६० हजार रुपैयाँ असुल्ने गरेको दाबी प्रहरीको छ ।

त्यसबाहेक एयरलाइन्सका कर्मचारीलाई बिचौलियाहरूले रकम बुझाउने गरेको खुलेको हो ।  एयरलाइन्सका कर्मचारीले भिजिट भिसाको दुईतर्फी टिकटमध्ये ‘सेटिङ’मा एकतर्फी टिकटमै पठाउने गरेको खुलेको हो ।

त्यही आरोपमा नेपाल एयरलाइन्सका अधिकृत होम पोखरेल र अरविन यादव पक्राउ परेका हुन् ।  नेपाल एयरलाइन्सका कर्मचारीबाहेक अन्य ६ निजी एयरलाइन्सका कर्मचारीको समेत मिलोमतो देखिएको प्रहरीले जनाएको छ ।

भिजिट भिसामा जान दुईतर्फी टिकट, प्लस टुसम्मको शैक्षिक प्रमाणपत्र, होटल बुकिङको कागजात र बैंक खातामा २ लाख अनिवार्य हुनुपर्ने व्यवस्था छ ।  तर, यी कागजात नक्कली बनाएर सेटिङमा जाने गरेको खुलेको हो ।

यसरी जानेमा अधिकांश महिला छन् । उनीहरु भिजिट भिसामा जाने र खाडी मुलुकमा हाउस केयरमा रुपमा काम गर्ने गरेको खुलेको हो ।  खाडी मुलुकमा गएर हाउस केयरका रुपमा बस्न नेपालले अनुमति दिएको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement